नोबेल अस्पतालले थाल्यो प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा – Satabdi News

नोबेल अस्पतालले थाल्यो प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा

२९ भाद्र, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।

नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा. शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो ।

नोबेलका मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. शाहसहितको टिमले गत शनिबार सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरीरमा उनकी श्रीमती ३३ बर्षीया नन्द कुमारीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।

अहिले संघीय राजधानीमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो ।

देश नं. १ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको जानकारी दिदै सञ्चालक डा. सुनिल शर्माले अब, नियमित रुपमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने बताए ।

मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा. प्रेम ज्ञवाली, डा. दिपेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो ।

ल्याप्रोस्कोपिक बिधिबाट श्रीमतीको बायाँ मिर्गौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा. शाहले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए ।

स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोवेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुबै मिर्गौला पूर्ण रुपमा ‘फेल’ भएका विरामीहरुलाई मिर्गौला प्रत्यारोपण गर्ने गरिन्छ । नोबेलले यो सेवा सुरु गरेपछि पूर्वी नेपालका मिर्गौला बिग्रिएका विरामीहरुलाई सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नोबेल अस्पतालले थाल्यो प्रदेश नं. १ मै पहिलो पट..." A few seconds ago

सम्बन्धित खवर