इजिप्ट सरकारले 'इभर ग्रिन' कार्गो पानीजहाज कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग – Satabdi News

इजिप्ट सरकारले ‘इभर ग्रिन’ कार्गो पानीजहाज कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग

२९ वैशाख २०७८, बुधबार । इजिप्टको स्वेज नहरमा फसेको ‘एभर गिभेन’ नामको कार्गो पानीजहाज किनारामा निकालिए पनि समस्या समाधान भएको छैन । इजिप्ट सरकारले इभर ग्रिन कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग गरेको छ । स्वेज नहरमा एभर गिभेन धसिएका कारण दर्जनौँ कार्गो पानीजहाजको आवतजावत अवरुद्ध भएका थिए । यसबाट नहरमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो । धेरैजसो अन्तर्राष्ट्रिय मिडियाले यसलाई ‘समुद्रमा ट्राफिक जाम’ संज्ञा दिएका छन् । झन्डै नौ अर्ब डलरबराबरको सामान यही नहरको मार्ग हुँदै युरोपसम्म आवतजावत हुने गर्छ । यस नहरको जलमार्गबाट दैनिक कम्तीमा तीन सय ६७ वटा कार्गो पानीजहाज यात्रा गर्ने एजेन्सीहरूले जनाएका छन् । 

सम्झौता पूरा भएपछि जहाज स्वतन्त्र
मार्चको अन्तिम साता स्वेज नहरबाट किनारामा ल्याउँदा विश्वकै ठूला कम्पनीहरूले खुसी मनाएका थिए । कार्गो व्यापारको मुख्य जलमार्गको आवागमन खुला हुँदा आफूहरूको घाटा बिस्तारै भरपाई हुने ती कम्पनीले आशा गरेका छन् । तर, एभर गिभेनको समस्या अझै समाप्त भइसकेको छैन । जहाजका मालिकले अब ठूलै समस्या सामना गर्नुपर्ने देखिन्छ । इजिप्ट सरकारले सोमबार कार्गो जहाजलाई त्यतिकै नछाड्ने बताएको छ ।

जबसम्म कार्गो जहाजले पुर्‍याएको नोक्सानी तिर्दैन, त्यसवेलासम्म जहाजले छुटकारा नपाउने भनिएको छ । इजिप्टले नोक्सानी भरपाई गर्न एक अर्ब डलर माग राखेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

सम्झौता हुने विश्वास
अहिले एभर गिभेनलाई ग्रेट विटरमा राखिएको छ । स्वेज नहरमा एभर गिभेन फस्दा धेरै घाटा बेहोरेको सरकारले दाबी गरेको छ । स्वेज नहर रेखदेख गर्ने कमिटीका अध्यक्ष ओसामा राबीले कम्तीमा एभर गिभेन कम्पनीले इजिप्ट सरकारलाई एक अर्ब डलर तिर्नुपर्ने बताएका छन् । सबै प्रक्रिया पूरा नहुँदासम्म एभर गिभेन ग्रेट विटरबाट ननिकालिने उनले स्पष्ट पारेका छन् । ‘सबै प्रक्रिया पूरा भएपछि मात्र जहाज छुट्नेछ,’ ओसामाले भने, ‘हामी सम्झौता हुने विश्वासका साथ बसेका छौँ, हाम्रो माग पूरा भएपछि मात्र कम्पनीले जहाज लैजान पाउनेछ ।’

महिनादेखिको नोक्सानी निकाल्दै
इजिप्टले विश्वकै व्यस्त स्वेज नहरमा एभर गिभेन फस्दा यसलाई किनारामा पुर्‍याउन विभिन्न देशबाट प्राविधिक झिकाइएको थियो । इजिप्टले एभर गिभेनबाट घाटा त व्यहोर्‍यो नै, साथसाथै प्राविधिक झिकाउँदा त्यतिकै खर्च गर्‍यो पनि । स्वेज नरह व्यवस्थापन कमिटीले एक महिनादेखि सबै हिसाबकिताब लेखाजोखा गरेको छ । यसैका आधारमा एभर गिभेनलाई एक अर्ब डलर क्षतिपूर्ति गराउन लागेको ओसामाले बताएका छन् । ‘यो धनराशिमा ट्रान्जिट रकम, पानी निकाल्दा जलमार्गमा भएको नोक्सानी तथा कार्गो जहाजलाई किनारामा ल्याउँदा भएका खर्च समावेश गरिएको छ,’ उनले भने ।

यता, एभर गिभेनले भने अहिलेसम्म इजिप्टले यस्तो आर्थिक नोक्सानी र क्षतिपूर्ति सम्बन्धमा केही जानकारी नगराएको बताएको छ । जापानी कम्पनी सुई किसेनले भनेको छ, ‘अहिलेसम्म हामीलाई क्षतिपूर्ति गर्नुपर्ने सम्बन्धमा केही आधिकारिक पत्र आइसकेको छैन ।’ सुइ किसेन कम्पनीले इजिप्टका अधिकारीसँग वार्ता भइरहेको जनाएको छ ।

युरोप पुग्ने छोटो बाटो
स्वेज नहर त्यतिकै व्यस्त भएको होइन । एसियाबाट युरोपसम्म जान विभिन्न कार्गो कम्पनीका पानीजहाजले स्वेज नहरलाई नै पहिलो प्राथमिकतामा राखेका छन् । स्वेज नहरको बाटो हुँदा ताइवानबाट नेदरल्यान्ड्सम्मको दूरी १८ हजार ५२० किलोमिटर पर्छ । त्यही कार्गो पानीजहाजले अफ्रिका महादेश चक्कर लगाउँदा २५ हजार दुई किलोमिटर यात्रा गर्नुपर्छ । फेरि स्वेज नहरबाट युरोपसम्म जान २५ दिन र अन्य वैकल्पिक बाटो अपनाउँदा ३४ दिन समय लाग्छ ।

अफ्रिका महादेश चक्कर लगाउनुपर्ने बाध्यता
स्वेज नहरबाटै कच्चा तेलदेखि गाईवस्तुसमेतका सामानको ढुवानी हुन्छ । एभर गिभेन स्वेज नहरको एक किनारामा फसेको समयमा अन्य कार्गो जहाज वैकल्पिक मार्गका रूपमा सिंगो अफ्रिका महादेश एक चक्कर लगाउन बाध्य भएका थिए ।

घुमाउरो बाटो प्रयोग गर्दा दैनिक ५० हजार मिलियन डलर नोक्सानी भएको बिबिसीको भनाइ छ । स्वेज नहर अवरुद्ध हुँदा कम्पनीहरूले प्रतिघन्टा चार सय मिलियन डलर घाटा व्यहोरेका थिए । एभर गिभेनलाई सोझो बनाउन १० वटा टगबोट प्रयोग भएको थियो । पानीको सतहलाई पनि बढाएर अनुभवी इन्जिनियरहरूले काम गरेका थिए ।

स्वेज नहर–मार्गबाट विश्वको कुल व्यापारको झन्डै १० प्रतिशत आवतजावत हुने गरेको छ । यही मार्ग हुँदै विश्वको कुल तेलको ७ प्रतिशत ढुवानी हुने गरेको छ । लाखौँ ब्यारेल तेल र ग्यास यही मार्ग हुँदै पर्सियाली खाडी क्षेत्रबाट युरोप र उत्तर अमेरिका पुग्ने गरेको छ । १३ मिलियन ब्यारेल कच्चा तेल एभर गिभेनको कन्टेनरमा भरिएको छ । चीनमा निर्माण भएका सामान फर्निचर, लत्ताकपडा, सुपरमार्केटका सामान यही बाटोबाट युरोप जान्छन् । यो मार्ग प्रयोग नगरेको अवस्थामा कार्गो जहाजहरू अफ्रिका महादेशको घुमाउरो मार्ग हुँदै थप पाँच हजार किलोमिटर दूरी यात्रा गरी युरोप पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इजिप्ट सरकारले ‘इभर ग्रिन’ कार्गो प..." A few seconds ago

सम्बन्धित खवर