मध्यपहाडको यात्रा : चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म – Satabdi News

मध्यपहाडको यात्रा : चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म

धनकुटाको यात्रा

दिनभरिको थकानले होला, एकै निदमा बिहान छ्याङ्ग उज्यालो भएछ । होमकर्ण दाइलाई यहीँबाट बिदा गरेर हामी धनकुटाको हिलेतिर लाग्यौं । लेगुवा–हिले २६ किमिको यस खण्ड पनि असाध्यै अप्ठेरो रहेछ ।

झन्नै २ घण्टा बढी लगाएर हामी धनकुटाको कागते आइपुग्यौं । जिल्ला संयोजक श्रीराम रायमाझी, नयाँ शक्तिकोतर्फबाट विजयी धनकुटा नपा– ३ का वडाध्यक्ष विकास घिमिरेलगायतका साथीहरूसँग भेट भयो । विकासजीले कागतेमा एउटा कार्यक्रम जसरी पनि थप्न दवाव नै दिनुभयो ।

हामीलाई पनि मनासिव लाग्यो । सल्लाह गरेर पछि निर्णय दिन्छौं भन्यौं ।
दुईमहिना अघि मात्र पार्टी कामको सिलसिलामा एकरात यहीँ आएर बसेको थिएँ । त्यसबेला नै कागतेलाई ग्रीन कागते बनाउने वडाध्यक्ष विकास घिमिरेको योजना विस्तृतमा सुन्न पाएको थिएँ ।

थुप्रै मतदातासँग विकासजीको बारेमा थप बुझ्ने मौका पनि मिलेको थियो । मेरो निष्कर्ष थियो– युवावयका विकास मतदाताहरूको मनमा विकासको पर्यायवाचीको रूपमा बस्न सफल बन्दैछन् । वडामा खासखुस हल्ला चल्दै थियो– अब धनकुटा नगरको मेयर हो यो केटो ।

धनकुटाको टोली लिएर हामी हिले हुँदै तेह्रथुमको असाध्यै सुन्दर नगरपालिका वसन्तपुरतिर लाग्यौं । हिलेको बीच चोकमा तोङ्वाको स्तम्भछ । पहिला खास याद नगेरेको स्तम्भको बारेमा सोध्न यसपालिभने निकै खसखस लाग्यो । नागवेली सुन्दर सडकमा सर्पझैं चिप्लदैँ रोमाञ्चित मन लिएर हामी सिधुवा पुग्यौं ।

सडकको बीचमा दुरूस्तै फूलगोभीको स्तम्भले सबै यात्रुलाई स्वागत गरिरहेको थियो । फोटो खिचाउने रहर ग¥यौं हामीले । पोजपोजका फोटाहरू लियौं । धनकुटाको चर्चित तरकारी क्षेत्रको रूपमा परिचित यस क्षेत्रमा बन्दा, काउली, आलु, गोलभेडा, लसुनलगायतका तरकारीहरू वार्षिक करोडौंको उत्पादन हुन्छ ।

कहिले कहिले त बजार नपाएर तरकारी सडेर गएको समाचार पनि सुन्नपर्छ । तर यसपालि हामीलाई किसानसँग छलफल गर्ने समय थिएन । तसर्थ, बजारमा फोटोमात्र खिचेर हामी अघि बढ्यौं ।

विगतको सम्झना

सिधुवाहुँदै गाडी अघि बढ्दै थियो । मेरो मनभने ०६१ सालका ती दिनहरू सम्झिएर एकतमासले एकोहोरियो । तत्कालीन माओवादी पार्टीभित्र प्रचण्ड र बाबुरामको बीचमा भयानक वैचारिक अन्तरसङ्घर्ष चलिरहेको थियो । यस अन्तरसङ्घर्षमा म बाबुरामले अघि सार्नुभएको लाइनतिर उभिएको थिएँ ।

अन्तरसङ्घर्ष यति शत्रुतापूर्ण हुँदै गयो कि ज्यानकै खतरा बढ्दै गयो । त्यसवेला म पार्टी केन्द्रीय सदस्य साथै सङ्खुवासभा र तेह्रथुमको इञ्चार्ज थिएँ । कमान्ड इञ्चार्ज बादलको निर्देशनमा राज्य इञ्चार्ज गोपाल किरातीले मलाई सबै जिम्माबाट मुक्त गर्दै कारबाहीको घोषणा गरे । साथीहरू बीचमा रुवाबासीनै चल्यो ।

मैले रुसी कम्युनिस्ट पार्टी र स्तालिनलाई सम्झिएँ त्यसबेला । पार्टीभित्रको अन्तरसङ्घर्षको कारण स्तालिनले १३८ जनाको केन्द्रीय समिति सदस्यमध्ये ९७ जनाको हत्या गराएकाथिए ।

साँच्चै एकदिन जनमुक्ति सेनाका साथीहरू मलाई खोज्दै म बसेको घरमा आइपुगेको थाहा पाएँ । उता रोल्पामा बाबुरामलाई बन्धक बनाइसकेका थिए । सङ्केत राम्रो थिएन । तत्कालै पहल नलिने हो भने मारिन पनि सक्छुजस्तो लाग्यो ।

दिल्लीमा रहेका प्रचण्ड–बाबुरामलाई सङ्खुवासभाको ओखरबोटेमा रहेको एकमात्र लेनफोनबाट सबै घटना बताएँ । त्यसपछि भोलिपल्टनै म पनि दिल्ली हिँडे । जताततै सरकारी सेना, प्रहरी र सुराकीको सञ्जाल, गस्ती, एम्बुस त्यसमाथि आफ्नै पार्टीका कमरेडहरूको खतरा । जोगिएर हिँड्न सारै गारो थियो । नहिँडी पनि भएको थिएन ।

जोखिम मोलेर म सङ्खुवासभाको ओखरबोटेबाट धनकुटातिर अघि बढेँ । अरू ठाउँ त सजिलै हिँडियो । तर धनकुटाको यही सिधुवा क्रस गर्न मलाई सारै अप्ठ्यारो भयो । बजारभरि सेना, प्रहरीको बाक्लो उपस्थिति र गस्ती । बाटो हिँड्ने प्रत्येक बटुवामाथि कडा निगरानी ।

मलाई लिएर अघिअघि हिँडेका साथी ३ चोटि बजार पुग्दै फर्कदैँ गरिसकेका थिए । दिउँसो उज्यालोमा क्रस गर्न सम्भव भएन । त्यसैले झमक्क साँझ परेपछि बजार कट्ने योजना बनायौं । योजनाअनुसार झमक्क साँझ परेपछि बजार कटियो ।

भूगोल त्यही थियो, बाटो, घर, जङ्गल सबै उस्तै थियो । मेरो हेर्ने आँखा यिनै थिए । तर ०६१ साल र ०७५ सालबीच आकासपातालको फरक अनुभव भइरहेको थियो । कम्युनिस्टहरू, कम्युनिस्ट पार्टी वा कम्युनिस्ट आन्दोलन किन धराशायी बन्यो ? मेरो मन अहिले पनि आफैँले भोगेका यस्ता घटनाहरू सम्झेर एकतमासले एकोहोरिन्छ । एकोहोरिँदा एकोहोरिँदै गाडी वसन्तपुर बजार नजिक पुगिसकेको रहेछ ।

सुन्दर वसन्तपुर बजारको बीचमा त्यस क्षेत्रको पहिचान लालीगुँरासको स्तम्भमा ढकमक्क लालीगुँरास फुलिरहेको थियो । हिलेदेखि मनमा गुम्स्याएर राखेको जिज्ञासा छुट्नुभन्दा अघि साथीहरूलाई सोध्यौं– “बजारैपिच्छे किन यस्ता स्तम्भहरू राखेको हो ?” साथीहरूको जवाफ थियो– “यी स्तम्भहरूले आ–आफ्नो ठाउँको पहिचान बोकेर उभिएको छ । राजा माहाराजाहरूको सालिक राख्नुभन्दा यस्ता स्तम्भहरू राख्नु राम्रो होइन र ?” गज्जबको जवाफ मिल्यो साथीहरूबाट ।

विकासजीले धनकुटा बजारमा एभोकाडो र लसुनेमा लसुनको म्याङ्लुङ्मा बिरालोको स्तम्भ भएको जानकारी पनि गराउनु भयो । साथै, कागतेमा कागतीको स्तम्भ तयार हुँदै गरेको थप जानकारी पनि गराउनु भयो । उहाँलाई सफलताको शुभकामना दियौं ।

यो अग्रगामी चेतनाको द्योतक र नयाँ संस्कृतिको सुरुवात हो भन्ने लाग्यो । यो सन्देश अरूतिर पनि पु¥याउने विश्वास दिलाउँदै हामी तेह्रथुमको म्याङ्लुङतिर हान्नियौं ।

लसुने बजारको बीचमा असाध्यै आकर्षक लसुनको स्तम्भ ठिङ्ग उभिरहेको थियो । स्तम्भसँगै फोटो खिच्यौं । पसलपसलमा लसुन बेच्न राखेको देखिन्थ्यो । तर हामीले किनेनौं । एककप चिया पनि नखाई हामी म्याङ्लुङतिर सोझियौं । नजिकै थियो म्याङ्लुङ । तर हामीलाई बास बस्न सङ्क्रान्ती बजार पुग्नुथियो ।

म्याङ्लुङे नयाँ शक्ति बा

म्याङ्लुङमा जिल्ला संयोजक भगवान दहाल र म्याङ्लुङ बजारभरि नयाँ शक्ति बाको उपनामले चिनिने अमर कन्दङ्वाले पर्खिरहनु भएको रहेछ । बजार प्रवेश गर्नै लाग्दा बीच बाटोमा एउटा सानो मन्दिर रहेछ । मन्दिरभित्र किंवदन्ती अनुसार बिरालोले कोपरेको एउटा ढुङ्गा छ ।

त्यही बिरालोले कोपरेको ढुङ्गा (लिम्बू भाषामा म्याङ्को अर्थ बिरालो र लुङ्को अर्थ कोपरेको, चिथोरेको) को नामबाट म्याङ्लुङ नाम रहन गएको रहेछ । बजार प्रवेश गर्नेबित्तिकै दुरुस्तै बिरालोको तर बाघको जत्रै स्तम्भ रहेछ । एकबर्ष अघिसम्म यो स्तम्भ थिएन । स्तम्भनजिकै एउटा पसलमा चिया पियौं ।

घाम वसन्तपुर डाँडापरि लुक्ने तयारी गर्दै थियो । हामी झन्नै ६० किमि पूर्वको सङ्क्रान्ती डाँडा पुग्नु थियो । त्यसैले उहाँसँग छोटो मात्रै कुरा ग¥यौं । युद्धकालमा ४ वर्ष यस जिल्लामा बसे पनि राति, त्यसमाथि नयाँ खनिएको बाटो भेउ पाउने कुरै भएन । भगवानजीले हामीसँग जान असमर्थ रहेको जानकारी गराउनु भयो । ७५ वर्षका नयाँ शक्ति बाउर्फ अमर कन्दङ्वा हामीसँग जान कस्सिनु भयो । बाको जिकिर थियो–“मेरो घरै चुहानडाँडा हो ।

म लिएर जान्छु तपाईंहरूलाई ।” न हुन्छ भन्नु न हुन्न भन्नु ? के भन्नु भन्नु ? बाको जोश र फुर्ती देखेर हाम्रो थकाइ कता भाग्यो कता ? ताजा भयौं हामी पनि ।

साँझ पर्न लागेको थियो । बालाई सँगै लिएर हामी हिँड्यौं । ज्येष्ठ नागरिकहरू जिउँदा इतिहास हुन् । उनीहरूका अनुभव, ज्ञान, सीप नयाँ पुस्ताको लागि ठूलो सम्पत्ति हुन्छ । तर हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र उनीहरूबाट सिक्ने संस्कार छैन भन्दा पनि हुन्छ ।

केपी उर्फ मुतेकान्छा

बासँग बाटाभरि कुरा गर्दै गयौं । बा साँच्चै तेह्रथुम जिल्लाको कम्युनिस्ट आन्दोलनको जिउँदा साक्षी रहेछन् । प्रधानमन्त्री केपी ओलीको बारेमा सबै जानेका । ओली बालसखा नै रहेछन् बुढाको । बुढाले ओलीलाई अहिले पनि मुतेकान्छा भनेर सम्झँदा रहेछन् । “प्रधानमन्त्रीलाई मुतेकान्छा किन भनेको ?” जिज्ञासामा बाको ठट्यौली शैलीमा जवाफ थियो–“त्यो (ओली) लाठे हुँदासम्म पनि ओछ्यान मुत्थ्यो नि त ! त्यसैले उसलाई बालखामा चिन्नेजान्नेहरूले अहिले पनि मुतेकान्छा भन्छ के ।” बाको कुरा सुनेर कति हाँस्नु ? आन्द्रै चुडिएला जस्तो ।

“अब यो मुतेकान्छा र प्रचण्डले गरिखाँदैन । यिनीहरू कम्युनिस्ट होइन, पुँजिवादी भैसके । यिनीहरू सब भ्रष्ट भए । उहिले ओलीको पार्टीमा बसेर पनि काम गरियो । माओवादी हुन सब डराएको बेलामा प्रचण्डको पार्टीमा माओवादी भएर पनि काम गरियो । सरकारमा गएपछि यिनीहरू सब बिग्रियो । बाबुरामले बेलैमा पार्टी छाडेर नयाँ पार्टी बानाएर सारै राम्रो काम ग¥यो । अब जे गर्छ यो देशमा बाबुरामले गर्छ । अरूले गर्दैन । लेखिराख्नु, म ठोकेर भन्छु अरूले केही गर्दैन ।”

बाले गाडीभरी भाषण सुनाउनुभयो । अर्थात् ७५ बर्षको आफ्नो अनुभव सुनाएर हामीलाई धेरै गुण लाउनुभयो । “चुनावमा प्रचण्डले चिन्ह नदिएर त हो नि नयाँ शक्ति हारेको ।

कत्रो डर रछ गाँठे प्रचण्डलाई बाबुरामको । चुनाव चिन्है पो दिएन त !” बाले नयाँ शक्ति चुनावमा हार्नुको आफ्नो बुझाई पनि सुनाए । “चुनाव चिन्ह नदिने खबर सुनेपछि म त बेसुराजस्तो भएछु । रात र दिन पनि उस्तै लाग्ने, आफ्नो र पराई पनि नचिन्ने । अहिले सम्झदा पनि कम्ता रिस उठ्दैन ? त्यस्लाई…. ।” बाले कटटट दाह्रा किटे ।

गफको सुरमा बाले पनि बाटोको भेउ पाउनुभएन । बाटो भुलिनसम्म भुलियो । म्याङ्लुङबाट हलिमेलासम्म ठिकै थियो बाटो । रात पनि परिसकेको थिएन । जसोतसो पोक्लावाङसम्म आइयो । त्यसपछि इसिवुबाट कोयाखोला झर्नु सारै गाह्रो भयो । झन्नै राति १०ः३० बजे बल्लतल्ल सङ्क्रान्ती बजार पुग्यौं । बजार हामीले सोचेभन्दा निक्कै चिसो रहेछ । केही बर्ष अघि आगो लागेर मध्यबजार खरानी भएपछि नयाँ ढङ्गले पुनर्निर्माण भएको रहेछ ।

विगतमा सँगै काम गरेको हाल नेकपामा कार्यरत तत्कालीन माओवादी कमरेड विश्वाससँग त्यति राति पनि भेट भयो । २१ जनाको सामूहिक हत्या भएको बगालेका सहिद हरूलाई भावबिह्वल भएर सम्झना ग¥यौं ।

आफ्नो पार्टीको नेताहरूको ताल देख्दा सहिद हरूको रगत सित्तैमा खेर जान्छ कि भनेर साथीले चिन्ता ब्यक्त गरे ।

राति अबेरसम्म राजनीतिक र भावनात्मक कुरा गरेर बितायौं ।

(लेखक : गंगा श्रेष्ठको मध्यपहाड यात्रा पुस्तक फागुन १५ गते युनियन हाउस अनामनगरमा विमोचन हुँदैछ ।)

पुस्तकको नाम : मध्यपहाड यात्रा

विमोचन मिति : २०७६ फाल्गुण १५, युनियन हाउस, अनामनगर । समय : १२ः३० बजे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मध्यपहाडको यात्रा : चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म" A few seconds ago

सम्बन्धित खवर