बान्तावा खिमले बुझायो तथ्यांक विभागलाई ७ सुत्रीय ज्ञापनपत्र – Satabdi News

बान्तावा खिमले बुझायो तथ्यांक विभागलाई ७ सुत्रीय ज्ञापनपत्र

–अर्जुन राई अपहेलित

 

काठमाडौं । किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले तथ्यांक विभागलाई ७ वटा माग सहित ज्ञापननपत्र बुझाएको छ ।

आइतबार सुनसरी क्षेत्र नम्बर १ बाट प्रतितनिधि सभा सदस्य निर्वाचित सांसद जय बान्तावा राई सहित तथ्यांक विभागको कार्यलय पुगेको बान्तावा खिमको टोलीले जनगणना सम्बन्धि ७ वटा माग प्रस्तुत गरेको हो ।

उक्त ज्ञापनपत्र माननीय जय बान्तावा राई, खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती, बान्तावा खिम उपतयका कार्यसमितिका अध्यक्ष खम्ब राई, सचिव मुकेश राई, बुङ्वाखा पत्रीकाका सम्पादक पदम वालाहाङ राई र किरात राई यायोख्खा केन्द्रीय सदस्य किवाङहाङ राईले संयुक्त रुपमा विभागका निर्देशक ढुण्डीराज लामिछानेलाई बुझाएका हुन् ।

विगतका जनगणनामा पेन्सिल प्रयोग गरिएको केही प्रमाणहरु फेला परेको उल्लेख गर्दै बान्तावा खिमले त्यस्तो गलत कार्य यसपटक पनि पाइएमा तत्काल कारबाही गर्न माग गरेको छ ।

राई जाति भएतापनि भाषा विज्ञानको हिसाबले ‘राई भाषा’ भन्ने नभएकाले आगामी जनगणनामा सो महल पूर्ण रुपमा खारेज गर्न माग गरिएको छ । विभागको फारममा ‘पुर्खाको भाषा’ र ‘दोस्रो भाषा’ राखेर मातृभाषी समुदायलाई अल्मल्याउन खोजिएको समेत ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्र

श्री महानिर्देशकज्यू
केन्द्रीय तथ्याङ्क विभाग
थापाथली, काठमाडौँ
विषयः ज्ञापन पत्र ।

२६ भाषी किरात राईहरूमध्येको झण्डै आधा हिस्सा बान्तावा राईहरूको भाषा ‘बान्तावा’ले ओगटेको छ । प्रदेश १ मा किरात राईहरूको बाहुल्य उपस्थिति रहेको छ । सो प्रदेशको अधिकांश जिल्लाहरूमा प्रायः अरु राई भाषी र गैर किरात राईहरूले पनि बान्तावा भाषा बुझ्ने र बोल्ने गर्दछन् । त्यहाँका अधिकांश जिल्ला र क्षेत्रहरूमा बान्तावा वक्ताहरूको सङ्ख्या ५ लाखजति रहेको हाम्रो अनुमान रहेको छ ।

किरात राई बान्तावा भाषिक समुदायलाई राज्यबाट उत्पीडनमा पारिएको छ । यसको उदाहरणको रूपमा केन्द्रीय तथ्याङ्क विभागको जनगणना नै प्रमाणको रूपमा काफी छ । वि.सं. २०५८ सालको जनगणनाको तथ्याङ्कअनुसार ३ लाख ७१ हजार ५७ जना बान्तावाभाषीहरू रहेको देखाइएको थियो । तर वि.सं. २०६८ सालको जनगणनामा भने बान्तावाभाषीहरूको सङ्ख्या १ लाख ३२ हजार ५ सय ८३ मात्र देखाइएको छ । सामान्यतया जनगणनामा आम मानिसको सङ्ख्या र गणनाको सूचकांकहरू बढ्नुपर्नेमा बान्तावा भाषाको वक्ताहरू असमान्यरूपमा घटेको देखाइएको छ । २०६८ सालकै गणनामा कथित ‘राई भाषा’को नाममा १ लाख ५९ हजार १ सय १४ जना वक्ताहरू देखाइएको छ । बान्तावाभाषीहरूको बाक्लो वस्तीतिर ‘कुन भाषा बोल्नुहुन्छ ?’ भनी सोध्यौ भने उसले ‘राई भाषा’ भनी जवाफ दिने गर्दछ । बान्तावा गाउँतिर सो बान्तावा भाषालाई नै ‘राई भाषा’ (किरावा यङ) भन्ने गरिन्छ । त्यो राई भाषा भनिएको सङ्ख्यामध्ये करिब ९८% बान्तावा भाषीहरू नै हुन् । ‘राई भाषा’ बोल्छु भनेपछि गणकले ‘कुन राई भाषा ?’ भनी थप प्रश्न गर्नुपर्नेमा सो नगरेकोले यस्तो गलत तथ्याङ्क आएको हाम्रो संस्थाको ठहर रहेको छ । त्यसैले यो तथ्याङ्कप्रति हाम्रो पूर्ण असहमति रहेको र यसलाई ‘मिथ्याङ्क’को रूपमा चित्रण गर्नुपर्ने हामी बाध्य भएका हौं ।

भाषा आयोगले गत भदौ २१ गते प्रदेशस्तरीय सरकारी कामकाजको भाषाहरू सिफारिस गरेकोमा प्रदेश १ मा बान्तावा भाषा पर्न सकेन । यसको मूल कारण नै यस विभागको २०६८ सालमा १ लाख ३२ हजारको गलत तथ्याङ्कलाई टेकेर सिफारिस गर्नु हो । आयोगको गलत तथ्याङ्कले यसरी बान्तावा भाषी समुदायलाई दुरगामी असर गरेको छ । आगामी जनगणनामा यस्ता गलत तथ्याङ्क नआवोस् र नदोहोरियोस् भनी हाम्रो संस्थाको तर्फबाट निम्नलिखित मागहरू पेश गरेका छौं ।

मागहरूः
१) २०७८ सालको जनगणनामा बान्तावाभाषी समुदाय भएको क्षेत्रमा यै भाषाको गणकलाई खटाउने व्यवस्था गर्नुहुन अनुरोध छ । साथै, गैर बान्तावा गणकहरूले धर्म, भाषा जस्ता सम्वेदनशील कुराहरू पेन्सिलले टिपिएको विगतमा केही प्रमाणहरू भेट्टिएकोले सो गलत कार्य यो पटक पनि पाइएमा तुरुन्तै कारबाही गर्नको लागि माग गर्दछौं ।

२) विभागको फाराममा ‘पुर्खाको भाषा’ र ‘दोस्रो भाषा’ राखेर मातृभाषी समुदायलाई अलमल्याउन खोजिएको हाम्रो ठहर रहेको छ । हाम्रो मातृसंस्था किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले यसअघि नै यस विभागलाई योसम्बन्धी जानकारी गराइसकेकोले त्यसैमा हाम्रो संस्थाको समर्थन रहेको र योबारे पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।

३) राई जाति भएता पनि भाषाविज्ञानको हिसाबले ‘राई भाषा’ भन्ने नभएकोले आगामी जनगणनाको नतिजामा सो महल पूर्णरूपमा खारेज गरियोस् ।

४) हामी किरात राई यायोक्खा संस्थाअन्तर्गतका बान्तावा राईहरूको सन्दर्भमा ‘जाति’मा ‘राई’, ‘मातृभाषा’मा ‘बान्तावा’ लेख्ने गर्दछौं । इतिहास, भूगोल आदि हरेक ऐतिहासिक दृष्टिकोणले सही मानिने यै तथ्य भएकोले आगामी जनगणनामा त्यहीँअनुसारको नतिजाको अपेक्षा गर्दछौं । तर, कुनै अन्य समूहले जातिकै रूपमा बान्तावालाई दावी गरिरहेको, परिणामस्वरुप २०६८ सालको जनगणनाको नतिजामा ४ हजार १ सय ७ जनालाई जातिमा बान्तावा लेखाइएको कुरा प्रति हाम्रो संस्थाको असहमति रहेको छ ।

५) विगतमा जनगणनाहरूका फाराम र सचेतनात्मक सन्देशहरू मातृभाषामा पनि उल्था गर्ने प्रचलन रहेकोमा यस वर्ष सो नगरिएको, अन्य भाषाहरूको जनगणनासम्बन्धी भिडियो सन्देशमार्फत प्रचार गरिरहिएको तर बान्तावालाई समावेश नगरिएकोमा हामीलाई दुःख लागेको छ । त्यसैले बान्तावा भाषामा पनि प्रचारप्रसार गर्नको विभागले तुरुन्त सहजीकरण र समन्वय गर्नको लागि जोडदार माग गर्दछौं ।

६) विगतका जनगणनाहरूको रिपोर्टमा ‘बान्तवा’, ‘वान्तावा’, ‘वान्तवा’ भनी आफूखुसी गलत नामले बान्तावा शब्दलाई लेखेको पाइएको छ । हाम्रो संस्थाको निर्णयअनुसार हामी ‘बान्तावा’ (Bantawa) भनी लेख्ने गरेकाले अबको जनगणनाको नतिजामा ‘बान्तावा’ लेख्नको लागि अनुरोध गर्दछौं ।

७) जनगणना हाम्रो लागि ठूलो सरोकारको विषय भएकोले यसको संकलनमा स्थलगतरूपमा आइपर्ने समस्या र रिपोर्ट प्रकाशनपूर्व हामी सरोकारवालासँग अनिवार्य रूपमा छलफल गराएरमात्र अन्तिम नतिजा प्रकाशन गर्न अनुरोध गर्दछौं । यसको लागि हाम्रो संस्थाको तर्फबाट के, कस्ता रचनात्मक, सकरात्मक सहयोगहरू गर्नुपरे समन्वयको लागि हामी सधै तयार नै रहेका छौं । नत्र तथ्याङ्क विभागजस्तो राज्यको महत्वपूर्ण निकायले हामी सरोकारवालाहरूसँग कुनै पनि छलफल नगरी हचुवाको भरमा निर्णय गरेमा त्यसमा हाम्रो असहमति रहने साथै विगतझैं त्रुटिपूर्ण नतिजा नहोस् भन्नको खातिर यो ज्ञापन पत्र बुझाएका छौं ।

ज्ञान किराती
अध्यक्ष– किरात राई बान्तावा खिम
केन्द्रीय कार्यसमिति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बान्तावा खिमले बुझायो तथ्यांक विभागलाई ७ सुत्री..." A few seconds ago

सम्बन्धित खवर