नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने – Satabdi News

नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

१० वैशाख २०७८, शुक्रबार। नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५ लाख रुपैयाँ पाउने ।

यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले १-१ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताए ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीलाई पनि पुरस्कृत गर्ने उनले बताए । तर त्यसको रकम भने खुलाइएको छैन ।

यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार रुपैयाँ प्राप्त गर्ने कार्कीले बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

क्लोज डरोमा हुनेछ खेल

नेपाल सुपर लिगका सम्पूर्ण खेलहरु क्लोज डोर अर्थात दर्शकविहीन रंगशालमा खेलाइनेछ । सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख ६ गते रंगशालामा दर्शकसहितको खेलकुद सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

‘सरकारले जारी गरेको मापदण्डअनुसार हामी क्लोज डोरमा खेल गर्दैछौँ । जिरो अक्कुपेन्सी हुनेछ’ एनएसएलका सीईओ सुदीप शर्माले भने ।

टिकट नहुँदा आर्थिक घाटा

क्लोजर डोरमा खेल आयोजना हुने भएपछि दर्शकले रंगशालमा उपस्थित भएर खेल हेर्न पाउने छैनन् । जसले गर्दा आयोजकलाई टिकटबाट हुने आम्दानी घाटा लागेको एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताए ।

प्रतियोगिता अवधिमा कुनै टिमका खेलाडीलाई कोरोना पोजेटिभ देखिए खेलाडी परिवर्तनको व्यवस्था गरिएको कार्कीले बताए । ‘कोभिड-१९ भएमा रिप्लेसमेन्ट पोलिसी बनाएका छौं । अक्सनमा बिक्री नभएका बी र सी क्याटगोरीका खेलाडीहरुबाट रिप्लेसमेन्ट गर्न पाइनेछ ।’

रंगशालाबाट खेल हेर्ने व्यवस्था नभए पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्न सकिने कार्कीले बताए ।

सबै टिमलाई तयारीकै समस्या

पहिलो सिजनको उद्घाटन खेलमा शनिबार उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । राष्ट्रिय टिमका गोलकिपर विकेश कुथु काठमाडौंको कप्तान छन् भने ललितपुरको कप्तानमा राष्ट्रिय टिमका सदस्य अन्जन विष्ट छन् ।

सातवटै फ्रेन्चाइज क्लबका प्रशिक्षक र कप्तानले तयारीको लागि कम समय भएको बताएका छन् ।

एनएसएस खेल्ने टिम कप्तान र प्रशिक्षक

विराटनगर सिटी एफसी

कप्तान : रन्जित धिमाल

प्रशिक्षक : यान ल

काठमाडौं रेजर्स

कप्तान : विकेश कुथु

प्रशिक्षक : बालगोपाल महर्जन

ललितपुर सिटी एफसी

कप्तान : अन्जन विष्ट

प्रशिक्षक : प्रदिप हुमागाई

एफसी चितवन

कप्तान : भरत खवास

प्रशिक्षक : मेघराज केसी

पोखरा थण्डर्स

कप्तान : अनिल गुरुङ

प्रशिक्षक : नवीन न्यौपाने

बुटवल लुम्बिनी एफसी

कप्तान : विशाल श्रेष्ठ

प्रशिक्षक : सनोज श्रेष्ठ

धनगढी एफसी

कप्तान : किरण चेम्जोङ

प्रशिक्षक : युगल किशोर राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने" A few seconds ago

सम्बन्धित खवर