वैशाखभित्रै जनकपुर–जयनगर रेल सञ्चालनको तयारी – Satabdi News

वैशाखभित्रै जनकपुर–जयनगर रेल सञ्चालनको तयारी

रेल सञ्चालनका लागि रेल्वे कम्पनी र भारतको कोनकन रेल्वेजबीच जिटुजी सम्झौता,  चालू आवभित्रै ५१ किलोमिटरमा रेल चल्ने ,तत्कालका लागि भारतीय जनशक्तिको नेतृत्वमा रेल सञ्चालन

सरकारले २ असोज ०७७ मा जनकपुर ल्याएर राखेका रेल ०७८ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुर आइपुगेको ७ महिनापछि रेल सञ्चालनको अन्तिम तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सयजना कर्मचारी नियुक्त गरेको छ । त्यस्तै, भारतबाट २६ जना दक्ष जनशक्ति यही हप्ताभित्र आइपुग्ने निश्चित भएको छ । रेल सञ्चालनमा आउनुअघि कर्मचारीलाई दुई हप्ताको तालिम दिने कार्यक्रम छ । २५ वैशाखभित्र तालिमको काम सकेर रेल सञ्चालन गरिने तयारी छ । ‘कुनै कारणले रोकिएमा जेठ पहिलो हप्तासम्म लम्बिएला, अन्यथा वैशाखभित्र नै रेल सञ्चालनमा ल्याउने हो,’ महाप्रबन्धक भट्टराईले भने । पछिल्ला ३ वर्षदेखि जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोक्ने, तर सञ्चालनमा नआउने भइरहेको छ ।

 तत्काल ३४ किलोमिटरमा मात्र रेल सञ्चालन
सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर, तत्काल जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ । चालू आर्थिक वर्षभित्र नै थप १७ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनका लागि रेलमार्ग तयारी भइसकेको छ । यसपछि रेल सञ्चालन हुने लम्बाइ ५१ किलोमिटर पुग्नेछ । बिजलपुरादेखि–बर्दिवास १८ किलोमिटरको दूरीमा छ । त्यस क्षेत्रमा भने जग्गा प्राप्तिको काम अझ सकिएको छैन ।

२२६ जनशक्ति नियुक्ति गर्न स्वीकृति 
६ माघ ०७६ को मन्त्रिपरिषद्ले जयनगर–जनकपुर कुर्थाखण्डमा रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । बैठकले रेल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दी आवश्यक छ । ‘औचित्य र आवश्यकताअनुसार प्रतिस्पर्धात्मक माध्यमबाट नेपाल रेल्वे कम्पनीका लागि करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति दिएको,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । तर, नियुक्ति प्रक्रियालाई लोकसेवा आयोगले रोकेपछि अहिले ज्यालादारीका रूपमा १ सयजना कर्मचारी नियुक्त गरिएको छ । अहिले लोकसेवामार्फत नियुक्त प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि पाठ्यक्रम विकास गर्ने काम भइरहेको महाप्रबन्धक भट्टराईले जानकारी दिए ।

 भारतबाट दक्ष जनशक्तिको नेतृत्वमा रेल सञ्चालन
रेल सञ्चालनका लागि भारतबाट २६ दक्ष कर्मचारी यही हप्ताभित्र आइसक्नेछन् । उनीहरूकै नेतृत्व र निर्देशनमा रेल सञ्चालन हुनेछ । भारतबाट आउने कर्मचारीले नेपाली कर्मचारीलाई तालिम दिनेछन् । ट्र्याक मर्मत, रेल गाडी मर्मतलगायतका काम गर्नेछन् ।

विशेष गरी रेलगाडीका लागि ६ जना पाइलट, स्टेसन इन्चार्ज, ट्र्याक मर्मत गर्ने प्राविधिक, सिग्नल प्रणाली हेर्ने इन्जिनियर, मर्मत इन्जिनियर, ट्राफिक कन्ट्रोलर, पावर कन्ट्रोलरलगायतका जनशक्ति आउँदै छन् । रेल्वे कम्पनीका अनुसार भारतबाट आएका पाइलट कम्तीमा ३ वर्ष नेपालमा रहनेछन् । त्यसबाहेकको जनशक्ति भने नेपालीलाई सिकाएर फर्कनेछ ।

नेपालमा रहँदा नेपाली जनशक्तिलाई रेल सञ्चालनको सीप सिकाउनेछन् । नेपाली नै दक्ष भएपछि भारतीय जनशक्ति फिर्ता हुनेछ । भारतमै तयार गरिएको रेलसम्बन्धी व्यवस्थापनको ज्ञान उनीहरूलाई नै हुने भएकाले पनि नेपालीलाई सिकाउने गरी आवश्यक जनशक्ति आउन लागेको महाप्रबन्धक भट्टराईले जानकारी दिए । उनीहरूलाई ‘आउट सोर्स’ का रूपमा काम लगाइनेछ । नेपाली नै दक्ष भएपछि भने भारतीय जनशक्तिलाई फर्काइनेछ ।

यसअघि नै नेपाली नागरिकबाट परिपूर्ति हुन नसक्ने अवस्था भएको खण्डमा श्रम ऐन ०७४ को दफा २२ बमोजिम २६ जनासम्म विदेशी दक्ष श्रमिक नियुक्ति गर्न मन्त्रिपरिषद्ले नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको थियो ।

 एउटा स्टेसनमा १० जना आवश्यक 
रेलमार्गको नेपाली भूभागमा तत्काल ८ वटा रेल स्टेसन रहनेछन् । रेलको लिक बढ्नेबित्तिकै रेल्वे स्टेसन थापिनेछन् । एउटा रेल्वे स्टेसनमा औसतमा १० जना कर्मचारी आवश्यक पर्छ । त्यस्तै, रेल्वे ट्र्याक, रेल्वे सिग्नललगायतका क्षेत्रमा पनि कर्मचारी आवश्यक पर्छ । कम्पनी सञ्चालन र अन्य कर्मचारी पनि आवश्यक पर्नेछ । रेल सञ्चालन संवेदनशील भएकाले पनि पर्याप्त जनशक्ति अत्यावश्यक रहेको कम्पनीको भनाइ छ ।

 नेपालमा चल्ने रेलका विशेषता 
नेपाल र भारतलाई जोड्दै कुर्था–जयनगर चल्ने रेलले १ हजार ३ सय यात्रु बोक्नेछ । रेलको लिक डिजाइनअनुसार यसको गति १ सय किलोमिटर प्रतिघन्टा रहेको छ । तर, रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्म मात्रै गुड्नेछ । रेलमा चारवटा ‘कोच’ रहनेछन् । यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो ।
डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि र पछाडि दुवै दिशातर्फ गुड्छ ।

अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ । ४ चैत ०७५ मा मन्त्रिपरिषद्ले भारतीय सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसनमार्फत रेल खरिद गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले भारत सरकारसँग जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) खरिद प्रक्रियाअनुसार दुईवटा रेल ल्याएको हो । दुवै रेलको मूल्य ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ छ ।

३५ करोड खर्च, १० करोड आम्दानी
जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी र कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको छ । दुई देशका निकायबीच जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) सम्झौता वैशाख पहिलो हप्ता भएको महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । सम्झौताअनुसार जयनगर–जनकपुर रेल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति कोनकन रेल्वेजले उपलब्ध गराउनेछ ।

त्यस्तै, आवश्यक मेसिन, ट्र्याक मर्मतलगायतका काम कोनकन रेल्वेजले गर्नुका साथै नेपालीलाई सिकाउनेछ । एक वर्षका लागि गरिएको सम्झौताअनुसार २१ करोड ९५ लाख भारतीय रुपैयाँ (३५ करोड १२ लाख रुपैयाँ) खर्च हुनेछ । त्यसमध्ये ५० प्रतिशत रकम मेसिन खरिदमा खर्च हुनेछ ।

त्यस्तै, जनशक्तिमा करिब ४ करोड रुपैयाँ खर्च हुनेछ । अन्य रकम, तालिम, प्रोटोकल निर्माण, मर्मतलगायतमा खर्च हुनेछ । दोस्रो वर्षदेखि यो लागत घट्ने रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईको भनाइ छ । मेसिन खरिद गर्नुपर्नेछैन । ‘नेपाल जनशक्तिले सीप सिकेपछि लागत घट्नेछ,’ उनले भने । कम्पनीका अनुसार पहिलो वर्ष आय भने १० करोड रुपैयाँ हुने प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वैशाखभित्रै जनकपुर–जयनगर रेल सञ्चालनको तयारी" A few seconds ago

सम्बन्धित खवर