७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्र : नवरात्रमा शक्तिपीठ खोल्न नदिने – Satabdi News

७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्र : नवरात्रमा शक्तिपीठ खोल्न नदिने

असोज ३०, काठमाडौ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।

बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको जानकारी दिए ।

असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले आफूहरुले शक्तिपीठ खोल्नेबारेमा गरेको प्रस्तावमा अहिलेसम्म कुनै जवाफ नआएको बताए । सो प्रस्तावमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी देवालयहरू खोल्न आग्रह गरिएको थियो ।

त्यस्तै, २१ असोजमा ओलाङ्चुङ्गोला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पनि कात्तिक १ गतेदेखि शक्तिपीठ खोल्ने तयारी भइरहेको बताएका थिए ।

तर मन्त्रालयको प्रस्तावमा सीसीएमसीले कुनै निर्णय गरेको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रालयमा सो प्रस्ताव पठाउनु पर्नेमा सीसीएमसीले निर्णय नै गरेको छैन ।

गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिएको बुढाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्र : नवरात्..." A few seconds ago

सम्बन्धित खवर