किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न – Satabdi News

किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार १, काठमाडौ । किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिले आसन्न २०७८ सालमा हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा आज एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।

संघले काठमाडौँ उपत्यका लगायत प्रस्तावित किरात प्रदेश अन्तगर्त ताप्लेजुङ, पाचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, धनकुटा,भोजपुर, तेर्हथुम र संखुवासभा लगायतका जिल्लाका किरात राई विधार्थी संघका नेता तथा कार्यकर्ताहरु बिच प्रतिनिधिमुलक रुपमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभिमुखीकरण तथा अन्तर सम्बाद कार्यक्रमलाई किरात राई प्रज्ञा परिषदका प्राज्ञ तथा कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार गणेश राईले श्रोत व्यक्तिको रुपमा सहजीकरण गर्नु भएको थियो ।

राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना वि.सं.१९६८ देखि लिदैआएको छ । “मेरो गणना, मेरो सहभागिता” नारा सहित १२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेदेखि असार ८ गते १५ दिनभित्र सम्पन्न हुनेछ । जनगणनामा प्रत्येक व्यक्ति, परिवारको आर्थिक, सामाजिक पक्ष समेटिनेछ । व्यक्तिलाई नाम, थर, लिंग, उमेर, वर्ग, जात–जाति, मातृभाषा, पुख्र्यौली भाषा र दोस्रो भाषा, धर्म, अपांगता, शिक्षा, बसाइँसराइ, आर्थिक, प्रजननलगायत पक्ष खुलाइनेछ । त्यसैगरी परिवारले उपभोग गरेको जग्गाजमिन र क्षेत्रफल, महिलाको स्वामित्व, घरको किसिम, चर्पी, खाना पकाउने इन्धन, टेलिभिजन, मोबाइल फोन, पिउने पानी, बिजुली बत्ती, पालेका पशु र पक्षी, घरेलु व्यवसायलगायतको लगत लिइनेछ ।

उक्त कार्यक्रममा सहजीकरण गर्दै प्राज्ञ राईले राष्ट्रिय जनगणना २०७८ मा सम्पूर्ण किरात राईहरुले जातिको महलमा ‘राई,’ थरको महलमा अठ्पहरिया, कुलुङ, कोयु/कोयी, खालिंङ, चाम्लिङ, छिलिंङ, छिन्ताङ, जेरो, तिलुंङ, थुलुङ, दुमी, दुङमाली, देवास, नाछिरिङ, पुमा, बान्तावा, बाहिङ, बुङलावा,नेवाहाङ, बेलहारे, मेवाहांङ, याम्फु, लोहोरुंङ, वाम्बुले, साम्पाङ आदि, धर्मको महलमा ‘किरात,’ मातृभाषामा आ-आफ्नो मातृभाषा र दोश्रो भाषामा छिमेकीको कुनै एक भाषा लेख्न लेखाउन किरात समुदायका सबै अगुवाहरुलाई अनुरोध र अपिल गर्न सुझाउनु भयो । साथै राष्ट्रिय जनगणना २०७८ को जनगणना २०६८ को लगतमा भन्दा फरक किसिमले ‘मातृभाषा’, ‘पुख्र्यौली भाषा’ र दोस्रो भाषा भनेर उल्लेख गरेको प्रति लक्षित गर्दै खास गरेर पुर्ख्यौलि भाषा भनेर राष्ट्रको शब्द कोशमै नभएको हाम्रो समुदायलाई झुक्याउने र फेरी पनि षडयन्त्रपुर्बक खस नेपाली भाषाकै पक्षपोषण र बढुवा गर्ने गरि यो लगत ल्याएको बताउदै हामी चनाखो भएर यस्तो षडयन्त्रको भण्डाफोर गर्दै सबैलाई सचेत गर्न र सके सम्म उक्त विभेदित लगत खारेजी गर्न पहल गर्न विधार्थी संघलाई अनुरोध गर्नु भयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष रामचन्द्र राईले पछिल्लो समय शाषकहरुको फुटाउ र शासन गर भन्ने चलाखीपूर्ण रणनीति,विभिन्न सरकारी तथा गैह्र सरकारी सस्थाहरुको पैसा र प्रलोभन तथा किरात राई समुदायको सर्बोच्च मातृ सस्था किरात राई यायोक्खाले सबै किरात राई भाषिक तथा भातृ संगठनहरुलाई आवश्यक व्यवस्थापन र समन्वय तथा उक्त मन्चमा समावेशी र समानुपातिक तबरले सबै भाषिक समुदायको प्रतिनिधित्व हुन र गराउन नसक्दा प्रतिशोधको भावनाले किरात राई समुदायको थुप्रै भाषिक समुदायहरु आज छुट्टै जातिको रुपमा सूचीकृत हुने क्रम बढ्नुका साथै सुचिकणको अभियानमा लागेको बताए ।

किरात राई समुदायहरु २५० वर्ष अघि देखि राज्यको मुलधारमा समाहित हुन नसकेको बताउदै राज्यको मुलधारमा समाहित हुनका लागि, सामाजिक न्याय, समानता,अधिकार र आफ्नो पहिचानलाई स्थापित गर्नका लागि सबै किरात राईहरु एकजुट हुनु पर्ने बताउदै किरात राई विधार्थी संघको यो अभियानलाई सफल बनाउन सहयोग पुर्याउन सबै सचेत किरात राई युवा विद्यार्थीहरुलाई अपिल समेत गर्नु पर्ने बताए । अहिलेको अवस्थामा अलगै जातिको रुपमा सूचीकरण हुनु भनेको हाम्रो शक्तिलाई क्षयीकरण गर्नु हो । हाम्रो शक्ति क्षयीकरणले हामीलाई राज्यको मुलधारमा कदापि समाहित गर्न नसक्ने र समुदायको मुक्ति र न्याय प्राप्त नहुने बताउदै अध्यक्ष राइले किरात राई समुदाय भित्रको गलत सोच र विकृतिको अन्त्य गर्ने र राई जातिको बिरुद्द राई होइनौ भन्ने झुण्डहरुलाई परास्त गर्न रणनीतिक रुपमा लाग्ने र परास्त गरेरै छाड्ने बताए । राई समुदायमा राईकरणको विवाद कायमै रहेको बताउदै अध्यक्ष राईले जसरि २०५८ देखि २०६८ सम्ममा किरात राईहरुको जनसंख्या घटेर आयो अब तेसो हुन नदिन र सहि तथ्यांक संकलन गर्न र गराउन किरात राई विधार्थी संघले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । किराती एकताको लागि पहल गर्दै सबै किरात राई भाषिक समुदाय संग समन्वय गरि सहि तथ्यांक लेख्न र लेखाउनको लागि संघले पर्चा निर्माण र वितरण गर्ने, रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन, सामाजिक संजालमा सुचना सम्प्रेषण गर्ने ,सिआरबिटी, पीआरबिटी निर्माण गरि प्रचार गर्ने, सहि तथ्यांक लेख्न र लेखाउनको लागि समाबेशी गणक र स्वयमसेवकहरु नियुक्ति र परिचालनको लागि राष्ट्रिय योजना आयोग,निर्बाचन आयोग,केन्द्रिय तथ्यांक विभाग,संघीय सरकार,प्रदेश सरकार,स्थानीय सरकारको ध्यानाकर्षण गराउने साथै राज्य पक्ष केन्द्रीय तथ्यांक विभाग, संघ, प्रदेश, स्थानीय सरकारलाई जनगणनामा गणक र स्वयंसेवकहरु किरात राई जाति राख्न ध्यानाकर्षण गराउने र किरात राई विद्यार्थी संघले जनगणना अभियान टोली निर्माण गर्ने समेत संघका अध्यक्ष रामचन्द्र राईले शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय ज..." A few seconds ago

सम्बन्धित खवर