अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै भारत – Satabdi News

अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै भारत

५ असोज, काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार यस्तो घोषणा गरेका हुन् । गत अप्रिलमा भारतले आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका पुग्नुअघि भारतीय स्वास्थ्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । अधिकारीहरुका अनुसार उक्त बैठकमा खोप निर्यातको विषयमा पनि छलफल हुनेछ । मन्दाभियाले भारतमा अक्टोबर महिनामा ३० करोड डोजभन्दा धेरै कोरोना खोप उत्पादन हुने बताएका छन् । यसले भारतको खोप अभियानलाई बढाउँदा पनि निर्यात गर्न पुग्ने उनको भनाइ छ ।

‘हामीले विश्वलाई सहयोग गर्नेछौं र कोभ्याक्स कार्यक्रममार्फत् हामीले विश्वभरका सबै मुलुकलाई कोरोना खोप उपलब्ध गराउनेछौं’, मन्दाभियाले भने । पछिल्लो समय भारतमा कोरोना खोपको उत्पादन बढिरहेको र नयाँ उत्पादक पनि बजारमा आइरहेकाले आपूर्ति पर्याप्त भएको उनले बताए ।

भारतले २०२१ को अन्तिमसम्ममा आफ्ना सबै वयस्क नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । अहिलेसम्म उसले ८० करोड ८० लाख डोज खोप आफ्ना नागरिकलाई दिइसकेको छ । गत शुक्रबार एकैदिन भारतमा दुई करोड डोज कोरोना खोप लगाइएको थियो । यद्यपि अहिलेसम्म भारतका समग्र वयस्क नागरिकमध्ये २१ प्रतिशतले मात्र पूरा डोज कोरोना खोप लगाएका छन् ।

भारतले कोरोना खोप निर्यातमा रोक लगाउनुभन्दा पहिला उसले ६ करोड डोजभन्दा धेरै खोप निर्यात गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँ..." A few seconds ago

सम्बन्धित खवर