जसपाले बोलायो संसदीय दलको बैठक – Satabdi News

जसपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राजपा नेता केशव झाले जानकारी दिए।

समसामयिक राजनीतिक घटनाक्रमबारे आवश्यक धारणा तय गर्न बैठक बस्न लागेको हो। सांसद राजकिशोर यादवका अनुसार सर्वोच्चको दुई वटा फैसला, संसद्मा जसपाका सांसदको भूमिका लगायतका विषयमा छलफल हुनेछ।

‘राजनीतिक उथलपुथल भएको छ, समसामयिक राजनीतिमा जनता समाजवादी सांसदहरूले खेल्ने भूमिका के हुन्छ? पछिल्लो राजनीतिक घटनाक्रममा पार्टी कसरी अगाडि बढ्ने, संसदभित्र कसरी प्रभावकारी भूमिका खेल्न सकिन्छ, सर्वोच्च अदालतको दुई वटा फैसलाबारे के दृष्टिकोण बनाउने विषयमा छलफल हुन्छ,’ यादवले भने।

जसपामा ३४ जना सांसद छन्। समाजवादी पार्टी नेपाल र राजपा मिलेर जसपा पार्टी बनेको थियो। अदालतले आइतबार एमाले र माओवादी एकीकरण भएर बनेको नेकपा नामलाई मान्यता नदिएर ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएको थियो। अदालतको फैसलाले पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएका छन्।

अदालतले नेकपाको एकता खारेज गरिदिएपछि मुलुकमा नयाँ राजनीतिक कोर्स सुरु भएको छ। सोही विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरू आन्तरिक छलफलमा जुटेका छन्। प्रतिनिधि सभाको बैठक अब बुधवार बस्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपाले बोलायो संसदीय दलको बैठक" A few seconds ago

सम्बन्धित खवर