संसारकै ठूलो प्लास्टिक प्रदूषक अमेरिका भएको अध्ययनको निष्कर्ष – Satabdi News

संसारकै ठूलो प्लास्टिक प्रदूषक अमेरिका भएको अध्ययनको निष्कर्ष

१६ मंसिर, काठमाडौं । अमेरिका संसारकै सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक भएको एक अध्ययनले देखाएको छ । अमेरिकाको संघीय सरकारसमक्ष बुधबार पेश गरिएको उक्त अध्ययन प्रतिवेदनले प्लास्टिक प्रदूषणको बढ्दो संकटलाई सामना गर्न राष्ट्रिय रणनीति बनाउनुपर्ने सुझाव पनि दिएको छ । ‘सेभ आवर सीज २.०’ ऐनको एक हिस्साको रुपमा अमेरिकी काँग्रेसले अनिवार्य गरेको उक्त प्रतिवेदन अनुसार सन् २०१६ मा अमेरिकाले ४ करोड २० लाख मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पन्न गरेको थियो ।

जुन चीनको भन्दा दोब्बर र समग्र युरोपेली मुलुकहरुको भन्दा धेरै हो । औसतमा, प्रत्येक अमेरिकी नागरिकले एक वर्षमा १३० किलो प्लास्टिक फोहोर उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, दोस्रोमा प्रत्येक बलायती नागरिकले एक वर्षमा ९९ किलो र तेस्रोमा प्रत्येक दक्षिण कोरियाली नागरिकले एक वर्षमा ८८ किलो प्लास्टिक फोहोर उत्पन्न गर्ने गरेका छन् । बढ्दो प्लास्टिक प्रदूषणले पर्यावण र सामाजिक संकट नित्याउँदै गएको बताइएको छ ।

विश्वव्यापी रुपमा प्लास्टिक उत्पादन सन् १९६६ मा २ करोड मेट्रिक टन रहेकामा सन् २०१५ मा ३८ करोड मेट्रिक टन भन्दा बढी पुगेको छ । ५० वर्षको अवधिमा प्लास्टिक उत्पादन करिब २० गुणाले बढेको अध्ययनले देखाएको छ । समुद्रमा मिसिने प्लास्टिकजन्य फोहोरका कारण हजारौं सामुद्रिक प्रजातिहरु संकटमा परेको पनि रिपोर्टले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संसारकै ठूलो प्लास्टिक प्रदूषक अमेरिका भएको अध्..." A few seconds ago

सम्बन्धित खवर