भोजपुरका प्रदेश सांसद राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा चयन – Satabdi News

भोजपुरका प्रदेश सांसद राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा चयन

२८ भाद्र, विराटनगर । भोजपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेश सांसदमा निर्वाचित राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा चयन भएका छन् ।

सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।

एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको समाजवादीका अर्का सांसद राजन राईले जानकारी दिए ।

उनले प्रदेशसभामा दलको नेता चयन र भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी सहितको पत्र पठाउने निर्णय गरिएको जानकारी दिए ।

प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ ।

बहुमत प्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकाले अब असोज ९ गतेभित्र उनले विश्वासको मत लिनुपर्छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा तत्कालिन मुख्यमन्त्री शेरधन राईलाई पदबाट राजीनामा दिन लगाएर भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका थिए ।

संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् ।

प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भोजपुरका प्रदेश सांसद राजेन्द्र राई एकीकृत समाज..." A few seconds ago

सम्बन्धित खवर