संघीय संसदको दुवै सदनको १० औं अधिवेशन आजबाट सुरु – Satabdi News

संघीय संसदको दुवै सदनको १० औं अधिवेशन आजबाट सुरु

२३ भाद्र, काठमाडौं । संघीय संसदको दुवै सदनको १० औं अधिवेशन आजबाट सुरु हुने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बुधबार अपरान्ह ४ बजेका लागि आह्वान गरेकी हुन् ।

आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा प्रस्तुत गर्नका लागि ३२ बुँदे कार्यसूची तय भएको छ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची छन् । सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ ।

सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले भारतलाई पठाइएको कूटनीतिक नोटका विषयमा पनि संसद्लाई जानकारी गराउने तयारी रहेको छ । यता, नेकपा एमालेले भने अधिवेशनको पहिलो बैठकलाई नै विरोध जनाउने तयारी गरेको छ ।

एमालेसँग छलफलबिनै दल टुक्र्याउने अध्यादेश टेबल गरे संसद् अवरोध हुने सम्भावना छ । गएको साउन ३२ गते सरकारले अधिवेशन अन्त्य गरेको थियो । त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संघीय संसदको दुवै सदनको १० औं अधिवेशन आजबाट सुरु" A few seconds ago

सम्बन्धित खवर