के नेप्से अब विस्तारै लयमा फर्किन लागेको हो ? – Satabdi News

के नेप्से अब विस्तारै लयमा फर्किन लागेको हो ?

१६ असार, काठमाडौ  । सेयर बजारमा सामान्य ह्रास आउनेक्रम जारी छ । वर्षभरिको नाफा वित्तीय विवरणमा देखाउनकै लागि भए पनि संस्थागत लगानीकर्ता, म्युचुअल फन्डहरुले केही मात्रामा सेयर बिक्री गर्छन् । यस्तै, व्यक्तिगत लगानीकर्ताहरुले पनि बैंकको साँवा ब्याज भुक्तानीका लागि केही रकमको जोहो गर्नुपर्ने हुन्छ । यसैको प्रभाव अहिले बजारमा देखिएको छ ।

यस्तै, सरकारले असार २५ गतेभित्र कर तिरिसक्नुपर्ने समय निर्धारण गरेकाले कतिपय उद्योगपति र संस्थाहरुले पनि नाफा बुक गर्न लाग्दा बजारमा चाप परेको अनुमान गरिएको छ । यही बेला ट्रेडरहरु पनि सक्रिय भएका छन् । थोरै नाफा हुने बित्तिकै बुक गर्ने प्रवृत्तिका कारण ट्रेडरहरुले सेयर बिक्री गर्नुलाई अन्यथा लिन सकिंदैन । सोही कारण बजार केही प्रभावित भएको हो । कारोबार रकम खुम्चिनुको कारण यही हो ।

तर अब केही दिनमै यी सबै काम सम्पन्न हुने भएकाले बजार पुनः लयमा फर्किने अपेक्षा गरिएको छ । बिक्री गरेर धेरैले रकम जोहो गरिसकेपछि बजार फेरि वृद्धि गतिमा फर्किने धेरैको अनुमान छ । असारमा बैंकहरुले सामान्यतयः नयाँ कर्जा प्रवाह नगर्ने भएकाले पनि बजारमा त्यसको केही प्रभाव देखिएको हो ।

नयाँ आर्थिक वर्ष सुरु हुने बित्तिकै यी सबै समस्या समाधान हुनेछन् । असार मसान्त नजिकिंदै जाँदा सरकारले विकास निर्माणको रकम भुक्तानी गर्न थाल्नेछ । अहिले नै खर्च धमाधम बढिरहेको छ । यसबाट बजारमा पैसा आउनेछ । जसबाट तरलता वृद्धि हुन सहयोग पुग्नेछ । यसको प्रत्यक्ष लाभ सेयर बजारले लिन सक्नेछ । सेयर बजार घटबढ भइरहन्छ । लगानकर्ता यसमा पहिल्यै सजग हुन जरुरी छ ।

घटेका बेला किन्ने र बढ्दा बिक्री गर्न रणनीति बनाउन बजारका जानकारहरु सुझाव दिने गर्छन् । मजुबत वित्तीय अवस्था भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्दै जान सक्नुपर्छ । होल्ड गर्ने अवधि र जोखिम बहन क्षमतालाई पनि पहिचान गर्न आवश्यक देखन्छि । सेयर बजारमा लगानीकर्ताको मनोबलले पनि अहम भूमिका निर्वाह गर्छ ।

यसर्थ, घटेको बजार फेरि माथि जान्छ भन्ने सकारात्मक मनोभावना हुन जरुरी छ । यो सेयर बजारको सिजन हो । अहिले सेयर होल्ड गर्नेले निकै छोटो अवधिमा लाभांशको हकदार हुन सक्नेछ । नेप्से सूचक ४.१३ अंकले घटेर २८२३.८८ विन्दुमा आइपुगेको छ । ५ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२२० कम्पनीको १ करोड ६२ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । ३० करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा एनएजली इन्सुरेन्स र तेस्रोमा नेसनल हाइड्रोपावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के नेप्से अब विस्तारै लयमा फर्किन लागेको हो ?" A few seconds ago

सम्बन्धित खवर