विकृति र विसङ्गतीविरुद्ध लडन आफैबाट शुरूवात गर्न अनुरोध; राजेन्द्र श्रेष्ठ – Satabdi News

विकृति र विसङ्गतीविरुद्ध लडन आफैबाट शुरूवात गर्न अनुरोध; राजेन्द्र श्रेष्ठ

वैकल्पीक राजनीतिक शक्तिको निर्माण गर्न जनवादी केन्द्रियताको सङ्गठनात्मक ढाँचामा आधारित एकात्मक र केन्द्रिकृत पार्टीको पुरानो प्रभावबाट मुक्त हुनु आवश्यक छ । नयाँ ढङ्गको राष्ट्रिय पार्टी निर्माण गर्न वैचारिक तथा सङ्गठनात्मक सवालहरूमा नयाँ अग्रगामी विकल्प हामीसँग छ । तर विचारलाई सङ्गठनमा रूपान्तरित गर्न सकेका छैनौँ । हाम्रासामु सङ्गठनात्मक चुनौतिका केही विषयहरू यसप्रकार छन्ः

१. पार्टी विधानको धारा ४७ अनुसार पार्टीको सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रियता हो, तर व्यवहारमा अध्यक्षमा नै अधिकार केन्द्रिकृत गर्न खोज्ने प्रवृत्ति छ । यो पार्टीभित्रको आधिकारिकताको विवादमा सबैले बुझ्ने गरी अभिव्यक्त भएको छ ।

२. पार्टी विधानको प्रस्तावनामा नै सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्व प्रणालीको व्यवस्था छ, तर पार्टी चलाउँदा अध्यक्षात्मक नेतृत्व प्रणालीको जस्तो व्यवहार प्रदर्शन गरिएको छ । केन्द्रिय समिति नै अध्यक्षले पुनर्गठन गर्ने पुँजीवादी शैलीको अध्यक्षात्मक प्रणाली अबलम्बन गर्ने प्रयत्न भएको छ ।

३. पार्टी संस्थागत र पद्धतिसङ्गत ढङ्गले चल्नु पर्छ भन्छौ, तर संस्थागतरूपमा पार्टी चलाउनका लागि समितिको औपचारिक बैठकसमेत छल्ने र राखिएको बैठकसमेत एकपक्षीय रूपमा स्थगित गर्ने स्वेच्छाचारी प्रबृत्ति छ ।

४. पार्टी विधानको धारा ११ मा सङ्घीय ढाँचाको पार्टीको व्यवस्था छ, तर व्यवहारमा सृङ्खलावद्ध समिति प्रणाली र चेन अफ कमाण्ड तोड्ने मात्र होइन केन्द्रले नै पालिका तहसम्म चलाउने एकात्मक र केन्द्रिकृत मानसिकसता रहेको छ ।

५. राज्यले प्रदेशलाई बाइपास गरी केन्द्रले स्थानीय तह चलाएकोमा आलोचना गर्छौँ, तर पाटीमा पनि तल योग्यता पुगेका साथीहरू नभएको भन्दै त्यस्तै गर्ने प्रवृत्ति छ । पार्टीमा केन्द्रीय तहका साथीहरू मात्र योग्य र क्षमतावान हुने होइन, सबै तहमा योग्यता क्षमता भएका साथीहरू छन् । तिनीहरूलाई पनि विश्वास गरेर जिम्मेवारी दिनु पर्दछ ।

६. पार्टी विधानको धारा ५९ मा एक व्यक्ति एक पदको व्यवस्था छ, तर व्यवहारमा अन्तरिम काल र योग्यता क्षमताको बहानामा एक व्यक्ति बहुपदको घम्साघम्सी नै छ, मानौं कि योग्यता र क्षमता खास खास व्यक्तिमा मात्र हुन्छ । बास्तवमा पार्टी विधानको धारा ५७ बमोजिम विधान अधिवेशन नभएसम्मको सङ्क्रमण कालका लागि नै अन्तरिम विधान लागू हुने हो ।

निष्कर्षमा; भन्दा हामी विधीको शासनको कुरा गर्छौँ, तर विधानलाई कार्यान्वयन गर्दैनौ । जुनसुकै वहानामा भए पनि विधान मिच्छौं भने हामीले पनि विधीको शासन नमानेको नै ठहर्छ । देशमा संविधानको सर्वोच्चता र कानुनी राजको कुरा गरिरहँदा हामीले पार्टी कसरी चलाइरहेका छौँ भन्ने कुरालाई पनि ध्यानमा राख्नु पर्दछ । एकपटक हामी सबैले आत्मसमिक्षा गरौँ, आफ्नो अनुहार आफै ऐनामा हेरौँ, पार्टीले अबलम्बन गरेको वैचारिक, सैद्धान्तिक तथा सङ्ठनात्मक मार्गचित्रहरूलाई व्यवहारमा रूपान्तरण गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विकृति र विसङ्गतीविरुद्ध लडन आफैबाट शुरूवात गर्..." A few seconds ago

सम्बन्धित खवर