‘पर्सि भर्सेज मोन्सान्टो’ : रैथाने नश्लहरु विकासे जातको उपनिवेशको चपेटामा – Satabdi News

‘पर्सि भर्सेज मोन्सान्टो’ : रैथाने नश्लहरु विकासे जातको उपनिवेशको चपेटामा

अन्वेश थुलुङ राई

फिल्म पर्सि भर्सेज गोलायथः                          क्यानडाको एक साक्साचेवन भन्ने स्थानका तोरी किसानको बारेमा निर्माण भएको ‘पर्सि सिमाइजर’ वास्तविक कथामा आधारित फिल्म हो । सन् १९९८ मोन्सान्टोले उसलाई आफ्ना बीउ चोरेको आरोपमा मुद्धा लगाउँछ । एक सामान्य आर्थिक स्थिति भएको कृषक पर्सि सिमाइजरको जीवनका लागि योभन्दा ठूलो दुर्घटना केही हुन सक्दैन । यो घट्नाले उसको जीवन नै तहस नहस गरिदिन्छ ।

यो घट्नाले कृषिलाई पेशा बनाएको उसको घरको आर्थिक स्थितिलाई नै कष्टकर बनाईदिन्छ । उनले मुद्धा लड्दा मोन्सान्टोको वकिलको खर्च लगायत बीउको उत्पादनहरु सबै बुझाउनु पर्ने हुन्छ ।

‘मेरो बुबा भन्नुहुन्थ्यो, हरेक वर्ष उत्पादन हुने बालीले एक वाचा लिएर आएको हुन्छ । र, हरेक वर्ष उत्पादन हुने शक्तिशाली विरुवाको बीउहरु राखेर म आफ्नो उत्पादन गर्छु ।’ वर्षौँदेखि उसको परिवारले थाम्दै आएको कृषि परम्परा सम्हाल्नुको जीवन दृष्टि एकदम सादा छ । तर अचानक उसको जीवनमा आइपरेको मोन्सान्टो कम्पनी, आफ्नो प्रविधि र पुँजीको बलमा निर्मित विकासे जातको तोरीको बीउ चोरेको आरोप लगाउँछ । ऊ न्यायको लागि यसको विरुद्ध अदालतमा लड्न जान्छ ।

रेबाका साल्काउ–फिल्मका पत्रकार । जो जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म (जिएमओ) को विपक्षमा छिन् । उनले पर्सिलाई साथ दिन्छिन् । विश्वभर घुम्दै जाने क्रममा ऊ मन्सान्टोले विश्वभर पु¥याएको क्षतिबारे अझ स्पष्ट हुँदै जान्छ । समर्थक बढ्दै जान्छ । सहयोग गर्नेहरुले उसलाई आर्थिक सहयोग पनि गर्छन् । तर यता मोन्सन्टोले उसलाई मुद्धा सर्वोच्च पुग्नभन्दा अघिका दुई तहका अदालतहरुमा हराईसकेको हुन्छ । र, यही यात्राको क्रममा ऊ भारत आउँछ ।

लाखौँ कृषकले यही विकासे जातको कारण आत्महत्या गरेको थाहा पाउँछ । मानसिक रुपबाट एक्लो परिरहेको बखत उसलाई अनुभुत हुन्छ । यो युद्ध उसको मात्र हैन । लाखौँ, करोडौँ किसानहरुको पनि हो । तब उसले एक निश्कर्ष निकाल्छ । मोन्सान्टोले उत्पादन गरेको बीउको छेउमा अन्य कुनै वनस्पति उम्रन सक्दैन । सिवाय मोन्सान्टोको विकासे जात उसकै रैथाने तोरीको बीउ पनि । ‘जे मर्छ त्यो हाम्रो बाली हो ।’ (फिल्मको डाइलग) फिल्ममा उसले आफुले बुझेको कुरा विश्वको सामु भन्छन् ।

अन्त्यतः क्यानडाको सर्वोच्चमा उसले मुद्धा जित्छ । निर्णय हुन्छ–प्रकृतिले अनेक कारणले बीउ अर्काका बारीमा जान सक्छ । हावा, चराचुरुङ्गी, जनावर आदि इत्यादिको मानवको बसभन्दा बाहिरका कुरा हुन् । तर त्यसो हुँदै गर्दा पनि राउन्ड अप (मोन्सान्टोको बीउमा विकास भएको एक झारनासक गुण) प्रविधिमा बाँच्न सफल भएको हुँदा बीउ भने मोन्सान्टोलाई दिनुपर्ने हुन्छ ।

ग्रिक मिथक अनुसार पर्सी एक योद्धा हो जसले मेडुसाको शीर काट्छ र गोलायथ बाइबलमा वर्णित एक भीमकाय पात्र हो जसलाई डेविड नामक पात्रले गुलेलीको बलमा मारेर शीर काट्छ । र, यही दुइ भिन्न कथाहरुको आधारमा यस फिल्मको शिर्षक दिइएको छ । गार्फिल्ड लिन्डसे मिलर र हिलारी प्रायोरको पटकथा रहेको फिल्म क्लार्क जोन्सनद्धारा निर्देशित फिल्म हो । २०२० मा निर्देशित यो फिल्म यही लकडाउनमा हेरियो । र यसपश्चायत मलाई धेरै कुराले सोच्न बाध्य गराएको छ ।

विकासे जात भर्सेज रैथाने जातः

जिएमओ अर्थात आधुनिक प्रविधिहरुको मद्धतले कृत्रिम तरिकाले निर्माण गरिएका विकासे जातका प्राणी तथा वनस्पतिहरु ठिक हुन् कि होइनन् भन्ने कुरा विश्वले बहस गरिरहेको कुरा हो । यसमा सन् २०१३ मा बंगलादेशको बैगुन खेतीले जिएमओबाट प्राप्त गरेको उपलब्धी र सन् १९९८ मा हवाई टापुमा भएको मेवा खेतीको सुधारहरुलाई हेर्ने हो भने यसलाई त्यति खराब नमान्न पनि सकिएला ।

विश्वमा आइपर्ने खाद्य संकट, जलवायुमा रहेको कार्बनडाईअक्साईड अध्याधिक मात्रामा सोस्न सक्ने जेनेटिकल्ली मोडिफाइड विरुवाहरु पनि जिएमओले विकास गरिरहेका छन् । यसलाई पनि सकारात्मक रुपबाट लिऔँ यद्यपि हाम्रो लागि समस्याको रुप अलि फरक हुनसक्छ ।

यसमा अर्को समानान्तर कथा पनि जोडौँ । औधोगिक युगको सुरुवातसँगै धेरै परिवर्तन आए । जसमध्ये आफ्नो बालीनालीमा लाग्ने किरा नियन्त्रण गर्नको लागि अष्ट्रेलियाका कृषकहरुले आफ्नो राष्ट्रमा केन टोड (विशालु भ्यागुताको एक प्रजाति) भित्र्याए । दक्षिण अमेरिकी भ्यागुताको उक्त प्रजातिले बालीनालीको किराको नियन्त्रण त गर्यो तर उक्त जीवले त्यहाँका रैथाने जनावरहरुको जिन्दगीलाई कष्टकर बनाईदियो ।

बेलायतमा पनि औधोगिक युगकै बेला ल्याएका अमेरिकन क्रेफिस (झिँगे माछाको एक प्रजाति) ले हाल आएर त्यहाँका खोलानालाहरुमा पाइने रैथाने जीवहरुलाई लोप बनाउने स्थितिमा पुर्याई दिएको छ । स्वयम अमेरिकाको एभरग्लेड्स राष्ट्रिय निकुञ्ज बर्मेली अजिंगरले त्यहाँका पर्यावरणमा विनास गरिरहेको रैथाने जीवहरु बचाउन संघर्ष गरिरहेको छ ।

यी पहिलो विश्वले झेलिरहेका प्रतिनिधि घटनाहरु हुन् । जोसँग लड्नको लागि उक्त देशले शताब्दीभन्दा लामो प्रयास गरिरहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने हामीमाझ पनि विकासे जातको नाममा अनेकौँ प्रजाति भित्रिरहेका छन् । चाहे त्यो घरपालुवा जनावरको रुपबाट होस् वा मासु, दुध, अण्डा, आदि उत्पादनको लागि आयात भएका प्रजाति वा कुनै बाली ।

के ती विकासे जनावरहरुले हाम्रो रैथाने पारिस्थितिक प्रणालीलाई संकटमा पार्न सक्दैनन् ? खुला पानीमा यदि हामीले घरपालुवा बनाएको गोल्डफिस वा कार्प हाम्रा खोलामा फुत्किदियो भने कस्तो असर पार्न सक्छ त्यसको उदाहरण हामी इन्टरनेटमा खोजको खण्डमा स्वतः देख्न सक्छौँ । नेपालका बाह्य मिचाहा वनस्पतिका प्रजातिहरु भनेर इन्टरनेटमा खोज्नुभयो तपाईँले यी अध्ययनहरु देख्न सक्नुहुन्छ । जनावरको पनि ।

नेपालजस्तो देशको रैथाने जीव वनस्पतिले भोग्ने क्षतिको बारेमा हामीले नियन्त्रण त के सुइकोसम्म पनि पाउनेवाला छैनौँ । फिल्म पर्सि भर्सेज गोलायथ सिर्फ एक कृषक र टेक्नोजाइन्टको बीचमा मात्र युद्ध हैन । यो मौलिकतामा विश्वास गर्ने कृषक र आधुनिकतालाई हतियार बनाउने पुँजीवादी चरित्रको पनि युद्ध हो । आफ्नै मौलिकतामा विश्वास गर्ने कृषक जो वर्षौँदेखि आफ्नो रैथाने बीउमा विश्वास गर्ने मेहेनती कृषक र देशको कानुनको प्वालहरुलाई आधार बनाएर आफ्नो अधिकारहरुको दुरुप्रयोग गर्दै, आफ्नो प्रविधिको बलमा साम्राज्य फैलाउन खोज्ने साम्राज्यवादी चिन्तन बोक्ने चरित्रबीचको युद्ध पनि हो ।

मोन्सान्टोजस्तो ठूला कम्पनीहरु आफ्नो ‘प्रविधि’ बेच्छ । उसले आफुले विकास गरेको बीउको प्रतिलिपि अधिकार लिन्छ । बहस चल्छ ‘बीउ जसरी धुलो र समुन्द्र सबैको हो तर कसैको एकाधिकार हैन’ यसमाथि नियन्त्रण गर्न पाइन्छ ? एक पुँजीवादी देशले भोलि गएर मोन्सान्टो जस्तो ठूला विकासे बीउ उत्पादन गर्ने कम्पनीको भरमा हाम्रो मौलिकतालाई सखाप पार्दै आफ्नो उपनिवेश बनाउन के बेर ।

मोन्सान्टो र नेपालः

एक बेला नेपालको सवालमा मोन्सान्टोबाट उत्पादित मकैको बीउको विरुद्ध अभियान नै चलेको थियो । युएसएडको सहयोगमा नेपाल भित्र्याउन खोजिएको उक्त बीउको विरुद्ध ‘आधा पेट खान तयार, डबल काम गर्न तयार, आफ्नै बीउ जिन्दावाद, मोनसान्टो मुर्दावाद, विदेशी सहयोगको नाममा अभिशाप चाहिँदैन’ भन्ने अभियान नै चलेको थियो । त्यसो त उखु किसानको पक्षमा पनि बारबार आन्दोलन चर्किरहेको हो ।

हालको समयको चिन्ता सिर्फ पुँजीवादी चरित्रका विकासे बीउहरुको साम्राज्यवादी छाँयाको मात्र हैन । के नारामा जस्तै डबल काम नेपालीहरुले गरे त ? भन्ने पनि हो । राजनीति, साहित्य, संगीत आदि जस्ता कुरामा मौलिकता खोजिरहेको नेपाल आफ्नै देशमा रहेका जनावर तथा वनस्पतिहरुको सवालमा भने खासै चासो राखेको पाईँदैन । यसमा प्रयास के भइरहेका छन् त्यो अन्य चर्का बहसहरुमा सुनसान भएको छ ।

यस्ता विषयमा लेखहरु नआएका हैनन् तर यी बहसहरुले नेपालको नीति निर्माणको सवालमा कति स्थान पाएका छन् ? एक उदाहरणलाई नै हेर्ने हो भने हलोखबरमा वि.सं २०७७ असोज १५ मा राज्यको प्राथमिकतामा किन पर्दैन प्राङ्गारिक मल ? शिर्षकको लेख छापिन्छ । जहाँ स्वदेशकै प्राङ्गारिक मलका उद्योगहरु राज्यको नीतिमा नपरेको र विदेशी रासायनिक मलले स्थान लिएको समाचार प्रकाशित हुन्छ त्यसको केही समयपछि २०७७ पौष २ गते अर्को समाचार फेरि हलोखबरमै प्रकाशित हुन्छ, नेपाल सरकार र बंगलादेशबीच रासायनिक मल ल्याउने सम्झौता । यसमा कहि कतै बहस भएको छ त ? यस्तोमा हाम्रा सवालहरु आँखा अगाडी भएका किसानहरुको पक्षमा मात्र हैन समग्र कृषि नीति, राजनिती प्रति हुनपर्छ कि ?

यसलाई अझ जोड दिएर हेर्ने हो भने नेपालमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), नेपाल राज्यको स्पष्ट नीति नरहेको कारण प्राविधिकहरुको कमीका कारणले काम गर्न सकिरहेको छैन । (हेर्नुस् नेपाल लाइभको पुस २२, २०७५ को नार्कमा वैज्ञानिकको अभाव, अनुसन्धानमा समस्या) तीन साल अघिको यो समाचार हेरिसक्नुभयो भने फेरि २५ वैशाख, २०७८ मा नार्कको ३० औँ स्थापना दिवसको अवसरमा हलोखबरले लिएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीसँग लिएको अन्तवार्ता । समस्या ज्युँ का त्युँ देखिन्छ ।

अझ भौतिक पुर्वाधारहरु अभाव भएको कुरा पनि जोडिएर आउँछ । तर यही कुरालाई मध्य नजर गर्दा सर्प पाल्नको लागि कुनै मन्त्रीको लागि करोडौँ छुट्याएको समाचार, गोठालो भत्ताभित्रका योजनाहरुप्रति प्रश्न उठाउन आवश्यक छ । यसमा के राजनैतिक वा आर्थिक स्वार्थ लुकेको छ, यी विचार गर्नुपर्ने कुराहरु हुन् । डकुमेन्ट मिलाएको भरमा लाखौँ अनुदान लिने किसानहरु अनि गाउँपालिका, नगरपालिका, वडाहरुले डिपिआर नै नगरी बनाएका सडक आतंकको विषय पनि प्रश्न उठाउन पर्ने कुराहरु हुन् । जो मुलधारका बहसहरुमा वास्तवमै उठ्न सकेका छैनन् ।

हाम्रा रैथाने प्रजातिहरु अहिले नश्ल सुधार गर्ने नाममा लोपन्मुख भइसकेका छन् । यसको एक उदाहरण इलामतिर पाइने सिरि गाईलाई लिन सकिन्छ । यो धेरै दुध दिने रैथाने गाई हाल आएर लोपन्मुख भइसकेको छ । त्यस्तै विश्वकै सबैभन्दा सानो नौमुठे (आछामी) गाई पनि हाल आएर आफ्नो मौलिक स्थिति गुमाईरहेको छ । यी केही उदाहरण मात्र हुन् । यसैलाई समानान्तर राखेर हेर्ने हो भने जापानमा पाईने रैथाने कार्पको एक रंगीन प्रजाति ‘कोई माछा’लाई २०१७ सालमा विश्वकै महंगो अठार लाख डलरमा बेच्छ । आफ्नो देशमै उत्पादित रैथाने वाइगु प्रजातिको गोरुको औसत मुल्य ३० हजार डलर हुन आउँछ । झन् सन् २००२ को रैथाने वाइगुकै मात्सुकाका गाई (कुमारी गाई) को बिक्रि मुल्य ४ लाख डलर थियो ।

यसमा मैले सुरुवातमै भनिसकेको छु, म यस विषयको विज्ञ हैन । यद्यपि यी सरोकारका विषयहरु हुन् । किनकी वनस्पति वा प्राणीहरुले आफ्नो मौलिकताको अधिकार खोज्दै सिंहदरबार अगाडी धर्ना दिन सक्दैनन् । ‘बोयर’ले आफ्नो पहिचान ‘नामेट’ पारिरहेको पीडा ‘खरी’ बाख्राले कुनै कवितामा लेख्न सक्ने छैन । न त कुनै कार्पले गरेको फैलाएको जनसंख्याको उपनिवेशको विरुद्धमा कुनै खरो आन्दोलन त्यहाँका रैथाने माछाले गर्न सक्छन् ।

यस्तो पनि हुन्छ र ? भन्ने प्रश्न आयो भने, जापानको रैथाने कोई माछाले अष्ट्रेलियाको क्विन्सल्यान्डमा पु¥याएको बर्बरता इन्टरनेटमा हेर्नसक्नुहुनेछ । अझ इन्भेसिभ स्पेसिज अफ वल्र्ड गुगल गरेर हेर्नुभयो भने विश्वका विकसित भनाउँदा देशहरुले भोगिरहेको समस्याको बारेमा स्पष्ट देख्नसक्नुहुनेछ । अष्ट्रेलिया, अमेरिका, बेलायतमा आयात गरिएका घरपालुवा जनावर, सजावटका वनस्पतिहरु जब नियन्त्रण बाहिर भएर ‘फेरल’ जीव, वनस्पतिमा रुपान्तरित भए तब त्यसले रैथाने प्रजातिमा पु¥याएको क्षतिलाई तपाई इन्टरनेटमा सहजै देख्न सक्नुहुनेछ ।

अन्त्यमाः

हालको समय हामीले आफ्नै प्रविधिहरुलाई विकास गर्न नसक्नु, आफ्ना प्रजातिहरुलाई विश्वास गर्न नसक्नु देशकै लागि ठूलो संकट हो । विश्वलाई हामीले हाम्रो मौलिकता चिनाउन नसक्नुको दुःखदायी कुरा हो । आश्चर्य लाग्न सक्छ तर विश्वको ०.०१ प्रतिशत ओगट्ने नेपाल जैविक विविधताको हिसाबले ४ प्रतिशत ओगट्छ अनि जैविक विविधतामा विश्वको २५ औँ र एसियामा ११ औँ स्थानमा आउँछ । (हेर्नुस्ः सेतोपाटीमा २०७८ साल वैशाख २ प्रकाशित बन्दना भट्टराई लिखित, रैथाने बाली प्रवद्र्धन र दिगो विकास क्रान्ति) । के यो चान्चुने कुरा हो ?

‘पर्सि भर्सेज मोन्सान्टो’ सिर्फ एक सामान्य कृषक र ठूलो कम्पनीको युद्धको रुपमा मात्र मैले लिन सकिन । यसमा युगौँसम्म आफ्नो पर्यावरण र माटोसँग संघर्ष गरिरहेका रैथाने बीउ अनि कृषकहरुको संवेदनालाई मैले पर्सी सिमाइजको रुपमा नेपथ्यमा महसुस गरेँ । जो हाम्रो सम्पदाजस्ता देखिन्छन् । कृषिका सम्पदा । नेपाल जस्तो देशमा जहाँ आधुनिकताको नाममा आफ्ना प्रविधिहरु विकास गर्नभन्दा आयात गरिएका विकास पद्धति बढी विश्वास गर्ने प्रवृत्ति बढिरहेको स्थितिमा कुनै दिन आफ्नो रैथाने सौन्दर्य गुमाउला नभन्न सकिन्न । यसमा बहस गर्न के जरुरी छैन ?

(डिस्केल्मेरः म कुनै कृषि विज्ञ नरहेको हुँदा यो लेख मेरो सामान्य बुझाईहरुबाट आएको हुनसक्छ । त्यसैले यसमा रहेका धारणा नितान्त व्यक्तिगत विचार हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘पर्सि भर्सेज मोन्सान्टो’ : रैथाने नश्लहरु विका..." A few seconds ago

सम्बन्धित खवर