कोरोना महामारीको बेला कर्णाली प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रीको संख्या थपियो – Satabdi News

कोरोना महामारीको बेला कर्णाली प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रीको संख्या थपियो

२९ वैशाख २०७८, बुधबार। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसको महामारीको बेला मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका छन् । सात वटा प्रदेश सरकारहरुमध्ये कार्यसम्पादन सबैभन्दा कमजोर भएका मुख्यमन्त्री शाहीले सांसदको चित्त बुझाउन मन्त्रालय नै फुटाएर मन्त्री नियुक्त गरेका हुन ।

शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिंचाई, खानेपानी र जलस्रोत मन्त्रालय बनाएका छन् । यससंगै कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ वटा पुगेको छ ।

कर्णाली प्रदेशमा माओवादीभित्रै मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि शाही अफ्ठेरोमा परेका हुन । माओवादी केन्द्रका स्थायी समिति सदस्यहरु शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा दुवैको दबावमा मुख्यमन्त्री शाही छन्। उनले बुधवार गरेको मन्त्रीमण्डल विस्तारमा समेत बस्नेत र शाही निकट एक एक सांसदलाई मन्त्री बनाएका छन् । यद्यपी मन्त्री नियुक्त दुवै जना माओवादीभित्र प्रदेशसभामा सिनियर सांसद हुन ।

शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा नेता जर्नादन शर्माका भाई गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेता वस्नेत गृहमन्त्री हुंदा उनका स्वकिय सचिव समेत रहेका सांसद विन्दमान विष्ट र खानेपानी, सिंचाई र जलस्रोत मन्त्रीमा सिता नेपालीलाई नियुक्त गरेका छन् । नेपाली यसअघि समानुपातिकबाट संघिय सांसदमा सदस्य समेत बनेकी थिईन । नेपाली पनि शर्मा निकट नै हुन ।

यसअघि आन्तरिक मामिलामन्त्री रहेका नरेश भण्डारी हालका गृहमन्त्री रामबहादुर थापाको कोटाबाट मन्त्री बनेका थिए । थापा एमालेमा प्रवेश गरेपछि भण्डारी भने माओवादी केन्द्रमै रहेका थिए । उनी यसअघि मुख्यमन्त्रीका दावेदार समेत थिए । भण्डारी पछिल्लो समय नेता बस्नेतसंग निकट रहेको स्रोतको दावी छ । राजीनामा दिने अर्की मन्त्री विमला केसी पनि शर्माकै आफन्त हुन ।

जम्मा ४० सिट रहेको कर्णाली प्रदेशमा आठ वटा मन्त्री बनाइएको छ । संविधान अनुसार बढीमा २० प्रतिशत मन्त्री बनाउन पाउने प्रावधानमा टेक्दै मुख्यमन्त्री शाहीले बुधबार मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका हुन ।

‘भण्डारी र केसीले मन्त्री त्याग गर्न सुरुमा मानेका थिएनन, त्यसमा पनि त्यत्तिकै सांसद मन्त्रीका आकांक्षी थिए । त्यसैले मन्त्रालय फुटाएर पनि उहांले असन्तुष्टि थामथुम पार्नुभएको हो ।’ मुख्यमन्त्री निकट स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

मन्त्री बनाउने आश्वासन पाएर माओवादी केन्द्रमा फर्केका सुर्खेत पुर्वबाट निर्वाचित सांसद ठम्मर विष्टलाई मन्त्री नबनाएपछि उनी असन्तुष्ट बनेका छन् । कर्णाली प्रदेशमा माधव समुहबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कुर्मराज शाही र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा नन्दसिंह बुढा मन्त्री छन् । कांग्रेसले सामाजिक मन्त्रालय पाएको छ । तर, उसले मुख्यमन्त्री शाहीसंग दुई वटा मन्त्रालय मागेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना महामारीको बेला कर्णाली प्रदेशमा मन्त्राल..." A few seconds ago

सम्बन्धित खवर