कविताः ह्याप्पी मदर्स डे – Satabdi News

कविताः ह्याप्पी मदर्स डे

नगेन्द्र सुवेदी (केराबारी, मोरङ्ग)

गणित विषयमा
नेपाल प्रथम भएको उसले
बुझ्न सकेन
आफ्नी आमाको
प्रेम र त्यागको गणित
र लैजान्छु तीर्थ भनेर
छाडिआयो आमालाई
वृद्धाश्रमको गेटैमा
जसरी
आमाले उसलाई
बजार लैजान्छु भनेर
छाड्ने गर्थिन्
विद्यालयको गेटमा ।
त्यतिबेला ऊ
खुब उफ्रन्थ्यो, रुन्थ्यो
यतिबेला आमालाई पनि
खुब रुन मन छ, उफ्रन मन छ
तर देखाउन मन छैन
किनकि पहिला
ऊ अबोध थियो
आमाले बुझेकी थिइन्
अहिले
ऊ लाज पचाउँदै छ
आमाले बुझेकी छिन् ।

आज फेरि बर्सौँपछि
एउटा हातमा
फलफूलको सेतो झोला
अर्को हातमा
कागजातको कालो झोला
हल्लाउँदै हल्लाउँदै
ऊ पसेको छ त्यही गेटभित्र ।
उसलाई
फलफुल दिनु छ आमालाई
फोटो खिच्नु छ आमासँग
ल्याप्चे लिनुछ बुढी आमाका
बुढी औँलाहरूको
अनि हतारिएर घर आएर
पोस्ट्याउनु छ आमासँगको फोटो
वर्षमा एकपटक मात्र
आमाको अनुहार देखिने
फेसबुकको भित्तामा
यस्तो लेखेर –”आमाको मुख हेर्नुभन्दा अगाडि
आमालाई मुख देखाउन लायक बन्नोस्
ह्याप्पी मदर्स डे”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविताः ह्याप्पी मदर्स डे" A few seconds ago

सम्बन्धित खवर