कवि किरण सिवाको तीन शसक्त: प्रेमिल कविताहरु – Satabdi News

कवि किरण सिवाको तीन शसक्त: प्रेमिल कविताहरु

किरण सिवा

१. महसुस…

तिमी नआउनु
तिमी आउदै नआउनु

तिमी आयौं भने त
बिर्सिन सक्छ आशुले परेलीको ठेगाना
जुन बेला बेला अतित बल्झाउन आईरहने गर्छ

तिमी आयौं भने त
तिम्रो सिरमा सजिन गुलाबहरुले मृत्युु चुम्न सक्छ
मेरै हातबाट
जुन प्रेमको नाममा तिमिलाई सिउरीदिन सक्छु

तिमी आयौ भने त
पथ्थर भएको मन पनि पग्लिन सक्छ ,
फिका लाग्न सक्छ बडो कठिनले बिताएका पलहरु ,
ओझेल पर्न सक्छ
मौनताका चिसो बतास सुस्केरामा लिएर
तिम्रै यादमा गुनगुनाउने गीतहरु

तिमी आयौ भने त
यो हावाहरु पनि बिरानो हुने छन
जो हरबखत तिम्रो सुबासहरु छरिरहने गर्छ ,

आयौ भने त
मा,,थि आकाशको जुन पनि मधुर लाग्न सक्छ
जहाँ म तिम्रो सुन्दरताको कल्पना गर्छु

के तिमिले बुझेको छौ ?

तिमी बिना बाच्नु पनि
यी तमाम सुन्दरताहरु स्विकार्नु न रहेछ
कि तिमीले दिएका चोटहरु पनि अर्थपुर्ण बनिदियो ।

२. यस्तो लाग्छ…

तिमिलाई याद हुनु पर्छ
प्रेमको चौतारिमा बसेर तिम्रो मनको पाठशालाबाट
सिकेको हो मैले मायाको अक्षरहरु कोर्न

तिमिलाई यो पनि याद हुनु पर्छ
तिनै मन्दिरमा खाएको कस्सम
जहाँ सुरु भएको हो हाम्रो बिश्वासको खुड्किलाहरु
याद हुनु पर्छ
तिनै बाटोहरुमा हिड्दा हिड्दै हामिले सिकेका हौ
यात्रको परिभाषा

तर खै तिमी
कुन बाटो भएर गयौ कुन्नि
कोल्टे परेको अधबैंसे क्षितिज काटेर

दबाएर सम्बन्धहरुको उचाई
गुमनाम जिन्दगीको छालहरु तैरिदै
तिमी हिडे पछि,
मैले मेरो जीवनको रङ्गहरु इन्द्रेणीलाई छाडिदिए
बिताएका पलहरु आँसुलाई छाडिदिए
उब्जिएका विस्वासहरु सम्झनालाई छाडिदिए

के तिमिलाई थाहा छ?
म पर्खाईको फूल बोकेर समयलाई बिर्सिन सक्छु ,
झोक्क्राई रहेको घाम टेकेर उज्यालाहरु बिर्सिन सक्छु
जुन समातेर मुठ्ठीभरी सुन्दरतालाई बिर्सिन सक्छु

मलाई यत्ती थाहा कि , मैले प्रेम बिर्सनु हुदैन
पर्खाईको अन्तिम क्षणमा तिमी विस्वास बनेर आउने छौ
कुनै दिन तिमि आयौ भने म बुझ्ने छु
प्रेम गर्नेहरु सधै समयको भुमरीमा मात्र अल्झिदैनन्
प्रेम गर्नेहरु पर्खाईको बगैंचामा सम्बन्धको फूल पनि फूलाउने गर्छन ।

३. जो यति बेला छैन…

केही कुरा त
छुटे पनि सुन्दर हुदो रहेछ
लाग्छ फेरि त्यही भैदियोस जो यतिबेला छैन

तिमि गए देखि नै त
आज पनि यस्तो लाग्छ कि
फेरि पनि आकाशबाट
टुट्दै गरेको ताराहरु देख्दा
त्यसै गरि मागौँ एकअर्कालाई

फेरि पनि
ती लाखौ ताराहरु मध्ये
सबै भन्दा चम्किलो तारा चुनौ र
बनाउँ मायाको सबै भन्दा चम्किला यादहरु

यस्तो लाग्छ कि
फेरि पनि नदिको किनारै किनार
बालुवाहरुको क्यान्भासमा
तिम्रा पाईतलाहरुले बनाएको डोबमाथी
मेरा पाईतलाहरु मिसाउ र पच्छ्यौ तिम्रा रहरहरु

फेरि पनि
देउरालीको सबै भन्दा पुरानो बाँसको फेदमा
खिपौ तिम्रो नामसंग जोएको मेरो नाम
र बनाउ ईश्वरलाई भाकेर प्रेमको साक्षी

फेरि पनि
चौतारामा बसेर लेखुँ तिम्रो प्रेमिल कविता
र तिम्लाई नै सुनाउ
जहाँ भवानाहरुको तरंगबाट निस्किएर
तिमि मेरो अंगालोमा बेरिन आउने गर्थेउ ,

ओ प्रेयतमा ,छुटे पछि नै
यी सबै यादहरुको मालिक म एक्लो भएको छु
आखिर केही कुरा त
छुटे पनि सुन्दर हुदो रहेछ
लाग्छ फेरि त्यँही भैदियोस जो यतिबेला छदै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कवि किरण सिवाको तीन शसक्त: प्रेमिल कविताहरु" A few seconds ago

सम्बन्धित खवर