भारतबाट फर्किनेको न परीक्षण, न व्यवस्थापन – Satabdi News

भारतबाट फर्किनेको न परीक्षण, न व्यवस्थापन

१५ वैशाख, धनगढी । छिमेकी मुलुक भारतमा यतिबेला कोरोना भाइरस संक्रमण भयावह बन्दै गएको छ । भारतमा दैनिक साढे तीन लाखभन्दा बढी संक्रमित हुने गरेको तथ्यांक आइरहेको छ । सोही मुलुकबाट कैलालीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाका हुँदै एक हप्तामा ५ हजार ९७ जना नेपाली स्वदेश फर्किए ।

सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा स्थायी घर भएर रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरू दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेपछि रोग र भोकबाट ज्यान जोगाउन धमाधम स्वदेश फर्केका हुन् । यद्यपि सीमा नाकामा गतिलो व्यवस्थापन नहुँदा थप जोखिम बढेको छ । सीमा नाकाबाट संक्रमण पुष्टि भएकाहरूसँगै अन्य स्वस्थ मानिसले पनि गन्तव्यसम्म पुग्न एउटै सवारी साधनको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

संक्रमणको दोस्रो लहर फैलिँदै गर्दा नाकासँग जोडिएको धनगढी उपमहानगरपालिका र प्रदेश सरकारसँग व्यवस्थापनको पर्याप्त समय थियो, तर स्थानीय र प्रदेश सरकार समय हुन्जेल सक्रिय भएनन् । जसको परिणाम संक्रमित र स्वस्थ मानिस एउटै सवारीमा यात्रा गर्न बाध्य छन् भने कतिपय परीक्षण विना गाउँ–गाउँ पुगिरहेका छन् ।

वैशाख ८ देखि १४ गतेसम्म गौरीफन्टा नाका भएर फर्किएका ५ हजारमध्ये ३ हजार ४०० जनाको मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको सीमामा स्थापना गरिएको हेल्थ डेस्कको तथ्यांकमा उल्लेख छ । हेल्थ डेस्कमा खटिएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका स्वास्थ्य सहायक गणेश साउदका अनुसार परीक्षण गरिएकामध्ये झण्डै ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरूलाई धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाइएको बताउँदै स्वास्थ्य सहायक साउदले जनशक्ति र किट अभावका कारण भारतबाट फर्किने सबैको परीक्षण सम्भव नभएको बताए । तर नजिकैको प्रदेश सरकार र स्थानीय सरकार यो अवस्थाको रमिते मात्रै बनिरहेको गुनासो बढेको छ ।

‘नाकामा हामी अहिले १५ जना स्वास्थ्य सेवाका कर्मचारी खटिएका छौं’ साउदले अनलाइनखबरसँग भने, ‘भोक प्यास नभनेर दुई सिफ्टमा काम गर्दा समेत पर्याप्त किट नभएका कारण सबैको परीक्षण सम्भव भएन, भइरहेको छैन । तर पनि हाम्रो प्रयास जारी छ । सकेको गर्ने हो ।’

कहाँ छन् भारतबाट फर्किएका संक्रमित

गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कले वैशाख ८ गतेदेखि १४ गतेसम्म एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका ५०० जनालाई धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाएको थियो । उनीहरूलाई उप–महानगरपालिकाकै एम्बुलेन्समार्फत आइसोलेसनमा पठाइए पनि बुधबारसम्म त्यहाँ ७२ जनालाई मात्र राखिएको छ ।

स्वास्थ्य कार्यालय, कैलालीले व्यवस्थापन गरिरहेको उक्त आइसोलेसनमा अहिले ७२ जना संक्रमित रहेको धनगढी उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अन्य संक्रमितलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर होम आइसोलेसनमै बस्ने गरी पठाइएको बताए ।

प्रहरी थोरै हुँदा संक्रमित र परीक्षण नगरेका एउटै गाडीमा गाउँतिर

बुधबार बिहान गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेहरूको लामै लाइन देख्न सकिन्थ्यो । भारतीय एसएसबीको क्याम्प नजिकै नेपालतर्फ सशस्त्र प्रहरीले स्थापना गरेको यात्रु सहायता कक्षमा विवरण टिपाउँदै भित्रिरहेकाहरूलाई स्वास्थ्य परीक्षणका लागि नेपाल प्रहरीले हेल्थ डेस्कतर्फ पठाउने काम गरिरहेको थियो ।

प्रहरी सहायक निरीक्षक (सई) सहित डिउटीमा खटिएका पाँच जना प्रहरीलाई भीड व्यवस्थापन गर्न भने मुस्किल परिरहेको थियो । हेल्थ डेस्कतिर पठाइएकाहरू पनि कोही अटो रिक्सा त कोही बस चढ्दै धनगढीतिर हान्निंदै थिए ।

त्यहाँ उपस्थित डोकेबजार चौकीका प्रहरी अधिकारीहरू भने जनशक्ति अभावका कारण भारतबाट फर्किनेहरूको व्यवस्थापन गर्न मुस्किल भइरहेको बताइरहेका थिए । ‘हामीसँग २० जना प्रहरी मात्र हुनुहुन्छ,’ नाकामा खटिएका एक प्रहरीले भने, ‘एक सिफ्टमा पाँच जना खटिंदा पनि अपुग भइरहेको छ । पर्याप्त जनशक्ति नहुँदा समस्या भएको हो ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले सशस्त्र प्रहरीसँगको समन्वयमा भारतबाट फर्किनेहरूको व्यवस्थापन गर्ने काम भइरहेको बताए । उनले एकैपटक धेरै मानिस आएको बेला समस्या भइरहेकाले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था आएमा थपिने बताए ।

तर नाका अव्यवस्थित हुँदा कोरोना संक्रमितसँगै अरू पनि एउटै गाडीमा घर फर्किरहेकाले संक्रमण गाउँ–गाउँसम्म फैलिने जोखिम बढेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

न आइसोलेसन न क्वारेन्टिन : स्थानीय तह र प्रशासन बैठकमै व्यस्त

कैलालीको धनगढी उपमहानगरपालिकाले ११८ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाले १०० जना अटाउने क्षमताको आइसोलेसन निर्माण गरेका छन् । यसबाहेक प्रदेशभर कुनै पनि स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गरेका छैनन् । क्वारेन्टिन अभावमा भारतबाट फर्किनेहरू विना परीक्षण सोझै घर पुग्न थालेपछि संक्रमण गाउँ–गाउँसम्म फैलिने जोखिम बढेको छ । तर स्थानीय निकाय र स्थानीय प्रशासन भने बैठकमै व्यस्त छन् ।

‘आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनका विषयमा छलफल गर्न बैठक बोलाएका थियौं,’ धनगढी उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी उपाध्यायले भने, ‘तर हाम्रा एकजना स्वास्थ्यकर्मीको निधनका कारण बस्न सकेन । अब भोलिलाई सरेको छ । कसरी अगाडि बढ्ने भन्ने विषय सोही बैठकबाट टुङ्गो लाग्छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले भारतबाट फर्किनेहरूलाई अहिले होम क्वारेन्टाइनमै बस्ने गरी सोझै घर पठाइरहेको बताए । ‘उनीहरू सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न सकिएको छैन,’ उनले भने, ‘अहिले वडाहरूमै क्वारेन्टिन व्यवस्थापनका लागि पत्राचार गरिएको छ ।’

पहाडी जिल्लाको अवस्था पनि उस्तै

भारतबाट फर्किनेहरूको व्यवस्थापनमा सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीय तह र स्थानीय प्रशासन मूकदर्शक बनेका छन् । आइसोलेसन र क्वारेन्टाइनविहीन रहेका पहाडी जिल्लामा त्यसको व्यवस्थापनमा खासै ध्यान दिन नसकेको पाइएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भारतबाट फर्किनेहरूको व्यवस्थापनको काम स्थानीय तहले गरिरहेको बताए । उनले बढ्दो संकटलाई ध्यानमा राखेर आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गर्न बिहीबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक डाकिएको जानकारी दिए ।

बझाङ, अछाम, बाजुरालगायत पहाडी जिल्लामा पनि आइसोलेसन र क्वारेन्टिन अभावमा संक्रमितहरूलाई होम आइसोलेसनमै पठाउन थालिएको छ ।

कैलालीका सिडिओ भन्छन् : आइसोलेसन र क्वारेन्टिन स्थापना भएको जानकारी छैन

कैलालीका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले स्थानीय तहलाई आइसोलेसन र क्वारेन्टिन स्थापना गर्न पत्राचार गरिएको जानकारी दिए । ‘पालिकाहरूलाई हामीले लेखेर पठाएका छौं । तर हामीले स्थापना गरेका छौं भनेर जानकारी आएको छैन,’ प्रजिअ रिजालले भने, ‘भोलिदेखि निषेधाज्ञा भएकाले भारतबाट फर्किनेहरूलाई कसरी व्यवस्थापन गर्छन् सो विषयमा जानकारी लिने काम भइरहेको छ ।’

सुदूरपश्चिममा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेका बेला आइसोलेसन र क्वारेन्टिन व्यवस्थापन नभएपछि समुदायस्तरमा संक्रमण फैलिए विकराल अवस्था सिर्जना हुने भएकाले सचेत रहन स्वास्थ्य अधिकारीहरूले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतबाट फर्किनेको न परीक्षण, न व्यवस्थापन" A few seconds ago

सम्बन्धित खवर