एमालेले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरुद्ध : सांसदको पीसीआर परीक्षण माग – Satabdi News

एमालेले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरुद्ध : सांसदको पीसीआर परीक्षण माग

१४ वैशाख २०७८, मंगलबार। सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने सांसद राजीव पहारीले बताए ।

विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले कुरा राख्न भनेपछि सांसद पहरीले कोरोना संकटमा पीसीआर परीक्षण नगरी बैठक बस्न नहुने बताए ।

सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरे । एमालेका सांसदले फेरि मानेनन् ।

प्रदेश प्रमुखले अधिवेशन डाकेकाले आफूले त्यसलाई रोक्न नमिल्ने सभामुखले बताए । सभामुख अधिकारीले सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेका थिए । एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख अधिकारीले १८ मिनेटका लागि बैठक स्थगित गरेका छन् । सरकारका मन्त्रीबाहेक अरु सांसदले उठेर विरोध गरेका थिए ।

जनमोर्चाले पनि साथ दिने विश्वास दिलाएपछि कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराउने थाहा पाएपछि वैशाख १ गते मध्यरातमा मुख्यमन्त्रीले अधिवेशन अन्त्य गराएका थिए । मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

वैशाख २ गते २८ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ गते विशेष अधिवेशन बोलाएका थिए ।

गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छ । एमालेका २७ सांसद छन् ।

सोमबार एमालेकै लहरमा बसेका स्वतन्त्र सांसद दीपक मनाङेले बस्ने छुट्टै ठाउँ मागेपछि मंगलबारदेखि त्यसरी नै व्यवस्था गरिएको छ । उनले जनमोर्चाले जता मत हाल्न उतै उभिने बताएका छन् ।

कांग्रेस, माओवादी र जसपाले अविश्वासको प्रस्तावमा चलखेल हुन नदिन रिसोर्टमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमालेले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरुद्ध : ..." A few seconds ago

सम्बन्धित खवर