फेरि उभियो धरहरा – Satabdi News

फेरि उभियो धरहरा

५ वैशाख, काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको पुरानो धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धमाधम काम चलिहरहेको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि श्रमिकहरुलाई काम भ्याई-नभ्याई भएको छ ।

नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार प्लास्टर सकाउने, रंग लगाउने र बत्ती जोड्ने काम भइरहेका छन् । गजुर पनि राखिएको छ । धरहराको फेदमा सिँढी बनाउने काम जारी नै छ ।

भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ । अहिले भने सिसाभित्र हालिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फेरि उभियो धरहरा" A few seconds ago

सम्बन्धित खवर