केपी ओली नसुध्रिए एक भएर जाने आधार छैन : नेता नेपाल  – Satabdi News

केपी ओली नसुध्रिए एक भएर जाने आधार छैन : नेता नेपाल 

 

वि.सं २०७८ बैशाख ३ शुक्रबार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली सुध्रने छाँटकाँट नभएको बताएका छन् । शुक्रबार झापाको बिर्तामोडमा एमाले समानान्तर कमिटीको घोषणा गर्दै नेता नेपालले भने, ‘केपी ओली सुध्रिएलान् जस्तो लाग्दैन । झापामा धामी, झाँक्री वा मोटिभेटर छन् भने पठाउनुहोला,’ उनले भने, ‘कस्ता–कस्तासँग त मिलियो । उहाँ सच्चिनुभयो भने मिलिन्छ ।’

ओली झुटको खेती गर्न सिपालु भएको बताए । ओलीले झुटको प्रचार गर्न समूह नै बनाएको आरोप लगाए  । ‘उहाँ झुटको खेती गर्न सिपालु हुनुहुन्छ । त्यसका लागि केही व्यक्ति राखेर साइबर स्याल बनाउनुभएको छ,’ वरिष्ठ नेता नेपालले भने, ‘उहाँका कारण पार्टी र आन्दोलन समाप्त हुने दिशामा गयो ।’

उनले प्रधानमन्त्री ओली २ जेठ ०७५ मै फर्किए मिल्न सकिने बताए । पार्टी एक हुनका लागि ओलीले २८ फागुनको बैठकबाट पदाधिकारी खारेज गर्ने निर्णय र विधान संशोधन गरेर २३ जनालाई मनोनीत गर्ने निर्णय फिर्ता लिनुपर्ने उनले बताए । तर, आफूहरूले पुरानो कुरा बिर्सेर नयाँ ढंगबाट अघि बढ्न प्रस्ताव गर्दा पनि ओली त्यसको पक्षमा नरहेको जिकिर गरे ।

‘ओलीले २८ फागुनको निर्णय सच्याए हामी मिल्न तयार छौँ । उहाँको मानसिकता विरोधीलाई ठेगान लगाउने छ । उहाँ आलोचना सुन्न सुक्नुहुन्न  आलोचना गर्नेलाई पत्तासाफ गर्न लाग्नुहुन्छ,’ उनले भने, ‘अध्यक्ष र महासचिव पद राखेर उहाँको गुटको भेलाले अरू खारेज गरेछ । अध्यक्ष र महासचिव पनि एमालेको विधानअनुसार नै बनेको हो । अनि त्यो राख्ने अरू खारेज गर्ने ? यो कस्तो विभेद हो ? एमालेको विधानअनुसार महाधिवेशनबाट निर्वाचित भएकालाई अर्को महाधिवेशनसम्म हटाउन पाइँदैन ।’

प्रधानमन्त्री ओली विधि र विधानअनुसार नचलेको आरोप लगाए । आफू अल्पमतमा पर्ने भएपछि पदाधिकारी खारेज गरेर आफूखुसी केन्द्रीय समितिमा मनाेनीत गरेको उनको आरोप छ । ओलीले पार्टीभित्र ‘एस म्यान’ खोजेको आरोप लगाए । ‘उहाँ बहुमत पुर्‍याउन सीमा नाग्नुहुन्छ । सबै अधिकार हातमा लिनुहुन्छ । माधव नेपालले अपराध गरे रे ! विधि र विधानसँग नचल्ने केपी ओली । अपराध गर्ने केपी ओली, आरोप हामीलाई ?’ उनले भने, ‘केपी ओलीले आन्दोलन र संगठन पनि बनाएका हाेइनन् ।’

उनले प्रधानमन्त्री ओलीले ‘भजन मण्डली’ बनाउन खोजेको आरोप लगाए । तर, त्यहाँ जान कम्युनिस्ट पार्टीका कार्यकर्तालाई स्वाभिमानले नदिने उनको भनाइ थियो । ‘हामी अपमान र अन्याय सहँदैनौँ,’ उनी भन्छन्, ‘कम्युनिस्ट पार्टीमा विधि र विधान प्रधान हुन्छ । नेता गौढ हुन्छ ।’ प्रधानमन्त्री ओली पद जोगाउन जे पनि गर्न तयार भएको उनको आरोप छ । ‘ओली एक नम्बरका खेलाडी हुन्,’ उनी भन्छन्, ‘पद जोगाउन जे पनि गर्छन् । पार्टी राम्ररी चलाउन सक्दैनन् । पद जोगाउन अरूसँग हारगुहार गर्छन् ।’

प्रधानमन्त्री ओली र उनको व्यवहारसँग कोही पनि प्रभावित हुन नसक्ने दाबी गरे । नेता नेपालले ६८ जिल्लामा समिति बनाउँदा देशभर आफूहरूको अवस्था राम्रो रहेका बताए । ओली समूहले आफूहरूको समितिलाई समानान्तर भने पनि मूल पार्टी हुने उनको दाबी छ ।

कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसालले ओलीमा सत्ताका लागि सम्झौता गर्ने र सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति रहेको बताए । ओलीले गरेको कही पनि निर्णय पार्टी कमिटीमा ल्यान नमान्ने गरेको उनको भनाइ थियो । ‘नेकपा हुँदा गत भदौमा हामीले पाँच वर्ष तपाईं नै प्रधानमन्त्री, महाधिवेशनसम्म तपाईं नै अध्यक्ष भनेका थियौँ । तर, सरकारमा महत्त्वपूर्ण निर्णय गर्न स्थायी कमिटीमा ल्याउनुभएका हौँ,’ उनी भन्छन्, ‘तर, उहाँले त्यसो गर्नुभएन । उल्टै संसद् विघटन गर्नुभयो ।’

प्रधानमन्त्री ओलीको व्यक्तिवादी चरित्रले पार्टी तहसनहस भएको बताए । ‘उहाँ (ओली)मा व्यक्तिवादी चरित्र छ । उहाँ म बस्न नपाउने भए कुर्सी नै भाँच्छु भन्नुहुन्छ,’ भुसालले भने, ‘ओलीले जहाँ पनि कि झुट बोल्छन् कि गालीगलाैज गर्छन् । कोही नेपाली आमाले मेरा सन्तान यस्तो जन्मिउन् भन्दैनन् ।’ ओली सत्ताका लागि जे गर्न तयार हुने बताए । ‘सत्ताका लागि ओली जे गर्न तयार छन् । नांगिन, भिड्न पनि तयार छन्,’ उनले भने, ‘ओलीलाई अडान भएको नेता भन्छन् । अडान केलाई लिने ? अरूमा हाेइन सत्ताका लागि जे गर्न तयार हुनुलाई अडान भन्ने हो भने ठीक हो । तर, अरूका लागि हाेइन ।’

उनले प्रधानमन्त्री ओलीका कारण पार्टीमा योगदान नभएको मान्छेलाई चुनावमा टिकट दिनुपरेको बताए । ‘एकजना गायिकालाई टिकट दिन उहाँले एकजना गायिकाको नाममा जिद्दी गर्नुभयो । गायिका पनि जनताको नाममा गीत गाउने हाेइन । गायिकालाई टिकट दिन तीन दिनसम्म किचकिच गर्नुभयो,’ उनले भने, ‘पार्टीलाई बन्धक बनाएपछि फिरौतीबापत टिकट दियौँ ।’

नेपालमा कम्युनिस्ट कार्यकर्ताले झापा आन्दोलनलाई आदर्श मान्ने गरेको बताए । तर, झापा आन्दोलनमा सहभागी ओलीले गद्दारी गरेको उनको टिप्पणी थियो । ‘प्रधानमन्त्रीले झापालाई सुपर जिल्ला भन्ने गरेका छन्,’ उनले भने, ‘अब तपाईंहरूले झापा प्रतिक्रियावादीको सुपर जिल्ला हो कि क्रान्तिकारीको फैसला गर्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "केपी ओली नसुध्रिए एक भएर जाने आधार छैन : नेता न..." A few seconds ago

सम्बन्धित खवर