राजकुमार फिलिपप्रति विश्वका नेताहरूको श्रद्धाञ्जली – Satabdi News

राजकुमार फिलिपप्रति विश्वका नेताहरूको श्रद्धाञ्जली

वि.सं २०७८ बैशाख २ बिहीबार । राजकुमार फिलिप द ड्युक अफ एडिनबराको ९९ वर्षको उमेरमा निधन भएपछि विश्वका नेताहरूबाट श्रद्धाञ्जली र बेलायती राजपरिवारप्रति समवेदना आइरहेको छ । विश्वकै शक्तिशाली राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीदेखि लिएर पूर्वराष्ट्रप्रमुखहरूले विज्ञप्ति निकाली राजकुमारप्रति श्रद्धाञ्जली व्यक्त गरेको बिबिसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले राजकुमार फिलिप एक पुस्ताकै प्रतिनिधित्व गर्ने व्यक्तित्व भएको बताएका छन् ।

मरिसन भन्छन्, ‘उनी एक पुस्ताको प्रतिनिधित्व गर्थे, अब यस्तो पात्र हामीमाझ छैनन् र कहिल्यै हामीले देख्न पाउनेछैनौँ ।’ अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले राजकुमार फिलिप सामान्य नागरिकदेखि शीर्ष नेताहरूलाई समेत हँसाउन सक्ने चरित्र भएका व्यक्ति भएको बताएकी छन् । स्विडेनका राजा कार्ल गुस्ताफले आफू र रानी सिल्भिया फिलिपको निधनबाट गहिरो शोकमा परेको बताएका छन् । विज्ञप्तिमार्फत स्विडेनका राजा कार्लले भने, ‘बेलायतप्रति उनको सेवा हामी सबैका लागि प्रेरणा र अनुकरणीय बन्नेछ ।’

स्विडेनको शाही परिवारकी प्रवक्ता मार्गरेटा थोर्गेनले बेलायत र स्विडेन राजपरिवारबीचको सम्बन्ध गहिरो भएको बताएका छन् । यसैगरी, नेदरल्यान्ड्सको राजपरिवारले पनि राजकुमार फिलिपको स्मरण गरेको छ । नेदरल्यान्ड्सको राजपरिवारले जारी गरेको विज्ञप्तिमा बेलायत र युरोपियन जनताले राजकुमार फिलिपलाई कहिल्यै भुल्न नसक्ने बताएको छ ।

‘राजकुमार फिलिपले आफ्नो जीवन बेलायती जनताप्रति नै समर्पित गर्नुभएको छ,’ विज्ञिप्तिमा भनिएको छ, ‘उनको जीवन्त व्यक्तित्वको गहिरो छाप हामीमाझ छ ।’ यसैगरी, बेल्जियमका राजा फिलिपले निजी सन्देशमार्फत शोक जनाएका छन् । उनले महारानी एलिजाबेथसँग अवसर पाउँदा कुराकानी गर्ने बताएका छन् । यसैगरी, अमेरिकाका पूर्वराष्ट्रपति डर्ज डब्लु बुसले राजकुमार फिलिपलाई एक असाधारण व्यक्तित्वका रूपमा चित्रण गरेका छन् ।

बुस भन्छन्, ‘राजकुमार फिलिपले लामो र असाधारण जीवन बिताउनुभयो, उहाँकोे कामप्रतिको समर्पणलाई म सधैँ कदर गर्छु ।’ यसैगरी, क्यानडाका प्रधानमन्त्री जस्टिनले राजकुमार फिलिपले क्यानडाको सामाजिक संरचना विकासमा ठूलो योगदान पुर्‍याएको बताएका छन् । साथै, राजकुमार फिलिपले क्यानडाजस्तै अन्य देशको विकासमा अतुलनीय योगदान पुर्‍याएको जनाए ।

‘राजकुमार फिलिप सधैँ अरूलाई प्रोत्साहित गर्ने व्यक्तित्वमा पर्नुहुन्छ, उहाँ महारानीको जीवनका एक स्तम्भ नै हुनुहुन्थ्यो ।’ यसैगरी, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले महारानी र सम्पूर्ण राजपरिवारप्रति हार्दिक समवेदना प्रकट गरेकी छन् । ‘हजारौँ युवाले जीवन परिवर्तन गरिदिने प्रेरणा फिलिपको पुरस्कारबाट प्राप्त गरेका छन्,’ उनले भनिन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती राजपरिवार र जनताको स्मरण गरेका छन् ।

‘राजकुमार फिलिपले सेनामा काम गरेको र कैयौँ सामुदायिक क्रियाकलापमा अग्रमोर्चामा रहेर काम गर्नुभयो,’ प्रधानमन्त्री मोदीले भनेका छन् । मल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले राजकुमार फिलिपको निधनबाट मर्माहत भएको बताएका छन् । प्रधानमन्त्री रोबर्टले राजकुमार फिलिप माल्टा आएको दिन स्मरणीय भएको बताएका छन् । ‘उहाँ माल्टामा आएको क्षण यति वेला स्मरण भइरहेको छ, माल्टाका जनताले उनको सम्झना गरिरहनेछन्,’ रोबर्टले भनेका छन् ।

शुक्रबार राजकुमार फिलिपको निधनसँगै विश्वका चर्चित समाचार एजेन्सीहरूले प्रमुख समाचार बनाएका छन् । फिलिपको निधनबारेमा विश्वभरिका धेरैजसो टेलिभिजनले विभिन्न प्याकेज नै बनाएका छन् । डेनमार्कको टिभी २ ले महारानी एलिजाबेथ अहिले एक्ली भएको समाचार बनाएको थियो । ‘अहिले ९४ वर्षीय महारानी एलिजाबेथ द्वितीय बेलायतको शाही दरबारमा एक्ली भएकी छन्,’ टिभी २ ले मुख्य हेडिङ बनाएको थियो, ‘उनको जीवनमा रंगहीनजस्तै भएको छ ।’

यसैगरी, अस्ट्रेलियाको विकेन्डले राजकुमार फिलिपको मुख चिप्लिँदा कतिपय अवस्थामा समस्या आउने गरेको बताएको छ । ‘यद्यपि, उनको मुखले प्रायः समस्या निम्त्याउने भए पनि हामी उनलाई सधैँ माया गरिरहन्छौँ,’ विकेन्डले भनेको छ । क्यानडाको ग्लोब तथा मेलले महारानी एलिजाबेथको पथमा राजकुमार फिलिप सधैँ कतव्र्यपथमा हिँडेको प्रतिक्रिया दिएका छन् । यसैगरी, जर्मन डाई बेल्टले राजकुमार फिलिपप्रति व्यंग्यात्मक भाषा प्रयोग गरेको छ ।
बेलायतमा अहिले प्रिमियर लिग चलिरहेको छ । यसबीच, शनिबार हुने खेलअघि खेलाडी तथा क्लबका पदाधिकारीले राजकुमार फिलिपको निधनप्रति शोक जनाएका छन् । लिभरपुल र एस्टोन भिल्लाबीचको महत्वपूर्ण खेलअघि खेलाडी मैदानको मध्यभागमा उभिएर श्रद्धाञ्जली दिएका छन् ।

सेल्टिक र लिभिङस्टनका खेलाडीले पनि खेलअघि मौनधारण गरेका थिए । प्रिमियर लिग मात्र नभएर बेलायतमा सञ्चालन हुने अन्य फुटबल प्रतियोगिताका खेलाडीले पनि यस्तै किसिमले श्रद्धाञ्जली दिएको बिबिसीले जनाएको छ ।

सन् १९६२ मा राजकुमार फिलिप र महारानी एलिजाबेथले माल्टामा केही समय बिताएका थिए । यसैगरी, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले फिलिपलाई सबैका हित निमित्त काम गर्ने व्यक्तिका रूपमा प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजकुमार फिलिपप्रति विश्वका नेताहरूको श्रद्धाञ्जली" A few seconds ago

सम्बन्धित खवर