हिन्दू राजाको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा – Satabdi News

हिन्दू राजाको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा

३१ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएको टिप्पणी गरेका छन् । हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्तमहन्त र साधुहरूलाई सम्बोधन गर्दै पूर्वराजाले धर्म बचाउने र संस्कृतिको रक्षा गर्ने दायित्व आएकोसमेत उल्लेख गरे । तीन पेज लामो सम्बोधनमा उनले कुनै राजनीतिक विषय समावेश गरेनन् ।

‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यता केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो,’ पूर्वराजाले नेपाली भाषामा गरेको सम्बोधनमा भनिएको छ, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ । हाम्रा मठमन्दिर देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा नदीहरूको प्रवाह स्वच्छ पार्नु छ ।’

भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा पूर्वराजा शाहलाई हिन्दू सम्राटको हैसियतमा सहभागी गराइएको छ । कुम्भमेलाको आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले उनलाई नेपाल नरेश, हिन्दू सम्राट, हिन्दू राजाको हैसियतमा निमन्त्रणा पठाएका थिए । स्वागत समारोहमा हिन्दू सम्राटको हैसियतमा सम्बोधन गरेका ज्ञानेन्द्रले महाकुम्भ मेलामा आमन्त्रित गरेकालाई धन्यवाद दिए ।

पूर्वराजा शाहले जल, स्थल र आकाशलाई विषाक्त बनाउँदै लगिएको अहिलेको प्रदूषणयुक्त विश्वलाई अमृतमय बनाउन कुम्भ मेलाको औचित्य रहेको पनि उल्लेख गरे । ‘भारत वर्ष, हाम्रो आर्यावर्त र भरतखण्ड, यो भूखण्ड–हाम्रा यी हिमशृंखला, हाम्रा यी अनेकौँ नदीको महत्व महान् छ,’ पूर्वराजाले भनेका छन्, ‘हजारौँ वर्षअघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्वमै बेजोड छ ।’

शाही स्नान गराउने तयारी
आयोजकका अनुसार सोमबार हरिद्वारस्थित गंगा नदीमा बेग्लै रथमा सवार गराएर पूर्वराजा शाहलाई शाही स्नान गराउने तयारी छ । शाही स्नानअन्तर्गत पहिलो स्नान गिरीले गर्नेछन् भने दोस्रो स्नान पूर्वराजा शाहले गर्नेछन् । पूर्वराजालाई महाकुम्भ मेला २०२१ विशेष समितिका तर्फबाट गिरीले १० चैतमा निमन्त्रणापत्र पठाएका थिए । उनले नेपाली जनताको कल्याणका लागि महाकुम्भ मेलामा स्नानका लागि निमन्त्रणा गरेका थिए ।

गिरीको पत्रमा उनलाई सुरुमा नेपाल नरेश भनेर सम्बोधन गरिएको छ भने त्यसपछि हिन्दू सम्राट र हिन्दू राजा भनिएको छ । गिरीले पूर्वराजा शाहसँग निकट सम्बन्ध रहेका यशवन्त सिंह नेगीमार्फत निमन्त्रणा पठाएका थिए । नेगी काठमाडौं आएरै पूर्वराजालाई निर्मलनिवासमा निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई दिल्लीमा २६ चैतमा नेगीले नै स्वागत गरेर हरिद्वार लगेका छन् । पूर्वराजाको भारत भ्रमणका कुनै पनि कार्यक्रममा नेपाली दूतावास दिल्लीको भूमिका छैन ।

तीन दिन दिल्ली बसेर पूर्वराजा शाह आइतबार बिहान हरिद्वार पुगेका हुन् । पूर्वराजाले तीन दिन भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको चर्चा छ, तर यसको आधिकारिक पुष्टि अहिलेसम्म दुवै पक्षले गरेका छैनन् । पूर्वराजाले कुम्भमेलाको विशेष अतिथिका रूपमा सोमबार साधुसन्तहरूका साथमा शाही स्नान गर्दै छन् । शाही स्नानपछि पूर्वराजा देहरादुन हुँदै दिल्ली जाने कार्यक्रम छ । उनी स्वदेश फर्किने मिति अझै तय छैन ।

पूर्वराजा शाहलाई विश्व हिन्दू महासंघले १७ वर्षअघि (९ माघ ०६० ) विश्व हिन्दू सम्राटको उपाधि दिएको थियो । विश्व हिन्दू सम्राटको उपाधि लिएकोमा शाह आलोचना र विवादमा तानिएका थिए । भारतको कट्टर हिन्दूवादी संगठन विश्व हिन्दू परिषद्लगायत भारतका संघसंस्थाहरूले शाहलाई विश्व हिन्दू सम्राटका रूपमा समर्थन गरेका थिए । पूर्वराजाले तीन वर्षअघि हिन्दू राजाको हैसियतमा उडिसा राज्यस्थित जगन्नाथ पुरीको भ्रमण गरेका थिए भने अहिले हरिद्वार पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हिन्दू राजाको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शा..." A few seconds ago

सम्बन्धित खवर