तीन दलको बैठक विनानिष्कर्ष, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव – Satabdi News

तीन दलको बैठक विनानिष्कर्ष, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव

२७ चैत, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामु आफ्नो नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । त्यसमा माओवादी केन्द्र सकारात्मक भएपनि जसपाले छलफल गर्न समय मागेकाले कुनै सहमति नभएको नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना भएको झण्डै दुई महिनापछि पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको संयुक्त बैठक बसेको थियो । बुढानीलकण्ठस्थित आफ्नै निवासका बसेको बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय जानकारी गराएका थिए । ‘आजको बैठकमा औपचारिक रुपमै प्रस्ताव राख्छौं र तपाईहरुले राख्ने धारणापछि साझा ढंगले एउटा निर्णयमा पुगौं भनेर उहाँले प्रस्ताव राख्नुभयो,’ बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको र राज्यसत्ता कब्जा गर्न खोजेको र यस्ता सरकारले लोकतान्त्रिक चुनाव गराउन नसक्ने भन्दै देउवाले कांग्रेसको नेतृत्वमा तीन दलको सरकार बनाउने प्रस्ताव राखेका थिए ।

जसपा नेताहरुले नयाँ सरकार गठनबारे पार्टीमा छलफल गर्न समय चाहिने बताएका छन् । ‘पहिलो पटक सरकार बनाउने प्रस्ताव आएको छ । हामीले यस विषयमा कुनै छलफल गरेको छैन । अब छलफल गछौं,’ जसपा अध्यक्ष महन्थ ठाकुरले भनेका छन् ।

ठाकुरसहित जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाइ लगायतका मुद्दा पनि रहेको बताए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी भइरहेको र केही विषय कार्यान्वयन प्रक्रियामा गएको ठाकुरले बताएका छन् ।

उनका अनुसार कांग्रेस नेताहरुले पनि मागहरुबारे आफूहरु पनि सकारात्मक रहेको बताएका थिए ।

बैठकमा माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्तावको स्वागत गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको र निरंकुशतातिर जान खोजेकाले नै आफूहरुले संविधान र लोकतन्त्रको रक्षा गर्न चाहने शक्तिहरुको सरकार बनाउन चाहेको भन्दै उनीहरुले कांग्रेसको निर्णयको स्वागत गरेका हुन् । ‘जसपाले छिट्टै निर्णय गर्ने भनेकाले छिट्टै निर्णय होस् भन्ने चाहन्छौं भन्यौं,’ बैठकपछि नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने ।

बैठकमा कांग्रेसका सबै पदाधिकारी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए । जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको अर्को बैठक छिट्टै बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तीन दलको बैठक विनानिष्कर्ष, कांग्रेसले आफ्नो ने..." A few seconds ago

सम्बन्धित खवर