केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन, स्थानीय आक्रोशित – Satabdi News

केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन, स्थानीय आक्रोशित

खनेन्द्र कुमार राई (अर्जुन) बेलबारी । मोरङको केराबारी गाउँपालिकामा फेरि खोला विवाद उत्पन्न भएको छ ।  केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । केराबारीदेखि धरान जोड्ने मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत खदम खोलामा करिब ६४ करोडको लागतमा सम्पन्न हुने गरी पुल निर्माण कार्य सुरु भएतापनि खदम खोला विवाले अवरोध भएको छ । खोला ठेकेदारहरुले नाफालाई मात्र हेरेर पुल निर्माणमा अवरोध पुराउँदै उत्खनन गरेको स्थानीयको गुनासो छ । खोला ठेकेदारहरुले पुल निमार्णमा अवरोध पुग्ने गरी उत्खनन गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । पुल निर्माण कार्य सुरु भएको छेउछाउमा नै उत्खनन कार्य भएको भन्दै आक्रोशित स्थानीयले टिपर तथा मेसिनहरू ५ सय मिटर टाढा हटाएका छन् ।

केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको अनुरोध बोर्ड पनि त्यही स्थानमा दुइवटा राखिएको छ । अनुरोध बोर्डमा पुल बन्ने ठाउँबाट उत्तर दक्षिण दुवैतिर ५००÷५०० मिटर नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने भएकोले उत्तरतर्फ उत्खनन कार्य गर्न निषेध गरिएको उल्लेख छ । तर, नियम विपरीत २५० मिटरको छेउछाउमा नै उत्खनन गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । गाउँपालिका मैन, प्रहरी मूकदर्शक ! आफूहरूले यस विषयमा गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खबर गर्दा उनले चासो नै नदिएर स्थानीयले बताए । प्रहरीसमेत मूकदर्शक बनेको स्थानीयले आरोप लगाउँदै आएको छ । स्थानीय भन्छन्– ‘खदमको अवलोकन गर्दा मापदण्ड विपरीत उत्खनन भएको प्रस्ट देखिन्छ । गाउँपालिकाका अध्यक्ष र प्रहरीलाई समेत यस विषयमा हामीले जानकारी गरायौं । तर, हाम्रो कुरा कसैले पनि वस्ता गरेनन् ।’ यो विवाद भने पहिलोपटक होइन, खदममा उत्खनन कार्यको ठेक्का लागेसँगै विवाद उत्पन्न हुँदै आएको छ ।

स्थानीयले विभिन्न समयमा आन्दोलन गर्दै आएपनि अहिलेसम्म केही सुधार हुन सकेको छैन । ठेकेदार कम्पनी र जनप्रतिनिधिले प्राकृतिक स्रोतको उपयोगभन्दा विनाश गर्ने काम मात्र गरेको स्थानीयको आरोप लगाउँदै आएको छ । मापदण्ड विपरीत खोलामा उत्खनन नहोस् भनेर वर्षैदेखि पटकपटक आन्दोलन गरिरहँदा पनि केही सुधार नआएको भन्दै जनप्रतिनिधि देखी प्रहरी सबैको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता तथा सहयोग रहेको स्थानीयले आरोप लगाएका छन् । अप्रत्यक्ष रूपमा जनप्रतिनिधि तथा प्रहरी संलग्नताको आडलेनै ठेकेदारलाई मापदण्ड विपरीत काम गर्न हौसला मिलिरहेको स्थानीयहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन, स्..." A few seconds ago

सम्बन्धित खवर