‘बञ्जी जम्पिङ’ साहसीहरुको खेल‘ – Satabdi News

‘बञ्जी जम्पिङ’ साहसीहरुको खेल‘

खुट्टामा तन्किने डोरी बाँधेर लगभग २०० मीटर अग्लो पुल बाट खोलामा फालहान्न साच्चिकै साहसको आवश्यकता पर्दछ। हेर्दा आङनै सिरिङ्ग हुने यो खेल प्राचीनकाल देखिनै भानुआटु देशको पेन्टकोस्ट टापुमा धार्मिक परम्पराका रूपमा ल्याण्ड डाइभिङ गरिन्थ्यो । आधुनिक बञ्जी जम्प खेलको सुरुवात सन् १९७९ मा इंग्ल्याण्डको वृष्टोल सहरमा रहेको क्लिफ्टोन सस्पेन्सन ब्रिजमा अक्स्फोर्ड युनिभर्सिटीको साहसिक खेल क्लवका केही सदस्यहरू मिलेर गरेका थिए ।

नेपालमा भने यो खेल सन् २००१ मा न्यूजील्याण्डका नागरिक डेभिड अल्लार्डिस र नेपाली नागरिक विष्णु न्यौपानेले सिन्धुपाल्चोक जिल्लाको उत्तरी भागमा तातोपानी बोर्डरबाट १० कि।मी। तल भोटेकोशी नदीमा ७० मिटर लामो सस्पेन्सन पुल निर्माण गरेर सुरु गरेका हुन । ‘दी लास्ट रिसोर्ट’ले संचालन गरेको नेपालकै पहिलो यो बञ्जी स्पटको उचाई १६० मीटर रहेको छ। दी लास्ट रिसोर्ट बाहेक नेपालमा अन्य २ वटा बञ्जी स्पट रहेका छन् । पोखरामा अवस्थित हाई ग्राउन्ड एड्भेन्चरले संचालन गरेको बञ्जी ७० मीटर अग्लो टावरबाट जम्प गर्न मिल्छ। ग्राउन्ड एड्भेन्चर ले बञ्जी जम्पिङ साथै जिप फ्लायर पनि संचालन गरेको छ । त्यस्तै पर्वत को कुस्मा मा रहेको कालीगण्डकी नदीको सस्पेन्सन पुल बाट गरिने बञ्जी जम्पिङ विश्वकै दोश्रो अग्लो बञ्जी स्पट तथा विश्वकै अग्लो क्यानयोन स्विङमा पर्छ । २२८ मीटर अग्लो पुलबाट गरिने यो बञ्जी जम्पिङ स्पट दी क्लिफ नेपालले संचालन गरेको छ ।

विश्वमै साहसिक खेलका रूपमा लिईने बञ्जी जम्प गर्ने निकै लामो समय अगाडिदेखिको चाहनालाई पुरा गर्न हामी दी लास्ट रिसोर्ट भोटेकोशी जाने निधो गर्यौँ । ई–सेवाबाट नै टिकट काट्न मिल्ने थाहा पाएपछि सन् २०२१ जनवरी १ तारीखको २ वटा बञ्जी जम्पिङको टिकट अनलाइन बूक गरेर ऋषि पोखरेल र म बिहान ८ बजे काठमाडौंवाट भोटेकोशी तिर लाग्यौँ । पौष महिनाको चिसो हावाले शरीर सेलाइरहँदा मनमा भने जोस र उत्साह थपिँदै थियो ।

काठमाडौंबाट धुलिखेल दोलालघाट सुकुटे हुँदै अरनिको हाइवे ९० कि।मि। को यात्रामा आउने घुम्तीहरु पार गर्दै प्राकृतिक सुन्दरतालाई नियाल्दै हामी दिउँसो १२ बजे ‘दी लास्ट रिसोर्ट’ पुग्यौँ । भोटेकोशीमा बञ्जी जम्प गराउने सस्पेन्सन पुल अरनिको हाइवेको छेवैमा रहेछ त्यो पुल तरेपछि पुलको मुखैमा रहेछ ‘दी लास्ट रिसोर्ट’ । जैविक विविधतालाई ख्याल गरेर बनाइएको त्यो रिसोर्ट अत्यन्त सुन्दर र उच्च गुणस्तरको सेवा दिने रहेछ । बिहानको खाना त्यही खायौँ। अलिकति महंगो भएपनि त्यहाँको नेपाली थाली सेट एकदमै स्वादिष्ट थियो ।

कोरोना महामारी भन्दा अगाडि धेरै भीड र विदेशी पर्यटकहरु पनि धेरै आउने ठाउँ भए पनि कोरोनाको कारण खासै भीड नभएको हुनाले खाना खाइसके लगत्तै बञ्जी जम्प गर्ने हाम्रो पालो थियो। जब त्यहाँका गाइडले हामीलाई बन्जीका नियमहरू तथा जम्प गर्ने तरिका तथा सुरक्षाका उपायहरू सिकाउनथाले तब मुटुको ढुकढुकी अलिबढेजस्तो र डर लागेकोजस्तो महसुस हुनथाल्यो। आफ्नो ध्यानलाई डरबाट हटाएर गाइडको निर्देशनमा फोकस गरें। निर्देशन सुनिसकेर हामी पुलमा गयौं त्यहाँ मान्छेको तौल अनुसार डोरी बदल्नुपर्ने हुनाले विभिन्न तौल समूहमा विभाजन गरियो। मनमा अलिकति डर र धेरैनै उत्साहका साथ अरूको जम्पको मज्जा लिँदै आफ्नु पालो केहीबेर कुरेपछि मेरो जम्प गर्ने पालो आयो र खुट्टामा डोरी बाँध्न थालियो ।

कोरोनाले गुम्सिएको २०२० लाई बिर्सेर २०२१ को पहिलोदिन नै केही साहसी कामबाट सुरुगर्ने जोसले भोटेकोशी पुगेको म जब खुट्टामा डोरी बाँधेर पुलको मुखमा उभिएँ तब मेरा जोस र उत्साह सबै हराए १६० मीटर तल भोटेकोशी नदी आफ्नै वेगमा बगिरहेको थियो जब त्याबाट तल हेरेँ १ मनले त हैन पछाडि सर भन्यो खुट्टा कामेको महसुस भयो, पछाडिबाट गाइडले हौसला प्रदान गरिरहँदा केही साहस बटुलेर लामो सास तानेर जब पुलबाट तल फालहाने त्यो तल पुग्न लाग्ने ५ सेकेण्ड समय जिन्दगीकै सबैभन्दा अविस्मरणीय समय बन्यो जब म तल तिर झरिरहेको थिए आफूलाई एकदम स्वतन्त्र महसुस गरिरहेको थिए एकदम ठूलो स्वरले कराउन चाहन्थे तर आवाज निकाल्न सकिन ।

तल पुगेर वाउन्स हुनथालेपछि मेरो गुम्सिएको आवाज एक्कासी बाहिर निस्क्यो चट्टानमा ठोकिएर आएको आफ्नो आवाजको इको हावामा चमेरा जसरी झुण्डिएर सुन्दा मात्र होसमा आएको महसुस गरे खुट्टाको लक खोलेर र मलाइ माथी तान्न पठाइएको डोरी कम्मरमा वाधेँ। डोरीले तानेर जब म फेरि पुलमा आए २०२० मा भएका जतिपनि पीडा तनाव र दुःखहरुलाई आफूसँगै भोटेकोशीमा खसाएर नयाँ जोस उत्साह र उमङ्गका लहरहरू साथमा लिएर आएको महसुस गर्न थालेँ। बञ्जी जम्प गरेर आत्मविश्वास बढेको महसुस गरे। मेरो पालो सकिएको केहीबेरमा ऋषिको जम्प गर्ने पालो आयो। केही डर मनमा भए पनि उसले साहसका साथ जम्प गर्यो ।

‘दी लास्ट रिसोर्ट’मा बञ्जी, क्यानयोन स्विङ, हिडन क्यानयोन, राफ्टिङ जस्ता साहसिक पर्यटकीय खेल खेल्न मिल्ने साथै रात पनि रिसोर्ट मै बिताउन मिल्ने प्याकेजहरु भए पनि हाम्रो त्यहाँ बञ्जीको मात्र बुकिङ हुनाले जम्प सकेर त्यहाँबाट फर्क्यिौँ। त्यो रात हामी ‘दी लास्ट रिसोर्ट’बाट २० कि।मी। तल सुनकोशी नदीको किनारामा अर्को एड्भेन्चर रिसोर्ट सुकुटे बीच क्याम्प इक्वेटर एक्सपेडीसन्मा वितायौँ।

काठमाडौंको कोलाहललाई बिर्सेर १ रातको लागि प्रकृतीको काखमा रमाउन चाहनेहरू तथा व्हाइट वाटर राफ्टिङ गर्नेहरूको लागि काठमाडौंबाट उत्तम गन्तव्य हो सुकुटे। त्यहाँको फ्रीडोम स्पोर्ट्स मन पर्नेहरुका लागि बनाइएका भलिबल कोर्ट ,पूल , टेबलटेनिस , स्वीमिङ पुल र त्यहाँको टेन्ट को सुताई अनि साँझमा हुने डिजे म्युजिकले त्यहाँको माहोल एकदमै रमाइलो बनाएको छ। वान नाईट आउटलाई टार्गेट गरेर बनाइएकोले एकदमै सस्तो प्याकेजमा सबैखाले सुविधा पाइने भएर प्राय सधैं भिड्नै हुनेगर्छ। भोलिपल्ट बिहान सुकुटेमै खाना खाएर हामी काठमाडौं फर्कियौँ। यो २ दिने यात्रा र एक साहसिक जम्प ले मेरो आत्मबल र कामप्रतिको लगाव बढाएको छ।

विश्वभरिनै पछिल्लो समयमा साहसिक पर्यटनमा रुचि रख्ने युवाहरुको संख्या दिनदिनै बढ्दैगइरहेको छ। सामाजिक सञ्जालहरुले झनै यस्ता गन्त्यव्यहरुको प्रचारप्रसार र विज्ञापनमा ठूलो टेवा पुर्याएको छ। नेपाल प्राकृतीक हिसाबले एक हिमाल र पहाडको देश हो। साहसिक पर्यटनको लागि प्रचुर सम्भावना बोकेको विश्वकै उत्कृष्ट मध्येको एक गन्तव्य हो । भौतिक पू्वाधारहरु संगसगै देशका सबै प्रान्तहरुमा जैविक विविधताले भरिपूर्ण तथा बञ्जी, राफ्टिङ्ग, पराग्लाडीइङ्ग, जिप फ्लाएर, माउन्टेन साईकलिङ्ग, रक क्लाइम्बिङ्ग जस्ता साहसिक खेलहरु सहितका एड्भेन्चर रिसोर्टहरुको स्थापना गर्न सकेमा नेपालको पर्यटकीय क्षेत्रको विकासमा कोशेढुंगा साबित हुन सक्छ। साहसिक पर्यटनको सम्भाव्यता अध्ययन अनुसन्धान र विकासमा नेपाल सरकार निजी क्षेत्र पर्यटन व्यवसायी तथा सबै सरोकार वालाहरुको ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘बञ्जी जम्पिङ’ साहसीहरुको खेल‘" A few seconds ago

सम्बन्धित खवर