दमकमा धिमाल फुड फेष्टिभल सुरु – Satabdi News

दमकमा धिमाल फुड फेष्टिभल सुरु

माघ २७, दमक । धिमाल समुदायको खाद्य परिकारको प्रवर्धन र संस्कृतिको संरक्षण गर्न भन्दै मंगलबारदेखि झापाको दमकमा ‘धिमाल फुड फेस्टिभल’ शुरू भएको छ ।

‘संस्कृति, मौलिकता र स्वस्थ्य खाना’ भन्ने नारासहित धिमाल जातीय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्धनका लागि दमकमा ‘चिचिरी–गेन्द्रो दिवस’ अर्थात धिमाल फुड फेस्टिभल शुरू भएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले फेष्टिवल उद्घाटन गरेका हुन्।

कार्कीले मौलिकताको संरक्षण र आर्थिक समृद्धिका लागि पर्यटन सबैभन्दा सहयोगी पक्ष भएको बताए।

उनले कोरोना भाईरसको महामारीबाट आक्रान्त बनेको नेपालको पर्यटन क्षेत्र संकुचित बनेको समयमा यस्तो कार्यक्रमले संस्कृति संरक्षण र आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए।

फेस्टिभल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेस्टिभलमा २० वटा विभिन्न खानाका परिकारका स्टल छन्। ती स्टलमा जातीय खानाहरू राखिएको छ।

फेस्टिभलमा धिमाल समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिईएको छ। चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो। यीनै खाद्य परिकारको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रीय सदस्य अजितकुमार धिमालले जानकारी दिए।

चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ। खास गरि विवाह गरेकी चेली माईत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गर्छन्। माईत आएकी चेली तथा ज्वाईँलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ। गेन्द्रो सोही चामलको पिठोबाट पातमा पकाइन्छ।

धिमाल समुदायका विभिन्न खाद्य परिकारको संरक्षण तथा प्रवर्धन गर्ने फेस्टिभलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताए।

धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृतिबारे जानकारी गराउन फेस्टिभल सहयोगी हुने उनको भनाई छ।

कार्यक्रमलाई संगीतमय बनाउन राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहने केन्द्रका महासचिव मात्रिका धिमालले बताए।

फेस्टिभलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले बताए।

दमक नगरपालिकाको विशेष सहयोगमा चलेको फेस्टिभललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन्।

झापा र मोरङमा सघन तथा सुनसरीका केही क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङको पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन्।

२०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, आदिबासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजुपुरीया लगायतका वक्ताले सवै जाति तथा समुदायको संस्कृति संरक्षणका लागि तिनै तहका सरकारहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।

फेस्टिबल फागुन १ गते सम्म चल्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दमकमा धिमाल फुड फेष्टिभल सुरु" A few seconds ago

सम्बन्धित खवर