पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : चेम्जोङ – Satabdi News

पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : चेम्जोङ

इटहरी। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाउनु भएकाे छ ।

शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व मन्त्री चेम्जोङले नेकपा पार्टी सत्ता सन्चालनमा असफल भएसँगै आन्तरिक पार्टी समिकरणमा समेत असफल भैसकेको दावी गर्नु भएकाे हाे । भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओली सरकारले भ्रष्टाचार र कमिसनको खेलमा अन्तर्राष्ट्रियस्तरमै रेकर्ड बनाएको भन्दै चेम्जोङले सरकारको आलोचना समेत गर्नुभयाे ।

अब पार्टी समायोजन प्रकृया सकिए लगत्तै हामी भ्रष्ट ओली सरकार विरुद्ध आन्दोलनमा जाने समेत उहाँले बताउनुभयाे । हिजोका दिनमा कांग्रेस र कम्युनिष्टको विकल्प नरहे पनि अब मुलुकको लागि नयाँ विकल्पका रूपमा जसपा अघि आएको चेम्जोङले जिकिर गर्नुभयाे । सुशासन, विभेदको अन्त्य, पहिचानको प्रत्याभूति र राज्यका सबै अङ्गमा नेपाली समाजको बनोट अनुसारको समावेशी प्रतिनिधित्वको ग्यारेन्टी जसपाकाे मूल लक्ष्य रहेकाे समेत उहाँले बताउनुभयाे । जसपाले १० जोड १ को मुद्दा छोडेको हो त ? भन्ने सन्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चेम्जोङले पार्टीको लक्ष्य १० जोड १ सहितको सङ्घीय प्रदेश ल्याउने नै रहेको स्पष्ट पार्दै संविधान संशोधन गरेर लक्ष्यमा पुग्ने बताउनुभयाे । प्रेस नेपाल, प्रदेश नं. १ का अध्यक्ष फिपराज बेघाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय कार्यकारीणी सदस्य पर्शुराम बस्नेत, केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य दिपक मेन्याङ्बाे, केन्द्रीय सदस्य तथा १ नं. प्रदेश सभाका संसदिय दलका नेता जयराम यादव, उमेश थापा लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : चेम्जोङ" A few seconds ago

सम्बन्धित खवर