मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माण हुने – Satabdi News

मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माण हुने

बेलबारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरु बनाउने घोषणा गरे अनुसार सोमबार मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु शिलान्यास भएको छ।

बेलबारी, पथरीशनिश्चरे र सुनवर्षि नगरपालिका तथा कानेपोखरी, केराबारी, मिक्लाजुङ्ग, जहदा र बुढीगंगा गाउँपालिकामा नयाँ अस्पतालहरु बन्ने जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिएका छन ।

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै तीन वटा यस्ता अस्पतालहरु बन्ने भएका छन् । स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकालको मोरङ क्षेत्र नम्बर ३ सांसद पनि हुन । अस्पताल निर्माणको निर्णय सोही मन्त्रालयले लिएको हो ।

मोरङको निर्वाचन क्षेत्र ३ नंं अन्तर्गत बेलबारी नगरपालिकाको काकुम बुधबारेमा १५ शैया, कानेपोखरी गाउँपालिकामा स्थित बयरवन मा १५ शैया र पथरीशनिश्चरे नगरपालिकामा पनि १५ शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । यस्तै बुढीगंगामा १०, केराबारीमा १५ र सुनवर्षिमा १५ शय्याको अस्पताल बन्ने बताइएको छ । ती अस्पतालहरु दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने बताइएको छ ।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहहरुमा ५ देखि १५ सय्याका अस्पतालहरु स्थापना गर्ने निर्णय गरी कार्यान्वयनमा लैजान लागेको हो ।

सबै स्थानीय तहमा न्यूनतम १५ शय्याको अस्पताल बनाउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो । ती अस्पतालहरुले जिल्ला अस्पताल सरहका सेवा प्रदान गर्ने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले १५ शय्याको अस्पताल निर्माणका लागि करिब १४ करोड र १० शय्याको अस्पताल ९ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । देशभरका ३९६ स्थानीय तहहरुमा सोमबार एकैपटक आधारभूत अस्पतालहरुको शिलान्यास गर्ने कार्यक्रम छ । सबै स्थानीय तहमा प्रमुख वा उपप्रमुखहरुले शिलान्यास गर्नुहुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पथरीशनिश्चरेको लागि तत्काल ३ करोड ३२ लाख र कानेपोखरी गाउँपालिकाको लागि १ करोड रूपैयाँ बजेट निकासा भएको बताइएको छ । अस्पतालका लागि निर्माण हुने भवनको शिलान्यास गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय यसअघि नै गाउँकार्यपालिकाले गरिसकेको गाउँपालिका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असोज १९ गते सबै स्थानीय तहहरुमा पत्राचार भइसकेको छ । अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि साउन २८ गते बसेको मन्त्रीस्तरको बैंठकले १ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय अनुसार रकम निकासा भइसकेको छ । सोमबार शिलन्यास भएलगतै अस्पताल निर्माणको प्रक्रिया अघि बढ्ने र दुई वर्ष भित्रमा अस्पताल निर्माण कार्य पूरा गर्ने सरकारको योजना छ ।

कानेपोखरीमा बन्ने नयाँ आधारभूत अस्पतालमा एक जना मेडिकल अफिसरसहित चारजना चिकित्सक, दुई स्टाफ नर्स, चार अनमीको दरबन्दी सिर्जना हुनेछ । यस्तै ल्याब टेक्निसियन, असिस्टेन्ट, एक्सरे अपरेटर र भ्याक्सिनेटर एक–एक जना रहनेछन् ।

प्राथमिक अस्पतालबाट आधारभूत स्वास्थ्य सेवातर्फ जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्य सेवा प्रदान हुनेछन् । जसमा बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सैं घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुनेछन् ।

कानेपोखरी गाउँपालिकाभित्र तीन वटा स्वास्थ्य चौकी छ । तीन स्वास्थ्य चौकीमध्ये गाउँपालिकाले बयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु न..." A few seconds ago

सम्बन्धित खवर