उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव’ गरिँदै – Satabdi News

उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव’ गरिँदै

 किरात राई लेखक संघले किरात समुदायको महान् चाड उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव–२०७७’ आयोजना गर्ने भएको छ । महोत्सव आगामी पुस ११ र १२ गते गरिनेछ । नेपाली पात्रो अनुसार यसवर्ष साकेला उधौली आगामी पुस १५ गतेदेखि सुरु हुन्छ । संघले महोत्सवमा राई समुदायका कला र साहित्य क्षेत्रका शिखर व्यक्तित्वहरुलाई सहभागी गराउनेछ । सो अवसरमा ‘साकेला कविता प्रतियोगिता’समेत गरिनेछ ।
भर्चुअल प्रविधिमार्फत आयोजना गरिने महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार तथा लेखक भुपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, साहित्यकार राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरुको भूमिका’ र संघका पूर्वअध्यक्ष प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयमा बोल्ने छन् । दोस्रो दिन, मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ विषयमा गहन विश्लेषण गर्नेछन् । दुवै दिन बेलुकी ४ बजेदेखि कार्यक्रम आरम्भ गरिनेछ । दोस्रो दिन साकेला कविता प्रतियोगिताको अन्तिम घोषणासहित महोत्सव समापन गरिनेछ ।
साकेला कविता प्रतियोगितामा भाग लिनका लागि भने संघले ७ बुँदे नियम बनाएको छ । कविता साकेलाको बारेमा मात्र लेख्नुपर्नेछ भने मंसिर २५ गतेभित्रमा संघको इमेलमा पठाइसक्नु पर्नेछ । संघले ३० वटा कविता छनोट गरी अन्तिम चरणको प्रतियोगितामा लानेछ । अन्तिम चरणमा लगिने कविता सम्बन्धित कविले वाचन गरेको भिडियो पुस ५ गतेभित्रमा इमेलमा पठाउनुपर्नेछ । कविता प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेहरुलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण–पत्र, मेडल र पुस्तकहरु पुरस्कारको रुपमा दिइनेछ ।
कविता प्रतियोगिताको पुरस्कारको प्रयोजन वरिष्ठ गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, हाँस्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) र साहित्यकार राजन मुकारुङले गरेका हुन् । यसैगरी गायिका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार समृद्धिको तर्फबाट समेत महोत्सवमा सायरेम्मा गरिनेछ । संघका उपाध्यक्ष बलिराज खम्बुले साकेलालाई साहित्यसँग जोड्ने उदेश्यले साकेला साहित्य महोत्सव आयोजना गर्न लागेको बताए । उनले भने, ‘हामीले यो कार्यक्रम दसैंअघि नै गर्ने तयारी पनि गरेका थियौ । तर दसैको सेरोफेरोमा कार्यक्रम गर्दा दसैंको प्रचार गरेजस्तो हुने भएकाले बरु साकेलालाई साहित्यसँग जोड्नुपर्छ भनेर उधौलीको अवसरमा कार्यक्रम गर्ने निर्णय गरेका हौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव’ गरिँदै" A few seconds ago

सम्बन्धित खवर