के छ प्राबधान ! के मतदान नगर्ने अमेरिकी नागरिकलाई कारवाही हुन्छ ? कुन–कुन देशमा छ अनिवार्य प्रावधान ? – Satabdi News

के छ प्राबधान ! के मतदान नगर्ने अमेरिकी नागरिकलाई कारवाही हुन्छ ? कुन–कुन देशमा छ अनिवार्य प्रावधान ?

कार्तिक १८, बेलबारी । अमेरिकी राष्ट्रपतिको चुनाव आज हुँदैछ । चुनाव अघिका विभिन्न मत सर्वेक्षणहरुले डोनाल्ड ट्रम्पका प्रतिद्वन्दी जो बाइडनलाई प्रतिस्पर्धामा अगाडि देखाएको छ । यस वर्षको अमेरिकी राष्ट्रपतिको चुनावमा हालसम्मकै सबैभन्दा बढी मतदाता उपस्थित हुने अनुमान गरिएको छ । उसो त विगतका केही चुनावदेखि नै अमेरिकामा मतदाताहरुको संख्या क्रमैसँग वृद्धि हुँदै गएको छ । तर के अमेरिकामा उमेर पुगेका हरेक नागरिकले अनिवार्य मतदान गर्नैपछ ? मतदान नगर्नु गैरकानुनी हो वा नगरे कारवाही पनि हुन्छ ?

यसको उत्तर सामान्य छ : अमेरिकामा कुनै पनि स्थानीय वा राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न कानुनी रुपमा अनिवार्य गरिएको छैन । अमेरिकी कानुनले मतदानलाई नागरिकको विशेष अधिकारका रुपमा मान्यता दिएको छ । र, अनिवार्य मतदानको नियम लागू गर्नु भनेको उक्त मान्यताको विरुद्धमा जानु हो । यसको अर्थ, अमेरिकामा मतदान नगर्ने नागरिकलाई कुनै पनि कारवाही गरिँदैन ।

त्यतिमात्र होइन, कुन नागरिकले मतदान गर्यो र कुनले गरेन । मतदान नगर्नुको कारण लगायत कुनै पनि विषयमा छानबिन पनि गरिँदैन । मतदान गर्नु अनिवार्य नभए पनि राष्ट्रको भविष्य निर्धारण गर्ने विषय भएकाले हरेक योग्य व्यक्तिले मतदानमा सहभागी हुनु नै राम्रो मानिन्छ ।

कुन–कुन देशमा गरिएको छ अनिवार्य मतदानको प्रावधान ?

विश्मा हाल २७ वटा देशमा मतदानलाई कानुनी रुपमा अनिवार्य गरिएको छ । उक्त देशहरुमा हरेक योग्य नागरिक अनिवार्य मतदानमा सहभागी बन्नुपर्छ । अजेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया (केही क्षेत्रमा), बेल्जियम, बोलेभिया, बुल्गेरिया, ब्राजिल, प्रजातान्त्रिक गणतन्त्र कङगो, कोस्टारिका, इक्वेडोर, इजिप्ट र गाबोनमा अनिवार्य मतदानको प्रवधान छ ।

यस्तै, ग्रीस, होन्डुरस, लेबनान, लिस्टेन्स्टाइन, लक्जम्बर्ग, मेक्सिको, नाउरु, पानामा, पाराग्वे, पेरु, सिंगापुर, स्विटजरल्यान्ड (एक क्षेत्र), थाइल्यान्ड, टर्की र उरुग्वेका नागरिकले पनि अनिवार्य मतदानमा सहभागी हुनुपर्छ । कुनै समयमा अनिवार्य मतदानको प्रावधान लागू गरेका चिली, साइप्रस, इटाली, नेदरल्यान्ड र भनेजुयलाले भने हाल उक्त नियम हटाइसकेका छन् ।

अनिवार्य मतदान ठीक हो ?

अनिवार्य मतदानको प्रावधान ठीक हो कि होइन भन्ने विषय भने विवादास्पद नै रहेको छ । यसको पक्षधरहरुले अनिवार्य मतदानले नागरिकलाई राजनीतिक विषयमा जानकार बनाउने र सबै नागरिकको सहभागिताले प्रजातन्त्रलाई झन् सुदृढ बनाउने वकालत गर्दै आएका छन् । तर यसका विपक्षीले भने प्रजातन्त्रको मख्य खम्बाको रुपमा रहेको नागरिक स्वत्रन्त्रताको विरुद्धमा जाने भएकाले यसको विरोध गर्दै आएका छन् ।

मतदाताको उपस्थिति

‘इन्टरनेसनल आइडिया’ को एक अध्ययन अनुसार मतदानलाई अनिवार्य गरिएका देशहरुमा भन्दा अनिवार्य नगरिएका देशमा मतदाताको उपस्थिति औसतमा ७.३७% कम रहेको छ । तर प्रतिशतमा यो सानो देखिने औसतले पनि ठूलो फरक पारेको छ ।

उदाहरणका लागि पीउ रिसर्ज सेन्टरले गरेको एक अध्ययन अनुसार मतदान अनिवार्य गरिएको बेल्जियमको सन् २०१४ को निर्वाचनमा ८७% मतदाताको उपस्थिति थियो, तर अनिवार्य नगरिएको अमेरिकाको सन् २०१६ को निर्वाचनमा ५६% हाराहारीमा मात्र मतदाता उपस्थित थिए ।

अनिवार्य मतदान नगर्नेलाई कस्तो कारवाही हुन्छ ?

मतदान अनिवार्य गरिएका देशका नागरिक मतदानमा सहभागी नभए हरेक देशले फरकफरक ढंकको कारवाही गर्ने गरेका छन् । जस्तै, पाराग्वे, पेरु र लग्जम्बर्गमा ७० वा ७५ वर्ष भन्दा बढी उमेरका नागरिकले मतदान गर्न नचाहेमा छुट दिइएको छ । बेल्जियममा सन् १८९२ देखि मतदानलाई कानुनले नै अनिवार्य गरेको हो । यहाँ मतदानमा अनुपस्थित हुनेले चित्तबुझ्दो स्पष्टीकरण दिनुपर्छ ।

अन्यथा, ३० देखि ६० युरोसम्म जरिवानाको व्यस्था गरिएको छ । साथै, मतदान गर्न योग्य व्यक्तिले १५ वर्षको अन्तरालमा न्यूनतम ४ वटा निर्वाचनमा मतदान नगरेमा १० वर्षका लागि उसको मतदान गर्ने अधिकार खोसिने छ । यस्ता, व्यक्तिलाई बेल्जियममा सार्वजनिक क्षेत्रमा जागिर पाउन मुस्किल पर्छ ।

सन् २००० सम्म ग्रीसले भोट नगर्ने नागरिकलाई पासपोर्ट, सवारी चालक अनुमतिपत्र, लगायत अन्य व्यावसायिक कार्डहरु दिने गरेको थिएन । बोलिभियामा मतदान गरेको प्रमाणस्वरुपः सरकारले मतदातालाई कार्ड दिने गरेको छ । यदि निर्वाचन सकिएको ३ महिनाभित्र यस्तो भोटिङ कार्ड नदेखाएमा उसलाई बैंकबाट तलब निकाल्न रोक लगाइन्छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के छ प्राबधान ! के मतदान नगर्ने अमेरिकी नागरिकल..." A few seconds ago

सम्बन्धित खवर