कविता "प्रतिरोधि आशिर्वाद...!!!" – Satabdi News

कविता “प्रतिरोधि आशिर्वाद…!!!”

बिमन किराती

लुकाएर मनको थैलीभित्रै
मनको आशीष
मुखले मात्र कति गर्नु मंगल कामना ।
जो छलको कैफ़ियत
फल हुन सकेन अन्नत:
यो पटक
जगतमाता (बा आमा)लाई तयारी गर्नु छ
ब्रम्हाण्ड भेदि आर्शिवादको मंगलधुन।

कति दिनु
हाहाकार बॉचेर
लोलोपोतो आशीर्वाद
आफ्नै मजाक…..!!

उसै पनि अमरावतीमा संकट छ ।
सताब्दिऔ सताब्दि बाट।
तेसै पनि देवी देवताहरू त्राईमान छन् युगौ देखि
दु:ख कष्ट विभेद बाट।
घेरेको छ;
रोग,व्याधि,भोक र शोक ले
बेरेको छ:
मुग्लाने संस्कृति र दलाली प्रवृति ले।

अभाव घटाउन
आफ्ना आत्मीय कर्मवीरहरू लाई
दुर देस पठाएर
संतापयुक्त निन्याउरो प्रतिक्षा
कटाई बस्छन् देवालयहरू।
अर्को तीर
रक्तबिजहरू अनेक रङ्को झण्डा बोकेर
अट्टहास गर्दैछन् घुम्छन गाऊँ बस्ती
गर्छन् भडभैलौ मच्चाउछन् विध्वङ्स।
पिट्छन अनेक डङ्का वरपर।
देवपुर बनाई रहेछन् दानव पुर।

चण्डमुण्ड,शुम्भ निशुम्भ
अनेक अवतारधारी दैत्यहरूको
नाङ्गो नाच दृष्टिगोचर हुन्छ,यत्र तत्र।
असुर जत्थाले डँसी रहेछन् स्वर्ग लाई
पारी रहेछन् क्षेतविक्षेत विभंत्स ।।
टुक्र्याई रहेछन् मलकाजी सभ्यताको नाभित्स।

भष्मासुरहरूको अचाक्ली
अहंमको क्रोधाग्नी
जलाउनै पर्ने छ तत्क्षण।
वध गर्नु छ
महिषासुरहरू को
जो दिन दहाडै बालिका देवीहरूको
बलात्कार गर्न गौडा कुरी बस्छन्।

समता मुलक समाजको
महिमा मण्डित गर्ने
असुरहरू उपर
जगाउनू छ धुनी काला रात्रि
गर्नु छ रणसंग्रामको अनुष्ठान
बोलाएर देवी सिद्दिदात्री।

चोमोलुङ्माको काखमा
इतिहासको गोलमाल बीच
सत्ताउन्मातको लाख हेला होचो सहि
मिथकहरूकै वायुपंखि घोडा चढि
मिथकहरूकै दषि प्रमाण ढोगी
तिम्रो कलुषित नियतको
दैत्यपन
जो संहार गर्नै पर्ने छ दानव गण…।।

तेसैले यो पटक को आशिर्वाद
मार्कण्ड्य पुराण कै कसम
जातीय विभेदको खिलाफ रणसंग्राम दिर्धायु
लिङ्गीय विभेदको ख़िलाफ़ रणसंग्राम दिर्धायु

उठ!जाग!
ओ सकल छोरा छोरी हो
ओ चामुण्डा ,ओ वाराही,ओ ईन्द्राणी,ओ वैष्णवी,
ओ महेश्वरी ,ओ कौमारी,
ओ वाह्माणी:ओ महाकाली।
उत्र संग्राम मा,उत्र!
बोकेर शंख चक्र गदा धनुष वाण,ढाल तरबार,बन्चरो,ज्ञान विज्ञान….

असुर हरूले अचाक्ली गरि रहेछन्
कालो सामन्ती ध्रुमलोचन असुर हरू गए।

रातो सामन्ती रक्तबिज असुर हरू आएका छन्
जसरी पनि सामन्ती हरू मालामाल छन्।

लुटिई रहेछ प्राणप्रिय मातृमुभी
तेसैले यो पटक को आशिर्वाद
मातृमुभी दोहनकारी दलाल नष्ट रणसंग्राम दीर्घायु :
सामन्ती समुल नष्ट रणसंग्राम दीर्घायु ::।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “प्रतिरोधि आशिर्वाद…!!!”" A few seconds ago

सम्बन्धित खवर