आधुनिक गाईको निबन्ध ! – Satabdi News

आधुनिक गाईको निबन्ध !


राजन खतिवडा

१. गाई के हो ?

कक्षा पाँच देखि नै गाई राष्ट्रिय जनावर हो । गाईका चार खुट्टा पुच्छर सिङ हुन्छन । यसको रंग सेतो कालो कैलो अझ गाउको भाषामा रातु, माली, कैली खैरी यस्तै रङ्गको स्त्रिकरण गरेर गाईसंग जोडिएका अनेकौ नाम सुनियो र गोठालो जाँदा बोलाईयो पनि । यद्यपि हाल पनि यो अबस्था कायमै छ । आखिर त्यतिबेलाको सिकाईमा उक्त कुरा सापेक्ष नै थियो किन की देश हिन्दुराज्य थियो । गाई सोझो साहाकारी र पछि यसको मल मुत्र दूध सबै कुरा काममा आउँछ भनेर सिकाईयो । अझ दूध त अन्य जनावरको भन्दा पोषिलो हुन्छ । र गाई बहु उपयोगी छ भन्ने सिकाईयो र सिकिईयो पनि । पछि उमेरसंगै ज्ञानको दायरा फराकिलो हुने अबस्था आाउदा कृषि र मुक्तिका लागि पनि गाई काममा आँऊछ भनेर गौ दान गर्ने ठाँऊमा सट्टामा गोदान गरियो । र पछि बुझियो गाई गौ दान बाट जहिले गोदान भयो उति बेला देखिनै गाई बजार संग जोडिएको थियो भनेर, किनकी गाईको सट्टामा पैसाले पनि काम चल्ने भयो र अन्तमा गाईले बजारमा पैसा संग उतिकै / बराबरीको मुल्यमा काम गर्ने हैसियत निर्माण गरिसके पछि गाई आधुनिक भयो । परम्परागत गौदान बाट गाईले बजारका पदचाप पच्छायो । बजारमा माग पुर्ति र मूल्य जसलाई बजारका मुख्य कारक मानिन्छन । माग पुर्ति र मुल्यका बिचको असामन्जस्यता जसले बजारमा निर्माण गरयो २०६२/ ६३ को आन्दोलन पश्चात् देश धर्मनिरपेक्ष भयो र गाई एउटा पेचिलो बिषयबस्तु बन्यो,आखिर गाई के हो ??

२. गाईको सामाजिक किस्सा

गाई सोझो जनावर भएका कारण सोझा सिधा मान्छेलाई आजपनि गाँउघरमा गौ प्राणी नै भन्छन ,भलै आज त्यस्ता मान्छे नभेटिएलान । गाई सोझो हुन्छ भनेर जब सिकिइयो अनि हान्ने गाई देखि मात्र डराउन थालियो । अरू गाई सबै सोझा भए भलै गाईको छोरा गोर देखि अझै पनि यो डर बिधमान छ । सामान्यतया गाईको एऊटा बिशेषता हुन्छ गाईले गहुंत र दूध सामान्यतया जति बेला गएर दुहुयो भने पनि दिन्छ । हिन्दु धर्ममा गाईको दूध र गहुंत जतिबेला पनि चाहिन सक्छ , किनकी मान्छेको जन्म देखि मृत्यु सम्म नै हुन जतिबेला पनि भन्नुको तात्पर्य । त्यस्तै हिन्दु धर्ममा गाईको काँचो दूध र गहुत पवित्र /चोखो मान्ने विश्वास छ । अब बिश्वासलाई किन बिश्वास गर्या भनेर प्रश्न गर्नु बेतुकका कुरा हुन । त्यस्तै गाईको दान बारे समाजमा एऊटा गतिलो कथा छ दान गरेका गाई आखिर कहाँ पुग्छन ??

कहाँ पुग्छन त बैतर्णी तर्नलाई वा अन्य अबसरमा दान गरेका गाई ? जब आफ्ना यजमानले पुरोहितलाई गाई दान गर्छन ती गाई खासै बजारमा उच्च मूल्य पर्ने न्वार , दुधालु रूप रंङ्ग मिलेका हुदैनन् यो सत्य कुरा हो । पुरोहितले अब यजमानले दान गरे पछि लान्न भन्न मिल्दैन लैजान्छन । लैजान्छन के भन्नू घरमै पर्याएर गोठमा बाँधिदिनु पर्छ । न्वार दुधालु गाई कथमं कदापि परेछ भने दुई चार बेत दूध दुहुन्छन अनि पुरोहितले जनजाति समुदायका मान्छेलाई पालेर खानु भनेर सके अलि अलि पैसा लिएर नसके सितैमा बूढो गाई पठाँऊछन । ख्याल गर्नु पर्ने कुरा त्यहि गाई यजमानले सितैमा पठाँऊदा दान हुन्छ अब पुरोहिले जनजाति समुदायलाई पठाँउदा दान हुदैन । अब बूढो गाई कतिन्जेल बाँच्छ र मरेपछि खानेले खान्छन् गाड्नेले गाड्छन यो भयो एक तहको ब्यबस्थापन । गाईको अर्को सामाजिक कथा रोचक छ । यजमान वा परोहित जसका घर गोठमा पनि गाईमर्यो भने त्यसको सद्गगत गरिन्छ र अन्तिममा पुरोहित लगाएर गाईको जुठो सकाईन्छ त्यो पनि अर्को गाईको गऊत द्वारा घरगोठ शुद्ध पारिन्छ । यस कथामा चै गाई आफ्नै गोठमा मरेको हुन्छ र कतिपयले गौ माता नै मानेर छाक छोड्ने, नून छोड्ने र किरीया पनि गर्छन यो कथामा गाई बजार संग भन्दा पनि आस्था र धर्मका बिश्वास संग जोडिन्छ ।

३. बाच्छा बाच्छीका कथा

भबिष्यका गाई गोरू बाच्छा बाच्छी यिनिहरूको पनि रोचक कथा छ आजकाल धेरैजसो काँठ क्षेत्रमा गाईलाई कृतिम गर्भाधारण गराईन्छ । जसलाई हामी नश्ल सुधार भन्छौ । यदि नश्ल सुधार गर्दा बाच्छि जन्मे राम्रो संग पालिन्छ र बाच्छो जन्मे कलिलैमा मारेर पुरिन्छ । कसरी मारिन्छ भन्दा भर्खर जन्मेको बाच्छालाई दुईतिन दिन केही खान दिईदैन र ३ दिन पछि पेटभरी खाएजति बिगौति दूध खुवान्छ बिचरा भर्खर जन्मेको बच्चा दूध पचाउन नसकेर ठहरै हुन्छ । बिशेष त यस्तो कार्य गाई फर्ममा र पेशागत रूपमा पाल्नेले बढी गर्छन यो जुन समुदायले पाले पनि गर्ने यसै हो । सबैले यसो नगर्न पनि सक्छन यहाँ अपवादका कुरा नगरौ । यसो गरेर बाँकि रहेका बाच्छा बाच्छी सडकमा आँउछन पछि कोरली हुँदै गाई, साँढी र बाच्छा,बहर हुँदै गोरु अनि साँढे बन्छन । र बजार संग जोडिन्छन । कोहि गौशाला पुग्छन कोहि दुर्घटनामा पर्छन कोहि मोटा झरिला रातारात सहरका चोक बाट हराँऊछन र पछि सुकुटी बनेर फेरि सहर पस्छन ।

४. वर्तमानमा गाईको बिवाद

वर्तमानको गाईको बिवाद गाईले गरेको बिवाद होईन । गाई खाने र गाई नखाने बिचको बिवाद हो । संबिधानमा गाई खान पाईदैन यो राष्ट्रिय जनावर हो र गाई काटिमारी खाए दण्ड जरिवाना र सजाय तिनै कुरा हुन्छ भनेर उल्लेख छ । साथै अर्को थरी बिवाद त्यसो भनेर हुदैन, देशको संबिधानमा धर्म निरपेक्ष भनेको छ गाई लाई परम्परागत रूपमा खाँदै आएको समुदायले धर्म निरपेक्षताको आडमा काटी मारी खान पाउनु पर्दछ भनेर माग गरि राखेको छ । एउटा धर्मको मात्र पृष्ठपोषण गर्न पाँईदैन एकाथरी भन्छन भने अर्कोथरी हाम्रो धर्ममा पवित्र मानेको कुरा काटेर खान पाईदैन भनेर भनी राख्या छन लाटो /सिधा बुझाई यहि हो साथै खास बिवाद धर्म निरपेक्षता र गाई काटी मारी खाए हुने दण्ड सजाय हुनेकी नहुने भन्ने हो ।

५. बजार संग गाईको सम्बन्ध

हरेक बस्तुको किनबेच हुने ठाँऊलाई हामी बजार भन्छौ । नेपालमा यस्तो अबैध बजार छ त्यो हो गाई अथवा गोरूको मासु बजार । गाई गोरूको मासु काटेर खुलम खुल्ला बेच्न पाईदैन तर सुपरमार्केट हरू र तारे होटलमा दनादन खरिद बिक्री हुन्छ भै राखेको छ । त्यसरी सुपरमार्केट मार्फत आएको मासु उपभोग गर्ने क्षमता सबै उपभोक्ता संग छैन । नेपाल भित्रै बध भएको गाईको मासु न्यून मुल्यको छ । अझ भनौ मूल्य सारै सस्तो छ । मूल्य सस्तो भएपछि माग बढ्नु स्वभाविक हो ।

गाईको कथा बजार संग नजोडिएर हंगामा भएको हो,मूल्य कम भएपछि माग बढ्नु अर्थशास्त्रको / बजारको सिद्धान्त अनुसार कुनै नौलो होईन । बजारमा सस्तो भएर मात्र मूल्य कम भएको भन्ने व्याख्या एकलकाटे व्याख्या हुन सक्छ । बजारको यथार्थ बिश्लेषणमा त गाई गोरूको सुकुटी उच्च माग भएको खानेकुरा बनेको छ हाललाई । र सुकुटी बनाउन गाई अथवा गोरूनै चाहिन्छ । माथि देखि उल्लेखित कुराको एउटा निचोडमा पुग्नु पर्दा नेपालको मासु बजारमा हाल गाईको मासु विभिन्न तबरबाट भित्रिएको छ र देशमै उत्पादन भएको मासु चै गैरकानुनी छ । माग मूल्य पुर्ति र कानुन बिचको घम्सा घम्सीले गाईको मासुको महतालाई उजागर गराई दिएको छ । जुन द्वन्द बजारमा उपभोक्ता र बजारको बिचको कानुनी अड्चन हो ।

निष्कर्ष :
नेपालमा बेला बेला बिबाद र बहसको बिषय हो गाई । गाईका बारे बिभन्न दृष्टिकोण छन । कोहि पशु मान्छन कोहि भगवान मान्छन कोहि मासु त कोहि कृषि कर्मको सहयात्रीत कोहिले गौमाता । हरेक बस्तुको ब्याख्या देश काल परिस्थिति अनुसार फरक हुन्छ ।देश काल परिस्थिति मा अब सामाजिक किर्याकलाय महत्वपुर्ण भै हाल्यो । नेपालमा गाईको ब्याख्यामा समानता छैन , किनकी हिमाली भेगकाले चौरी लाई गाईमान्छ अलि तल पहाडमा लोकल गाई र काँठ तथा तराईमा नश्ल सुधार मार्फत बिकसित गराईएका गाई ।

यी माथि उल्लेखित जुनसुकै पर्जाति पनि कानुनका नजरमा समान छन तर उत्पादन र बजार संगको सम्बन्धका हिसाबमा समान छैनन् । बजार मन्दिर हो अथवा बजारलाई अमुर्त भगवान मान्ने मान्छेले सर्सरती हेर्दा त नेपालमा गाईको दुधको मूल्य छ मासुको त मूल्य छैन नी ?? धर्म पनि बजारको परिसुचक हो अाजको अर्थ बजारमा । नत्र दशै तिहार वा किस्मस ल्होसार जस्ता ठुला चाडवाडमा ब्यापारी किन व्यापार बढ्छ भनेर बिश्वास लिन्छन् ?? र बढ्छ पनि ।

भौतिकबादी दृष्टिकोणले हेर्दा संसारमा नखाने केही छैन । हिन्दु धर्ममा भित्र अघोरी समुदाय छ । यिनिहरू आफैमा शिवका परमउपासक मान्ने गर्छन । यो समुदायका मान्छेले मान्छेकै मल मुत्र पनि छाड्दैन्न । उनिहरूको कोर कुरा फोहोर एउटा बस्तुलाई हेर्ने दृष्टिकोण हो । मानवले दृष्टिकोण कि योग वा साधना द्वारा निर्माण गर्छ कि आफू हुर्के बढेको समुदायको चालचलन वा आफुले सिक्ने उमेरमा सिकेका कुराले भन्ने हो ।

सबै कुरा धर्म संग जोडेर हेर्दा महत्त्वपूर्ण पाटो बजार बारे कहिल्यै चर्चा हुदैन यो गाईको एक्कलकाटे व्याख्या मान्ने पनि छन ।तर यहाँ, मागलाई मूल्य ले लगाम लगाँउथ्यो र पुर्तिले मूल्य निर्धारण गर्न सहयोगी भुमिका खेल्थ्यो तर यसको बिपरीत गाई गोरूको मासु बजारमा माग पुर्ति र मूल्य तिनै कुरालाई कानुनले निर्धारण गर्छ र कानुनलेनै लगाम खिच्छ जुन बजार सिद्धान्त भन्दा फरक अभ्यास हो र,अर्थशास्त्रका नियमलाई चुनौति पनि हो ।

(नोट माथि उल्लेखित बिचार निजी हुन मेल खाएमा संयोग मात्र हुनेछ) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आधुनिक गाईको निबन्ध !" A few seconds ago

सम्बन्धित खवर