गम्बु शेर्पा सहित ठूलो संख्यामा जसपामा प्रवेश – Satabdi News

गम्बु शेर्पा सहित ठूलो संख्यामा जसपामा प्रवेश

 काठमाडौ । शनिबार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका–६ फेदीका गम्बु शेर्पासहित ३५५ जनाभन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस निकट रहेका गम्बु शेर्पा ओखलढुंगाकै प्रभावशाली नेता हुन् । गायक तथा कलाकार समेत रहेका शेर्पा जसपामा प्रवेश गरेपछि अब हुने निर्वाचनमा जसपा विजयी हुने अनुमान गरिएको छ । ओखलढुंगाबाट मात्र २०० जनाभन्दा बढी जसपामा प्रवेश गरेका छन् । ओखलढुंगाबाट जसपामा प्रवेश गर्नेहरु खिजीदेम्बा गाउँपालिकाको बढी छ । यसैगरी सोलुखुम्बु, रामेछाप, दोलखा, काठमाडौं, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङका युवा तथा कार्यकर्ताहरु एकसाथ जसपामा प्रवेश गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य डम्बर खतिवडा लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गरे ।
वरिष्ठ नेता राईले खादा लगाइदिएका थिए भने, अध्यक्ष यादवले सदस्यता पत्र प्रदान गरेका थिए, राजेन्द्र श्रेष्ठले अविर लगाइदिएर स्वागत गरेका थिए । जनता समाजवादी शेर्पा संघ र ओखलढुंगा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको उक्त पार्टी प्रवेश कार्यक्रम निकै भिडभाडयुक्त बनेको थियो । तर कार्यक्रममा कोभिड–१९ बाट बच्नका लागि भौतिक दुरी कायम गर्न आग्रह गरिएको थियो भने सबै सहभागीहरुले मास्क लगाएका थिए । कार्यक्रममा जसपाका अध्यक्ष यादव, वरिष्ठ नेता राई, नेता राजेन्द्र श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
अध्यक्ष यादवले विभिन्न जाति र समुदायको पहिचान नामेट पार्न राज्य नै सयौ वर्षदेखि लागिरहेकोले आफ्नाे अस्तित्व बचाउन पहिचानको आन्दोलनमा लाग्न आग्रह गरे । उनले पहिचानसहितको संघीयताले मात्र नेपालको विविधतालाई सम्बोधन गर्ने बताए । उनले नेपालका सबै जाति र समुदायको भाषिक, सांस्कृतिक पहिचान र माग सम्बोधन गर्न सके मात्र राष्ट्रिय एकता बलियो हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गम्बु शेर्पा सहित ठूलो संख्यामा जसपामा प्रवेश" A few seconds ago

सम्बन्धित खवर