पुस्तक समीक्षाः हरर कविता भित्रको मनोविज्ञान – Satabdi News

पुस्तक समीक्षाः हरर कविता भित्रको मनोविज्ञान

अन्वेश राई थुलुङ्ग

मानिस किन न्यायको सपना देख्न खोज्छ ? बाल्यकालमा मैले हेर्ने फिल्मका हिरोहरु समाजका ‘भिलेन’ हरु सँग संघर्ष गथ्र्यो । ‘लास्ट फाइट’सँगै भिलेन रहित समाजको निर्माण गथ्र्यो । आफु मरेपनि भिलेन रहित समाजको निर्माण गरेरै मथ्र्यो । यद्यपी, वर्षौँसम्म मैले हेर्ने गरेका फिल्म र वास्तविक जीवनबिच भिन्नताहरु पाइरहेँ । कारण, कोहि फिल्ममा देखाएजसरी खुलेआम ‘भिलेन’ थिएन । र कोहि त्यतिको आत्माविश्वासी र रोमान्टिक ‘हिरो’ थिएन । सोच्छु तर किन मानिसले त्यस्तो हिरोको परिकल्पना गरे ?

राजन मुकारुङ्गद्धारा लिखित ‘हाटा जाने अघिल्लो रात’को आवरणमै प्रश्न उठ्छ । ‘हाटा’ हाट हुनुपर्ने टिप्पणी आउँछ । तर कविताभित्रको पात्र मान्दैन । पात्रले बाँच्ने समुदाय मान्दैन । समुदायको लवज मान्दैन । स्थानियता मान्दैन र ‘हाटा’ हाङ्गदिमासँगै फेरी यात्रा गर्छ । वास्तवमा ‘हाटा’ हाट हुनैसक्दैन । नेपाली शब्दकोषले ‘नभेटिएको’ जानकारी गराउँदा समेत । किनकी वर्षौँदेखि जुन लवजले ‘हाटा’ भनेर बनाएको आफ्नो इतिहास छ; कसैको टिप्पणीमा, ‘‘हाट’ मात्र हुन्छ’, भन्ने जब्बरलाई चुनौती दिन्छ ।

संग्रहका केहि कविताहरुः केहि यस्ता कविता छन् जहाँ कवि, ‘पात्रभित्र हिंसालाई डिजाइन गर्छन् ।’ उसको मानसिकताभित्र विद्रोहको प्रक्षेपण गरिदिन्छन् । तिनै कविताहरुभित्र म मात्र एकोहोरिएको छु ।

…देख्छ टेबलमा उहि फाइल
झिक्छ पञ्चिङ्ग मेसिन
प्वाँल पार्न थाल्छ फाइललाई
प्वाँलै प्वाँल हुन्छन् हाकिम र न्यायाधीशको अनुहार फाइलमा ।

हो,हरर कविता लेख्छ कवि ।… (७९)
सोच्छु, कोहि किन हिंसात्मक मनोविज्ञान बोक्ने ‘हरर कविता’ लेखिरहेछ ? कविकै शब्दमा ‘कविताहरुको फौदारी’ । किन फौदारी ?

एक हाइपोथेसिसः नेपालमा एक पुरानो प्रचलित जनविश्वास छ । ‘बिरालोलाई ढोका थुनेर पिट्नु हुन्न ।’ बिरालो मानिसहरुको पाल्तु हो यद्यपी अभर पर्दा आकार सानो भएपनि उसले प्रतिकार गर्नसक्छ । दमनको विरुद्ध प्राणीजगतमा स्वयम शिकार हुने शाकाहारी जनावरहरु समेत हिंसात्मक हुन्छन् । यो शतप्रतिशत प्रमाणित कुरा हो । नत्र कोहि अर्ना हामीले मानेको जंगलको राजा सिंहलाई मार्न उद्धत हुँदैन । हुनसक्छ अपराधको कल्पना आउनुको एक कारण, दमन हो । सायद, कविताका पात्रहरु पितृसत्ता, अव्यवस्थाहरुले थुनिए्र पड्केका हुन् ।

यदि कानुनभन्दा माथि कोहि हुन्छन् भने त्यहाँ न्याय न्याय रहन्न । र ती बेला कविताहरु पनि प्रतिपक्षमा उभिन्छन्उ/भिनुपर्छ । ‘उन्मुक्त पुस्ता’को इलाम यात्राको बसाईमा कवि केवल बिनावीका आवेग दिमागमा दोहोरीरहन्छ, ‘सानो आवाज बोलेर कुनै सत्ताले सिमान्तकृतलाई सुन्नेवाला छैन । सत्ताले सुन्ने आवाज भनेकै आन्दोलनको आवाज हो । त्यहि भएर हामी सडकबाट बोल्छौँ ।’

एक आरोपः ‘कविले कवितामा मानिसहरुको दुःख बेच्छ’ । सोच्छु, के यो गलत हो ? हुनसक्छ, तर यहि तर्कको अर्को आयाम हेर्दा, पुट्लिजर अवार्ड प्राप्त गर्ने फोटोग्राफर ‘निक यट’ले १९७२को अमेरिका–भियतनाम युद्धताका अमेरिकी युद्धजहाजले फ्यालेको नेप्लाम बमको भयावहता, आम मानिसहरुको रुवाईलाई नदेखाएको भए, अमेरिका र भियतनामको युद्ध समाप्त हुन कति समय लाग्थ्यो होला ? मुख्य कुरा के हो भने, कवि÷लेखकले देखाएको रुवाई ढर्रा हो या सामाजिक यथार्थता हो ? अभिनय हो वा सम्बोधन हो ? कविताभित्र चित्रण हुने दुःखहरुमाझ न्याय वा न्यायको आशा भेटिन्छ÷भेटिँदैन ? नेपाली कविताहरुभित्र चित्रित दुःखभित्र पनि बहस गर्न जरुरी छ । जान्न जरुरी छ ।

‘सपना नदेख, सपनाले पिरोल्न सक्छ ।’ संग्रहभित्र मुक्त कमैया (१३), माइला लामा (३८) भित्र चित्रित दुइ पात्रहरु छन् । ‘चुन्नीलाल थारु’ र ‘माइला लामा’ स्वयम । र कविताहरु पढ्दै गर्दा यहि चिनियाँ उखान याद आउँछ । गम्छु, किन डस्यो ? को छ जिम्मेवार ? यस्तोमा उनीहरुले आफुलाई देखाइएको ‘सपनाको जवाफदेहिता’ खोज्न पाउने कि नपाउने ?

…पचास वर्षसम्म जोतेको खेत
खनेको बाँझो
यसैलाई जीवन ठानेको थिएँ मैले
भनेथेँ–
‘गुढ्वक्डाई, आजदेखि यो खेत हामीले कमाउनुपर्दैन रे !
यही होला मुक्ति ।’… (१४)

(चुन्नीलाल) एक शंकाः इतिहासका ‘भुइमान्छेका सानासाना कथाहरु’को अध्ययन भविष्यको लागि आधारसरह रहन्छ । जसले विकासको धरातललाई अझ बलियो बनाउँछ । नेपालमा केहि साल अघि मात्र संघीयता व्यवस्था लागु भएको छ । ‘गाउँ गाउँमा सिहदरबार’ बनेपश्चायत योजना अनि कामहरु भइरहेका छन् । जस्तो आजकल हर वडामा सडक पुगिरहेको छ÷पुग्ने क्रममा छन् । पुराना कृषि सडक नौ÷दश मिटर चौडा बनिरहेछन् । नारा छ ‘कृषकको कृषि उत्पादनको बजारको लागि’ । तर के त्यो कृषककै लागि बनिरहेको हो ?

जिज्ञासाः साठी÷सत्तरी रोपनी जमिन हुनेहरुको चौध÷पन्ध्र रोपनी र सात÷आठ रोपनी हुनेहरुको चार÷पाँच रोपनी मासिदा के भिन्नता छ ? को वा के हो विकास ? विकासले लाभान्वाति हुने वर्ग को हुनेछ यो जान्न अघि नै उत्पादनशील जमिन सडक बनिरहेको बेला हालको समयको ‘नयाँ सिंहदरबारमा नयाँ चुन्नीलाल थारुहरुको जन्म त भइरहेको छैन ?’ हामीले चुन्नीलालको आँखाबाट योजनाहरुलाई हेर्ने कि नहेर्ने ? तर लाग्छ वर्तमान समयमा ‘विकास भइरहेको छ ।’ भन्ने भाष्यले जन्माएको मौनताको भाषा नै विकास प्रेमी नागरिकको नयाँ भाव हो ।

अर्को कविताः एक खिलि चुरोट र एक बट्टा सलाई (२०) जसको निश्कर्ष सयौँ मानिसले यदि स्वास्थ्य र शिक्षा क्षेत्रभित्र रहेको व्यापारीकरण विरुद्ध चुरोट र सलाई सल्काएर विद्यालय र हस्पिटलमा फ्याले भने के होला भन्ने भयानक कल्पना गर्न लगाउँछ ।

एक सम्झनाः ‘समाजको इन्जिनियरिङ्ग’को सन्दर्भमा एकदिन डा. आनन्द शर्माले सुनाउनुभएको प्रसंग, ‘यहिँ काठमाडौँमा केहि कलेजहरु छन् । जो शिक्षकलाई एउटा पिरियड वापत तीन हजार दिन्छन् । एउटा क्लासमा चालिस जना मात्र विद्यार्थी राख्छन् । कलेजले उनीहरुको लागि इ–लाइब्रेरीको पैसा तिरिदिन्छ । त्यति चालिसजनालाई त त्यस शिक्षकले यसै पनि ध्यान दिएर हेर्नसक्छ । अझ एसि, प्रोजेक्टर, भिजिटिङ्ग प्रोफेसर, एसाइन्मेन्ट । राम्रै फिज तिरे भोली गएर को कहाँ जाने ? कहाँ जागिर खाने ? नो टेन्सन । जम्मा सेमेस्टरको पाँच लाख तिरेको भरमा । अब भन सरकारी कलेजको कक्षा जहाँ २०० विद्यार्थीहरु जना छन् । त्यसमाथि पनि कहिले शिक्षक हुँदैन कहिले कक्षा लाग्दैन । बेन्ची, ट्वाइलेट, क्लासको हालत दयनीय हुन्छ । स्रोतसाधन केहि हुँदैन । कसरी गर्छन् तिनीहरुले उनीहरुसँग प्रतिस्पर्धा ?’ र अन्त्यमा भन्नुभयो । ‘सम आर इन्जिनियर्ड सोसियल्ली टु बी एट बटम ।’

देशमा स्वास्थ्य सुविधा सस्तो छैन भन्नुको अर्थ, ती महंगा छन् भन्ने मात्र अर्थ राख्दैन । त्यसको अर्को स्वाभाविक अर्थ ‘धनीले मात्र किन्न सक्ने स्वास्थ्य सुविधा’ भन्ने पनि हुन्छ । राज्यका विपन्नहरु सहयोगको याचना गर्दै भाग्यलाई सराप्दै गर्दा हामीले भाग्यलाई दोष दिनु उचित हुन्छ या प्रश्न गर्नु ? कसले राजनिति गरिरहेछ हाम्रो भाग्यमाथि ?

‘हामी उमेरले बुढा पक्कै भयौँ तर तिमार्ले झन् युवा हुन मानेनौ । प्रौढ पाराका कविता लेख्छौ र समकालिन चेतमाथि अर्घेलो गर्छौ । जानाजान भाग्छौ चेतनासँग ।’ (कविताबारे) मुकारुङ्ग युवाको अर्थ खोज्छन् । ‘फरक आयाम’का अभियान्ता युविर चेम्जोङ्ग कविताहरुको विषयमा भन्छन्, ‘कवितामा समयचेत हुनुपर्छ सर, र हालको समयको माग भनेको सामाजिक न्याय हो । कि कसो ?’ (सँगै वहाँको सान्दार हाँसो ।)

हिसाबचाहिँ जरुर बराबर छ
किनभने
तिमीलाई आफू खोसिने डर छ
उसलाई आफू मेटिने डर छ । (२५)

केहिसमय अगाडी टाइम म्यागेजिनको आवरणमा एक स्वीडेनी किशोरी वातावरण अभियान्ता ग्रेटा थनवर्ग फोटो थियो । सत्ता र शक्तिमा रहेका औधोगिक राष्ट्रहरुका लापरबाहिताको कारण विश्वको वातावरणमा समस्या आएको उनको विचार छ । मैले जोड्न खोजेको कुरा के हो भने युवाले जति नै देशको आर्थिक–सामाजिक स्थितिलाई नबुझ्न चाहेपनि वा ‘बाल’ नदिएपनि अन्ततगोत्वः यहि नै हाम्रो मानवीय सत्य हो । यदि हामीले आज प्रश्न गरेनौँ भने, भोली प्रश्न सोधिने ठाउँमा हुनेछौँ । एक बितिसकेको, इतिहास बनिसकेको पुस्ताहरुको भ्रष्ट कामहरुको प्रवत्ता भएर हामी लाचार भएर उभिएका हुनेछौँ । र हामीसँग देशको बिग्रेको आर्थिक–सामाजिक व्यवस्था स्यहार्दै अड्किनुपर्ने वाध्यता हुनेछ ।

वर्तमान समयमा पुर्वाग्राहि आँखाहरुले समाजमा घटिरहेका भ्रष्टाचार वा अव्यवस्थाहरुलाई देख्दैन वा देख्दा देख्दै पनि नदेखेजस्तो गर्नसक्छ तर उसले यसबाट आउनसक्ने भयावह स्थितिलाई नजरअन्दाज गरेकै भरमा नबाँच्न भने सक्दैन । पित पत्रकारिताको अनलाइन समाचारहरुको लहरा तानेर ‘सब कुरा ठीक छ’ भनेर बाँच्न पनि सकिन्छ, तर कहिलेसम्म ? किन नसोध्ने पुस्तकमाथिको कर बढ्नुको कारण के हो ? देशमा महंगी बढ्नुको कारण के हो ? भु–माफियाहरु किन बढिरहेका छन् ? आदि कुराहरु ?

कविता संग्रहका अधिकांश कविताहरु अव्यवस्थाहरुको प्रतिपक्षमा उभिएका देखिन्छन् । तर हरर कविताहरुले कताकता आक्रामकतालाई मात्र प्रधान बनाएको हो की । यस मानेमा व्यवस्थाहरुसँगको यो चरम अविश्वास अनि आक्रामक मानसिकता फेरी पनि दमन विरुद्धको निश्कर्ष नहुन सक्छ । पाठक हुनुले एक शंका चैँ यो रह्यो, कानुनलाई नै हातमा लिँदा पात्रले पाउने न्याय कस्तो होला ? के कवितामा देखिएका घटनाक्रम प्रयोगात्मक हिसाबले सहि होला ? प्रश्नहरु फेरी पनि बहसमा नै छन् ।

अन्त्यमा, अमेरिकाको हवाई टापूमा जब चाल्र्स डार्विन पुगे । उसले एक शाकाहारी जीवलाई पनि मांसाहारी देखे । त्यो जीव किन मांसाहारी भयो ? के हो यसको कारण उसले घोर अध्ययन गरे र पत्ता लगाए । किनकी त्यहाँको वातावरण नै त्यस्तै थियो । जीवहरुले आफ्नो वातावरण अनुरुप नयाँ जीवन पद्धती ‘एडाप्ट’ गरे ।

अनुभुतिः हाल आएर लाग्न थालेको छ भने एक आलोचकिय चेत जसले सम्भावनालाई मार्गप्रसस्त गथ्र्यो त्यो हामीले बन्द गरिदियौँ । किनकी ठूला मान्छे र आफ्ना मान्छेको जरा काट्नु हुन्न भन्ने पुरानो सामाजिक विश्वासको अनुशरण गर्दै हामी भलाद्मी मान्छे भयौँ । कसैको विरोध नगर्ने, चित्त नदुखाउने मान्छे भयौँ । हो, हामी भलाद्मी भयौँ ।

तर हामी इमान्दार भएनौँ । हामीले इमान्दारीतालाई अपरेसन गरेर फाल्यौँ ।

होस गरौँ हाम्रो इमान्दारीताले हाम्रो समाजलाई हवाई टापु नबनोस् । देशको ‘व्यवस्थाहरुको अश्रुग्यास’ले आममानिसलाई बिरालो नबनाओस् । धुलो नबनाओस् । समाजले न्याय, व्यवस्थाहरुसँग विश्वास गुमाउने स्थिति नबनाओस् । कवितासंग्रह यस्तै चेतावनीहरुको हाटा हो ।

©Anwesh Rai Thulung 2076

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पुस्तक समीक्षाः हरर कविता भित्रको मनोविज्ञान" A few seconds ago

सम्बन्धित खवर