अनिल कोइराला
तिम्रा कुर्कुच्चासरी फाटेका सपना
र तिम्रो सारीको उडेको रंग बोकेर
म परदेश छिरेँथे आमा
तिम्रो हाँसो र प्रियाका आँसु सुम्सुम्याउने
हातहरूलाई थन्काएर हरियो झोलाभित्र ।
आमा !
विदाइमा
मैले हल्लाइरहेको हात मेरो होइन
बाजेले गरिबीको उपहारमा दिएको तमसुकको हो ।
यो मैले खसाइरहेको आँसु मेरो होइन
घरको कच्ची छानोबाट चुहिरहने वर्खाको हो ।
यो मैले गुडारहेको सुटकेशमा
म देशको उपेक्षा र देश गुडाइरहेछु ।
हो आमा, यता त म
पसिना बेचेर
थकान बिर्सेर
निन्द्रा बेचेर
सपना किनिरहेछु ।
कहाँ रहर थियो र मलाई
चटक्क बिर्सेर गाँउघरका साथी
हरियाली वनपाखा छोडि परदेशिने
-चुहिएको छानोले
-अभावको आँखाले
जब जब डामे मेरा अन्तरआत्मा
तब तब न हो मलाई कर्तव्यबोध भएको
तब तब न हो मलाई पुर्खाको इतिहासले गिजाएको
त्यहीँबाट सुरू भयो मेरो
पैतलाको यात्रा
सपनाका गोरेटोहरूमा
जहाँ,मेट्नु थियो गरिबीको इतिहास
त्यसैले त म परदेशथेँ आमा
बचनका धारमा रेटिएर
पठाउन खोज्दैछु लगान
आमा,उता त जमिनदार साँउको ब्याज दिन गनेर जोड्दै होला
म भने साँउको जोगाडमै अल्झिरहेछु
केही याद बोकेर
केही ब्याज बोकेर
आमा, न त यहाँ
पैसा फल्ने रूख छ
न त आँशु पुच्छने मान्छे
यहाँ,त केवल कामको दाम पाईन्छ ।
आज काम-काम भन्दा भन्दै पेलिएको छु
एक सर्को निन्द्राले मेसिन माझ
शरीर शिथिल भएको छ
श्वास रोकिएको छ
हजार सपना मारेका छन्
मेरो शरीरका घाउ भन्दा
हृदयका घाउले सोधिरहेछ प्रश्न
उसका खुसीका किरण किन मास्यौ?
निन्द्रा बेच्न हिँड्दा ,छाप्रोनै निलाम किन पार्यौ
मलाई माफ गरिदेऊ,आमा
तिम्रा फाटेका सारी फेर्ने धोको
धोकोमै सिमित भएको छ ।
प्रियाको गला भर्ने चाहना
चुँडिएको मंगलसूत्रझैँ भएको छ ।
म सपूत भएर पनि कपुत बनेको छु, आफ्नै नजरमा
साहारा दिनुपर्ने हातहरु अचल भएका छन्
हृदयका ढुकढुकी पलभरमै रोकिए
आमा,सपना बुन्न हिँडेको, मृत्युु पो अँगालेछु
अब त साहुले सँधै ढोका ढक्ढकाउछ होला
प्रिय पनि माईती लाग्छिन् होला
आमा, तिमीलाई मैले घर न घाटको बनाएँ है
तिम्रा आँशुको दोषी हुँ म
तिम्रा एकान्तको दोषी हुँ म
तिम्रो मैलो सारी फेरिदिने चाहनाले
उडेर ताराहरुबीच पसेथेँ
दूर देशको चम्किलो शहर ।
तर आमा !
पैसा पनि त हातकै मैला न रहेछ ।
तर हाम्रो गाउँको सुकिलो साहू यो कुरा बुझ्दैन ।
(कबिको ठेगाना: मकवानपुर जिल्ला हेटौंडा -५ )