के तपाई व्यावसायिक सञ्जाल लिंक्डइनमा हुनु हुन्छ ? – Satabdi News

के तपाई व्यावसायिक सञ्जाल लिंक्डइनमा हुनु हुन्छ ?

अर्जुन राई

के तपाईको लिंक्डइन एकाउण्ट छ ?  लकडाउनको बेला फेसबुक, टिव्टर, इन्स्टाग्राम वा टिक टक चलाउँदा चलाउँदै तपाई वाक्क दिक्क पो भईसक्नु भो कि ? वाक्क दिक्क हुनु भा, कुनै नयाँ कुरा सिक्न खोज्दै हुनुहुन्छ र यदि लिंक्डइन एकाउण्ट छैन भने चिन्ता नगर्नु होस् । कसरी एकाउण्ट खोल्ने र त्यहाँ के के फिचर हुन्छ भन्ने बारे यहाँ म चर्चा गर्नेछु । फेसबुक, टिव्टर, इन्स्टाग्राम जस्तै लिंक्डइन एउटा सामाजिक सञ्जाल हो । तर अरु भन्दा यसमा पृथकता के छ भने यो व्यावसायिक सामाजिक सञ्जालको रुपमा रहेकोछ । यसको मतलव लिंक्डइन फोटो, भावना, विचार शेयर गर्नका लागि नभइ रोजगारीको अवसर पर्खिरहेकाहरुका लागि जागिरको खोजी गर्न रोजगारदाताको लागि योग्य कामदार खोज्न र त्यसको लागि बायोडाटा, कार्यानुभव साटासाट गर्न र व्यावसायिक सञ्जाल वृद्धि गर्नका लागि हो ।

                          श्रोतः www.linkedin.com

अब एकाउण्ट खोल्न पट्टि लागौं है त । लिंक्डइनमा एकाउण्ट खोल्न सजिलो छ । तपाईसँग ईमेल एड्रेस भए काफी । https://www.linkedin.com मा गएर Join now बटनमा क्लिक गरी आफ्नो एकाउण्ट बनाउन सक्नु हुन्छ । एकाउण्ट खोली सके पछि यस भित्र Home, My Network, Jobs, MessagingMe बटन रहेका छन् । जुन तपाईले एकाउण्ट लगइन गरे पछि देख्न सक्नु हुनेछ । यसको होममा फेसबुकमा जस्तै आफुले पोष्ट गर्न र तपाईले अरुको पोष्ट हेर्न लाइक, कमेन्ट र शेयर गर्न सक्नु हुन्छ ।

यसमा पनि फेसबुकमा जस्तै आफुले चाहे जसरी कसलाई आफ्नो पोष्ट देखाउने भन्ने तपाईले छान्न सक्नु हुन्छ । तर के ध्यान दिनुहोस् भने फेसबुक, इन्स्टाग्राममा जसरी फोटो पोष्ट गर्ने प्रयोजन चाँहि होइन है यसको । त्यसले तपाईको व्यावसायिकतालाई नै गौण बनाइदिन्छ ।

                     श्रोतः www.linkedin.com

My Network मा तपाईसँग जोडिएका साथीहरु देख्न सक्नु हुनेछ । लिंक्डइनको भाषामा कनेक्सनले तपाईसँग जोडिईसकेका व्यक्तिहरुलाई जनाउँछ अर्थात् साथी बनि सकेकाहरु । त्यस्तै तपाईलाई कसैले रिक्वेष्ट पठाएको रहेछ भने यसमा देख्नु हुनेछ । लिंक्डइनमा कुनै व्यक्तिको नाम पछाडि 1st, 2nd, 3rd  भन्ने देख्न सक्नु हुन्छ । यसको अर्थ कक्षाको पहिलो, दोश्रो वा तेश्रो भने होइन है । नझुक्किनु होला फस्ट, सेकेण्ड वा थर्ड डिभिजनमा कतै पास भएको भन्ने पनि होइन । बरु के हो भने कोही व्यक्ति तपाईसँग जोडिइसक्नु भएको छ भने उस्को नाम पछाडि 1st देखिनेछ । अनि कोही तपाईसँग जोडिएको व्यक्तिसँग जोडिनु भएको छ अर्थात साझा साथी हुनुहुन्छ भने नाम पछाडि 2nd  र साझा साथी कोही पनि छैनन् भने 3rd  देख्नु हुनेछ । यसले मित्रताको डिग्री जनाउँदछ। अब तपाई स्पष्ट हुनु भयो होला ।

             श्रोतः www.linkedin.com

यत्ति सम्म व्याख्या गर्दा तपाईलाई दिक्क त लागेको छैन नि ? पख्नोस् तपाई रोजगारीको खोजीमा हुनुहुन्छ भने आउने बटन निक्कै चाखलाग्दो हुन सक्छ । जब्स अर्थात जागिर । यो बटनमा तपाईले कस्तो जागिर चाहिएकोछ ? नेपाल भित्रै कि संसारको जुन सुकै ठाँउमा भए पनि तपाई जागिर खोज्दै हुनु हुन्छ ? खोज्न मद्यत गर्नेछ यो बटनले । साथै तपाईको प्रोफाइलसँग मिल्ने कुनै विज्ञापन भएमा त्यो पनि यहाँ देख्न सक्नु हुनेछ । घरै बसी बसी जागिर खोज्न पाइने, न त भनसुन न त चाकडी, भएन त सञ्जालको कमाल ?

मेसेजिङ यसको अर्को बटनमा तपाई आफ्नो कनेक्सनमा भएको व्यक्तिलाई मेसेज पठाउन सक्नु हुन्छ। यसमा पनि मेसेज फरवार्ड गर्न वा एकैचोटी धेरैलाई मेसेज पठाउन सक्ने व्यवस्था छ। सामान्य रुपमा कनेक्सन नभएको व्यक्तिलाई मेसेज गर्न भने Send an InMail भन्ने अप्सन रहेकोछ ।

मी अर्थात तपाईको प्रोफाइलमा लिंक्डइन एकाउण्टको सबैभन्दा महत्वपुर्ण जानकारी रहेको हुन्छ । यसलाई तपाईको बायोडाटाको रुपमा बुझ्दा बेश होला । जब्स सर्च गर्दा कहाँ कहाँ जागीर खुलेको छ ? भनेर देखाउने मुख्य आधार तपाईले आफ्नो प्रोफाइलमा राखेको जानकारी रहेको हुन्छ । कसैले उपयुक्त कर्मचारीको खोजी गरिरहेकोछ भने यसमा राख्नु भएको जानकारी नै तपाईलाई जाँच्ने पहिलो माध्यम हो । यत्ति धेरै महत्व भएको यो बटनमा आफ्नो बारे लेख्ने ठाँउ रहेकोछ ।  त्यस्तै आफ्नो कार्यानुभव, शैक्षिक योग्यता, कुनै पुरस्कार पाउनु भएको छ भने त्यसको जानकारी, आफुसँग भएका सीपहरु उल्लेख गर्न सक्नु हुन्छ । यसमा आफ्नो सुपरभाइजर वा प्राध्यापक वा कुनै बिषय विज्ञको तपाईलाई गरेको सिफारिस अर्थात रेकोमेण्डेसन पनि राख्ने ठाँउ राखिएकोछ । तपाईले उल्लेख गर्नु भएको सीपहरुलाई अझ विश्वसनीय बनाउन endorsement गर्ने व्यवस्था छ। तपाईका साथीभाई वा सहकर्मीले सीपलाई इन्डोर्स गर्न सक्छन् । तपाईलाई व्यवसायिक देखाउनको लागि प्रोफाइललाई आकर्षक बनाउन आवश्यक हुन्छ र त्यसका लागि ध्यान दिनु पर्ने खण्ड हो यो।

किन खोल्ने त लिंक्डइन एकाउण्ट ?  

शुरुमा नै उल्लेख गरी सकियो कि लिंक्डइन व्यावसायिक सञ्जाल हो । अहिलेको भर्च्युल विश्वमा अवसरहरुको खोजी गर्न र त्यसलाई अझ बढावा दिन यस्ता सञ्जालहरु उपयोगी सावित भइरहेका छन् । तपाई यसको प्रयोग आफ्नो व्यावसायिक सञ्जाल बढाउन र रोजगारीको खोजीका लागि गर्न सक्नु हुन्छ । आफ्नो व्यवसायसँग सम्बन्धित क्षेत्रमा नयाँ के भइरहेको छ भन्ने थाहा पाउन सक्नु हुन्छ । यसमा आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको बाहुल्यता रहने भएको हुँदा भ्रमपुर्ण जानकारीहरु फैलने सम्भावना न्युन छ । साथै तपाईसँग योग्यता छ र त्यसलाई बेच्न बजार हेर्दै हुनुहुन्छ अथवा आफुलाई आवश्यक योग्य कामदारको खोजीमा हुनुहुन्छ भने सबै भन्दा उपयुक्त प्लेटफर्म लिंक्डइन हुन सक्छ । लिंक्डइन प्रोफाइललाई कसरी व्यावसायिक देखाउने भन्ने बारेमा भने अर्को लेखमा प्रस्तुत गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के तपाई व्यावसायिक सञ्जाल लिंक्डइनमा हुनु हुन्छ ?" A few seconds ago

सम्बन्धित खवर