लक-डाउनको साथी ईन्टरनेट – Satabdi News

लक-डाउनको साथी ईन्टरनेट

बेलबारी । कोरोनभाइरस (कोभिड–१९) कारण विगत करीब तीन साता देेेेखी देश लकडाउनमा छ । संक्रमण फैलिन नदिन सरकारले घरबाट बाहिर निस्किन समेत प्रतिबन्ध लगाएको छ ।

यस्तोमा घरमै बसेर भिडियो कन्फ्रेन्समार्फत पेशागत काममा जोडिने, अनलाइन कक्षा सञ्चालन गर्ने अनी भिडियो कन्टेन्ट हेर्ने प्रयोगकर्ताहरुको संख्या बढ्दा अहिले ठूलो मात्रामा इन्टरनेट खपत बढेको छ ।

अनपेक्षित रुपमा इन्टरनेट ट्राफिक बढेपछि नेपालका इन्टरनेट सेवा प्रदायकहरुदेखि नियामकसम्मले प्रयोगकर्तालाई सम्यमित तथा किफायती ढंगले इन्टरनेट भएर प्रयोग गर्न आग्रह गरिरहेका छन् । यो अवस्था नेपालमा मात्रै भने हैन ।

अहिले विश्वमै इन्टरनेटको खपत ठूलो मात्रामा बढेको छ । जसले गर्दा नेटफ्लिक्स, युट्युव, टिकटक जस्ता भिडियो प्लेटफर्महरुले भिडियोको क्यालिटी घटाएका छन् । फेसबुकले पनि भिडियोको क्वालिटी घटाइसकेको छ ।

यसैबीच हामीले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको इन्टरनेट खपतको तथ्याङ्क संकलन गरेका छौँ । जसका अनुसार हेर्ने हो भने नेपालमा लकडाउन सुरु भएपश्चात अन्तर्राष्ट्रिय ट्राफिक २५ प्रतिशले बढेको छ भने लोकल ट्राफिक ३५ प्रतिशतको हाराहारीमा बृद्धि भएको छ ।

यद्यपी यसमा नेपालका मोबाइल सेवाप्रदायक कम्पनीको तथ्याङ्क भने समावेश गरिएको छैन । तथ्याङ्कअनुसार लकडाउन अघि नेपालमा कूल तीन सय ३४ जीबीपीएस अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ खपत भइरहेकोमा अहिले ८४ जीबीपीएसले बृद्धि भएर ४१४ जीबीपीएस पुगेको छ ।

अन्तर्राष्ट्रिय ट्राफिकतर्फ सबैभन्दा बढी ब्यण्डविथ खपत गूगलमा भइरहेको छ । जसमा लकडाउन अघि १३९ जीबीपीएस ब्याण्डविथमा खपत गराइरहेको गूगलमा मात्रै १२ प्रतिशत अर्थात १७ जीबीले वृद्धि भएर १५५ जीबी प्रयोग भइरहेको छ ।

गूगल अन्तर्गत युट्युव समेत पर्ने भएकाले पनि यसकाे खपत सबैभन्दा बढी देखिएको हाे । नेपालमा इन्टरनेटमा भिडियो हेर्नेहरु मध्ये सबैभन्दा ठूलो संख्या यूट्युवमै छ । त्यतिमात्र नभएर कोरानाको विषयमा गूगलमा विभिन्न जानकारी सर्च गर्नेको संख्या पनि बढेको बढेको छ ।

धेरै ब्याण्डविथ खपत हुने दोस्रो माध्यम फेसबुक रहेको छ । लकडाउनको समयमा फेसबुकमा खपत हुने इन्टरनेट ब्याण्डविथ १७ प्रतिशतले बढेर १०५ जीबीपीएस पुगेको छ । जुन लकडाउन अघि ९० जीबीपीएसको हाराहारीमा मात्रै रहेको थियो

प्रतिशतको हिसावमा भने सबैभन्दा बढी नेटफ्लिक्स, गेमिङ र टिकटकमा इन्टरनेटको ब्याण्डविथ खपत बृद्धि भएको देखिन्छ । तथ्याङ्कअनुसार यी तीनै प्लेटर्फममा इन्टरनेटको खपत सामान्य अवस्थामा भन्दा दोब्बर अर्थात शतप्रतिशत वृद्धि भएको छ ।

हाल नेपालमा नेटफ्लिक्स, गेमिङ र टिकटकमा क्रमशः १३, ७ र १३ जीबी ब्याण्डविथ खपत भइहरेको छ । त्यस्तै क्लाउडफ्लेयर, अकामाई, माइक्रोसफ्ट, अमेजन जस्ता क्लाउण्ड सर्भिस प्रोभाइडरमा पनि इन्टरनेट खपत बढेको छ । तथ्याङ्कअनुसार सामान्य अवस्थामा भन्दा क्लाउडफ्लेयर, अकामाई, माइक्रोसफ्ट र अमेजनमा क्रमसः ५०, ८३, ६७ र ५० प्रतिशतले इन्टरनेट ब्याण्डविथको खपत वृद्धि भएको छ ।

यसबाहेक अन्य सेवामा करीब ३० प्रतिशतले अन्तर्राष्ट्रिय ब्याण्डविथको खपत वृद्धि भएको देखिन्छ । अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथका साथै लोकल ब्याण्डविथको प्रयोगमा पनि उल्लेख्य बृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्क अनुसार सामान्य अवस्थामाभन्दा लोकल ब्याण्डविथ ३५ प्रतिशतको हाराहारीमा बढेको छ ।

सामान्य अवस्थामा नेपालमा इन्टरनेट सेवाप्रदायक मार्फत कूल ११५२ जीबीपीएस लोकल ब्याण्डविथ खपत हुने गरेकोमा अहिले ४०१ जीबीपीएस बृद्धि भएर १५५३ जीबीपीएस पुगेको छ ।

त्यसमा पनि सबैभन्दा बढी गूगल क्यास प्रयोग भइरहेको छ । गूगल क्यास मात्रै हाल ५९१ जीबीपीएस खपत भइरहेको उल्लेख छ ।

सामान्य अवस्थामा ५०९ जीबीपीएसको हाराहारीमा गूगलको क्यास प्रयोग हुने गरेकोमा हाल ८१ जीबीपीएस अर्थात १६ प्रतिशतले बढेको देखिन्छ । त्यस्तै आईपीटीभीको प्रयोग पनि भारी मात्रामा बढेको छ ।

घरमा बसेर टीभी हेर्नेको संख्या बढेसँगै नेटटीभीमा इन्टरनेट ब्याण्डविथ ५५ प्रतिशतले बढेको छ । सामान्य अवस्थामा करीब २५४ जीबीपीएस लोकल ब्याण्डविथ खपत हुने गरेकोमा हाल ११० जीबीपीएसले बढेर ३९४ जीबीपीएस ब्याण्डविथ नेटटीभीमा खपत भइहरेको छ ।

लोकल ब्याण्डविथ धेरै खपत गर्ने तेस्रो नम्बरमा फेसबुक छ । फेसबुकको क्यास २२ प्रशितले बृद्धि भएको छ । लकडाउन अघि कूल २६७ जीबीपीएस लोकल इन्टरनेट ब्याण्डविथ खपत भइरहेको फेसबुकमा हाल ३२७ जीबीपीएस ब्याण्डविथ खपत भइरहेको छ ।

प्रतिशतको हिसाबले आन्तरिक ब्याण्डविथको खपत नेटफ्लिक्स, नेपाल इन्टरनेट एक्सचेञ्ज र अकामाईको केचमा सबैभन्दा बढी बृद्धि भएको छ । उल्लेखित प्लेटफर्मको क्यास प्रयोग क्रमशः १५७, ११६ र ११२ प्रतिशतले बढेको छ ।

हाल यी सेवाले नेपालको लोकल ब्याण्डविथ क्रमश: ४३, ४ र ९९ जीबीपीएस खपत गरिरहेका छन् । त्यस्तै क्लाउडफ्लेयरमा लोकल ब्याण्डविथको खपत ८८ प्रतिशतले वृद्धि भएको छ भने अन्य सेवामा ८१ जीबीपीएस लोकल ब्याण्डविथ खपत भइरहेको देखिन्छ । जुन सामान्य अवस्थामा भन्दा ६७ प्रतिशतले वृद्धि हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लक-डाउनको साथी ईन्टरनेट" A few seconds ago

सम्बन्धित खवर