चिकित्सा विज्ञानमा नाेवेल कोरोना भाइरसको जटिलता के हाे ? – Satabdi News

चिकित्सा विज्ञानमा नाेवेल कोरोना भाइरसको जटिलता के हाे ?

–रामचन्द्र राई

बिषय प्रवेशः
सामान्यतः रोग भन्नाले सजीव प्राणीको शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य वा अदृश्य किरा वा किटाणुहरू (भाइरस तथा ब्याक्टेरिया)को आक्रमणबाट सजीव वस्तुलाई असर पुर्याउँछ । रोगहरूलाई निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।

१. मानव जातीलाई लाग्ने रोग
२. पशु रोग
३. बाली रोग

आज हामी कुरा गरौ मानिसमा लाग्ने रोगको बारेमा । मानिससमा खास गरेर सर्ने र नसर्ने गरि दुई प्रकारका रोगहरु देखा पर्दछ । तीमध्ये हामी यहाँ चर्चा गरौ सर्ने रोगको बारेमा । चिकित्सा विज्ञानमा सरुवा रोग भन्नाले रोगी व्यक्तिबाट स्वास्थ व्यक्तिमा सर्ने रोगहरू अर्थात कुनै रोग एक व्यक्तिबाट अर्को ब्यक्तिमा कुनै माध्यमबाट सर्दछ भन्ने बुझाउँछ ।

दुषित हावापानी, दिशा-पिसाव, सरसफाइको कमी र अन्य कारणहरुले सरुवा रोग सार्न मदत गर्छन् । सरुवा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हाे । सामान्यतः हावा, खाना, आपसी सम्पर्क, फोहोरी व्यवहार आदि कारणले सरुवा रोग एकबाट अर्को व्यक्तिमा सर्ने गरेको पाइन्छ । सरुवा रोगहरु छिट्टै फैलिन्छ । साथै कुनै कुनै अवस्थामा महामारीकै रुप लिने हुँदा यो बढी खतरनाक हुन्छ । त्यसकारण मान्छेले सधैं स्वस्थ व्यवहार अपनाउनुपर्छ । फोहोर वस्तु छोएपछि अनिवार्य साबुनपानीले हात धुने बानी बसाउनु अत्ति आवश्यक छ । किनकी, सरुवा रोगका किटाणु हावा वा अन्य माध्यमले हातमा पर्ने हुन्छ ।

हाम्रो उत्तरी छिमेकी मित्र राष्ट्र चीनबाट सुरु भएको नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण यतिखेर विश्वका करिब १९३ देशमा फैलिएकाे छ । यो भाइरसका कारण हालसम्म २१,२,९३ जनाको मृत्यु समेत भइसकेको छ । यो भाइरसबाट करिब ४,७१,३११ जना संक्रमित भइसकेका छन् ।

रामचन्द्र राई

नोवेल कोरोनाभाइरस (COViD-19) पनि एक सरुवा प्रकृतिको खतरानक सरुवा रोग हो । जसले आज विश्वभरि नै महामारीको रुप लिइरहेको छ । यस भाइरसले अहिले युरोपलाई केन्द्र बनाएको छ । यो भाइरस चीनको हुवानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिरहेको छ । इटाली, स्पेन, इरान, बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, फ्रान्स, थाइल्यान्ड, पोर्चुगल, बेल्जियम, नर्वे, स्विडेन, टर्की, इजरायल, मलेसिया, डेनमार्क, ब्राजिल, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, दक्षिण कोरिया, भारत हुँदै नेपालसम्म फैलिएको छ ।

के हो त नोवेल कोरोनाभाइरस ?
कोरोनाभाइरस जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोनाभाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु भाइरस भन्दा तीव्र एवं धेरै छ ।

यो रोग लागेको कसरी थाहा पाइन्छ ?
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी, कोरोनाभाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् ।

रुघाखोकी जस्तै लागे पनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमशः उच्च ज्वरो आउँछ, टाउँको दुख्छ, शास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ । यसको डरलाग्दो पक्ष के भने यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

नाेवेल काेराेनाभाइरसबाट कसरी सुरक्षित रहने ?
अब चर्चा गरौ भाइरस के हो ? भनेर । अहिलेसम्म भाइरसको औषधी किन बन्न सकेको छैन ? चिकित्सा विज्ञानमा यसको जटिलता के हो ? भाइरस भनेको सुक्ष्मदर्शक यन्त्रको सहायताले मात्र देख्न सकिने त्यस्तो अत्यन्तै सुक्ष्म जीवाणु हाे । जुन पृथ्वीको सबैतिर पाइन्छ । यो जल, थल, नभर (पानी, जमीन र हावा) जहाँ पनि पाइन सक्छ । यसले प्रत्येक जीवित वस्तुहरु अर्थात् प्राणी, विरुवा, ढुसीहरुलाई समेत संक्रमित तुल्याउन सक्छ ।

अहिले कोरोनाभाइरसको खोप बनिसकेको छैन । खोप बनाउन समय लाग्छ । एकसाता, एकमहिना, एक बर्ष वा अझै धेरै समय लाग्न सक्छ ।

कतिसम्म भने भाइरसले मानिसमा सबैभन्दा बढी संक्रमण तुल्याउने व्याक्टेरियालाई नै पनि संक्रमित तुल्याइदिन सक्छ । भाइरसले कहिलेकाहीँ अत्यन्तै खतरनाक रोगहरु फैलाइदिने गर्छ । त्यस्ता रोगहरु अत्यन्तै घातक हुने गर्छ । त्यसले विश्वमा ठूलो मानवीय क्षाति पुर्याउन सक्छ, आतंकको वातावरण सिर्जना गरिदिन सक्छ ।

अहिले संसारभरि चलिरहेको नोवेल कोरोनाभाइरसको महामारी त्यसैको एउटा ताजा नमूना हो । यसअघि फैलिएको सार्स, मेर्स र बेलाबेलामा फैलिने गरेको वर्डफ्लू वा स्वाइनफ्लूहरु पनि भाइरसकै कारण सिर्जना हुने महामारीजन्य रोगहरुका नमूना हुन् ।

त्यसो त रोग लगाउने सबै भाइरसहरु त्यस्तो खतरनाक पनि हुँदैन । अधिकांश भाइरसका विरामीहरु त सामान्य वा मध्यमखालका हुन्छन् र तिनले ठूलो समुदायमा एकैचोटि खासै असर गर्दैन । भाइरसले गर्ने असर पनि फरकफरक प्राणीमा फरकफरक हुन सक्छ ।

उदाहरणका लागि एउटै भाइरसले बिरालोलाई संक्रमित तुल्याउन सक्छ भने त्यही भाइरसले कुकुरलाई चाहिँ केही असर नगर्न पनि सक्छ । भाइरस अत्यन्तै जटिल हुने गर्छ । तिनमा आरएनए वा डीएनए भन्ने जेनेटिक पदार्थ हुनेगर्छ । जुन प्रोटिन, लिपिड (बोसो) वा ग्लुकोप्रोटिनको पत्रले ढाकिएका हुन्छन् । भाइरस कुनै होस्ट (अरु जीवित कोष) बिना आफैं संख्या बृद्धि वा बढोत्तरी हुन सक्दैन । त्यसैले भाइरसलाई परजीवि वर्गमा राखिन्छ । आकारमा अत्यन्तै सानो, नांगो आँखाले देख्नै नसकिने भाइरस यस संसारमा सबैभन्दा बढी संख्यामा पाइने जैविक चीज हो ।

वास्तवमा भाइरस जीव होइन । यो एक प्रकारको वस्तु हो । चिकित्सकीय भाषामा यसलाई तत्व भनिन्छ । त्यसैले यसलाई नेपालीमा विषाणु भनिन्छ । यसको मतलव हो विषको अणु तर ब्याक्टेरिया जीव हाे । त्यसैले ब्याक्टेरियालाई जिवाणु (जीवको अणु) भनिन्छ । ब्याक्टेरिया एक कोषीय जीव हाे । तर, भाइरसमा कोष नै हुँदैन । त्यसैले यसलाई सजीव भनिदैन ।

यो चलमलाउन सक्दैन । यो वृद्धि हुँदैन । यो विकसित पनि हुँदैन । यसले प्रजनन् पनि गर्दैन । पाचन प्रकृया पनि हुँदैन । कुनै वातावरणसँग प्रतिक्रिया पनि गर्दैन । त्यसैले यो सजीव होइन । भाइरसलाई पूर्ण निर्जीव पनि भन्न मिल्दैन । यसमा जिवकाेषमा हुने डिएनए, आरएनए र प्रोटिन हुन्छ । त्यसैले यो आधा निर्जीव आधा सजीव भएको अजिवकाे तत्व हाे ।

भाइरसले ब्याक्टेरियालाई पनि संक्रमण गर्न सक्छ । एउटा ब्याक्टेरियाभित्र करिब २० वटा भाइरस अट्न सक्छ । यो त्यति सानाे हुन्छ । जब भाइरस मानिसको शरीरभित्र प्रवेश गर्दछ । यो मानिसको कुनै अंगकाे कोषभित्र प्रवेश गर्दछ ।

हाम्रो कोषमा बाहिरी तत्व छिर्न नदिने सयंन्त्र हुन्छ । तर, भाइरसले हाम्रो कोषकै तत्वको रुपमा कोषभित्र पुग्दछ । हाम्रो कोषको भित्री भाग न्युक्लियससम्म पुग्दछ । हाम्रो कोषको न्युक्लियसभित्र डिएनए रहेको हुन्छ । साथै अर्को डिएनए बनाउने अर्थात नक्कल गर्ने सयंन्त्र हुन्छ ।

भाइरसले यही सयंन्त्रमा आफूलाई समाहित गर्छ र आफ्नो डिएनएको नक्कल गर्दछ । हाम्रो कोषको सयंत्रले पनि आफ्नै डिएनए ठानेर भाइरसको नक्कलप्रति डिएनए उत्पादन गर्दछ । यसरी हाम्रो कोषभित्र भाइरस उत्पादन हुँदै जान्छ र भाइरसको चापले कोषहरु फुट्दै मर्दछ ।

बाहिरी वातावरणमा एक भाइरसले अर्को भाइरस बनाउन सक्दैन । यसको लागि कुनै जीवित प्राणीको कोष नै चाहिन्छ । चिकित्सा विज्ञानमा यसको औषधी बनाउने जटिलता यो रहेको छ कि

१) भाइरस कुनै जीव हाेइन । यो तत्व हो । जीवित जीव भए मार्ने कुरा हुन्छ । तसर्थ यसलाई नष्ट गर्नुपर्ने हुन्छ ।
२) कुनै पनि बाहिरी तत्व हाम्रो कोषभित्र छिर्न सक्दैन । कोषभित्र रहेको सयंन्त्रले छिर्न दिदैन । औषधी हाम्रो कोषको लागि बाहिरी तत्व हो ।
३) अर्को जटिलता यो रहेको छ कि यदि औषधी कोषभित्र छिराउन सफल भए पनि भाइरसको डिएनएसँगै हाम्रो शरीरको कोषको डिएनए पनि नष्ट हुन्छ । भाइरसको डिएनए हाम्रै कोष भित्रको सयंन्त्रले कपि गरेको हुन्छ तेसैले भाइरस मार्ने औषधिले हाम्रै कोष मार्दछ। अत: भाइरस एउटा यस्तो अजिव तत्व हो । यसलाई न थाल, ढ्याङ्रो ठटाएर न घन्टी बजाएर मार्न र धपाउन सकिन्छ । न त गाइको गहुतले नष्ट गर्न सकिन्छ । न त प्रभुको प्राथाना गरेर यो नस्ट हुन्छ ।

भाइरसलाई रोक्ने हाम्रो इम्युनिटी पावर अर्थात प्रतिरक्षा शक्ति हो भने अर्को भाइसको विरूद्धकाे खोप मात्र हो । तर, अहिले कोरोनाभाइरसको खोप बनिसकेको छैन । खोप बनाउन समय लाग्छ । एकसाता, एकमहिना, एक बर्ष वा अझै धेरै समय लाग्न सक्छ । यसको आफ्नै प्रकृया हुन्छ । अत: यसबाट सुरक्षित रहने भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, सरसफाइमा विशेष ध्यान दिने नै हो । र। भाइरसलाई हाम्रो मुखसम्म पुग्न नदिने तरिका  अवलम्बन गर्ने हाे ।

(लेखक राई अक्सबृज इन्टरनेशनल मन्टेश्वरी स्कूल सुनसरीका एकेडेमिक डाइरेक्टर तथा स्वास्थ्य तथा विज्ञान विषयका विद्यार्थी हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर