काइजेन: सार्वजनिक सेवा प्रवाहमा कत्ति उपयोगी ? – Satabdi News

काइजेन: सार्वजनिक सेवा प्रवाहमा कत्ति उपयोगी ?

अर्जुन राई

सन् १९४५ मा टोयोटा कम्पनीका मालिक किचिरो टोयोडाले आफ्नो प्रमुख इन्जिनियर ताइची ओह्नो र कामदारहरूलाई जापानी अटो कम्पनीहरुको अस्तित्व जोगाउने हो भने ३ बर्ष भित्र अमेरिकी कम्पनीहरूलाई भेट्नै पर्छ भन्ने उर्दी जारी गरे । जत्तिबेला जापानीहरूको उत्पादकत्व अमेरिकीहरूको ९ भागको एक भाग मात्र थियो। जापानीहरुलाई अमेरिकीसँग प्रतिस्पर्धा गर्न उत्पादकत्वको गहिरो खाडल मेटाउनुको विकल्प थिएन तर श्रोत साधनको अभावका कारण त्यो त्यत्ति सहज भने थिएन। अभावग्रस्त परिस्थितिमा उत्पादकत्व बढाउनका लागि अनावश्यक बस्तु र प्रक्रिया हटाई लागत घटाउन सकिने जुक्ति ओह्नोले निकाले । त्यसैको परिणाम स्वरुप व्यवस्थापन क्षेत्रमा काइजेन अर्थात निरन्तर सुधारले प्रवेश पायो भने जापानी अटो उद्योगहरु आज पर्यन्त विश्व बजारमा अग्रपँक्तिमा छन् । आज आधा शताब्दी भन्दा बढि बितिसक्दा पनि काइजेन निजी र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै लोकप्रिय रहेको छ । सानो तर निरन्तरको सुधारबाट उत्पादकत्व र गुणस्तरमा सुधार गर्ने व्यवस्थापकिय विधि काइजेन हो । यसले ५ किन, ५ s, अनावश्यक बस्तु र प्रक्रिया हटाउने (Waste elimination) जस्ता तरिकाहरुको प्रयोग  गर्दछ ।

पाँच किन

काइजेनले समस्याको समाधान गर्न समस्याको मूल कारणको सहि पहिचान हुनु पर्छ भन्ने मान्यता राख्दछ। बाह्य रूपमा देखिने समस्याको जड थम्याउन कठिन हुन्छ । यसमा जड पत्ता लगाउन पाँच पटक सम्म किन भन्ने प्रश्नको उत्तर खोज्ने गरिन्छ । वास्तविक कारण पत्ता लागे पछि समस्याको उचित समाधान गर्न सहज हुने गर्दछ। सार्वजनिक क्षेत्रमा सेवा प्रवाह प्रभावकारी हुन नसकेको भन्ने व्यापक गुनासो सुन्ने गरिएको सन्दर्भमा कारण पहिल्याउन यो विधि उपयुक्त हुन सक्छ । सेवा प्रवाह कमजोर हुनुमा कर्मचारीको प्रवृत्ति मुख्य जिम्मेवार रहेको भनि सर्वत्र टिकाटिप्पणी हुने गरेको पाइन्छ । तर यसैको सेरोफेरोमा रहेर भईरहेका सुधारका प्रयासहरु आशातित रुपमा सफल हुन सकिरहेका छैनन् । क्रमिक प्रश्नको माध्यमबाट प्रभावकारी सेवा प्रवाह हुन नसक्नुमा कर्मचारीको प्रवृत्ति वा अन्य कारणहरु पनि छन् भन्ने केलाइ  आवश्यक सुधार ल्याउन सकिन्छ ।

पाँच s

पाँच s ले जापानी शव्दहरू सेरी(छुट्याउने), सेइटोन(क्रम मिलाउने), सेइसो(सफा राख्ने), सेइकेचु(स्तर कायम गर्ने) र सिचुके(दीगो बनाई राख्ने) लाई बुझाउँदछ । छुट्याउने भन्नाले प्रयोगमा ल्याइने सामान र सूचनालाई चाहिएको बखत प्रयोगमा ल्याउन सहज हुने गरि स्पष्टसँग छुट्याएर राख्ने भन्ने बुझिन्छ । आवश्यक सामानहरु र प्रकृयालाई प्रयोग गर्न सहज हुने ढँगले सफा र स्पष्ट रुपमा राख्ने कार्य क्रम मिलाउने अर्थात् सेइटोन हो । सेइसोले कार्यस्थलबाट अनावश्यक वस्तुहरु हटाई काम गर्न सहज हुने गरि सफासुग्घर राख्ने बुझाउँदछ । सिइकेचुले अगाडिका तीनs लाई स्तरको रुपमा विकास गरि दैनिक रुपमा प्रयोग र एकरुपता कायम गर्ने बुझाँउदछ । अगाडिका चारs लाई निरन्तर प्रयोगमा ल्याउन कर्मचारीहरूलाई तालिम र प्रोत्साहनको व्यवस्था गर्ने कार्य सिचुके हो । सार्वजनिक निकायहरुमा चाहिएको बखत आवश्यक कागजातहरु तत्काल उपलब्ध हुन नसक्नु, निर्णय प्रकृया लामो र झन्झटिलो हुनु, सेवाग्राहीले भर्ने फारामहरुमा आवश्यकता भन्दा बढी सूचनाको माग गर्नु र भर्नलाई कठिन भएका कारण विचौलियाहरु हावी हुनु लगायतका समस्याहरु भोग्नु परिरहेको गुनासो सुन्ने गरिन्छ । यी समस्याहरुले सेवा प्रवाहलाई झन्झटिलो, बोझिलो र दोषयुक्त बनाइहेकाछन् । ५s को प्रयोगबाट सेवादायीको सेवा दिने र सेवाग्राहीको लिन सक्ने क्षमतामा वृद्दि गरि सेवा प्रवाहलाई छिटो छरितो बनाउनका साथै सरकार प्रतिको विश्वास र भरोसामा बढोत्तरी गर्न समेत सघाउ पुर्याउन सकिन्छ ।

अनावश्यक सात तत्व (Waste) हटाउने

काइजेनले औल्याएका ७ अनावश्यक तत्वहरुः अधिक उत्पादन, कामदार र उपकरणको निश्क्रियता, वस्तुको अनावश्यक प्रसार, थप साधन श्रोतको जरुरत, अधिक सामान, अनावश्यक गतिविधी र त्रुटि‌ औद्योगिक क्षेत्रसँग मिल्दो देखिएता पनि सार्वजनिक सेवा प्रवाहसँग समेत तुलना गर्न सकिन्छ। सार्वजनिक क्षेत्रमा अनावश्यक खरिद र असन्तुलित श्रोत साधनको वितरण, सेवा पाउन लाग्ने समयको अनिश्चितता, एउटै काम धेरै निकायसँग सम्बन्धित हुने, कर्मचारीहरुको असमान कार्य बोझ, कार्यालयको लेआउटका कारण धेरै कोठा चहार्नु पर्ने, साना-साना त्रुटिले सेवाको लागतमा वृद्धि, जनशक्तिको कार्यक्षमता पुर्ण रुपमा उपयोग नगरिनु काइजेनले देखाएका ७ अनावश्यक तत्वसँग मिल्दोजुल्दो छन्।

सार्वजनिक सेवामा अत्यधिक कागजातको प्रयोग हुनाले कार्यालय सन्चालनलाई व्यवस्थित बनाउन कठिन भइरहेकोछ। नागरिक बडापत्रमा उल्लेख गरिएको समयावधि सेवादायी र सेवाग्राहीले मनन गरेको पाइन्दैन। एउटै कामका लागि विभिन्न निकायहरु धाउनु पर्दा र यत्रतत्र छरिएर रहेका शाखाहरूमा जानु पर्दा सेवाग्राहीले अनावश्यक रुपमा दु:ख पाएको महशुस गरिरहेकाछन् । हेर्दा साना लाग्ने प्रिन्ट, हिज्जेजस्ता त्रुटिहरुले पनि सेवाग्राहीहरुले समस्या भोगिरहेको पाइन्छ । यसले सेवाको लागत बढाउनुका साथै सेवाग्राहीहरुमा नकारात्मक धारणा बढाइरहेकोछ । यस्ता अनावश्यक तत्वहरुलाई हटाएर सेवा प्रवाहमा महशुस हुने गरि सुधार गर्न सकिन्छ।

कुनै समयको पछौटे मुलुक इथियोपियाले पछिल्लो बर्षहरुमा हासिल गरिरहेको उच्च आर्थिक वृद्दिदरमा काइजेनको भूमिकालाई पनि जोडेर हेर्ने गरिन्छ । त्यहाँका पूर्व प्रधानमन्त्री मेलेस जेनवीले काइजेनलाई सन् २००८ मा राष्ट्रिय नीतिमा समावेश गराएका थिए । इथियोपियासँग हाम्रो कत्तिपय परिवेश समान छन् । हाम्रो सन्दर्भमा गणतन्त्रको घोषणा, नयाँ संविधान जारी, सँघियतामा प्रवेश ठूला उपलब्धी हुन् तर यस्ता उपलब्धीहरु सँधै हासिल भइरहँदैनन् । यी उपलब्धीहरुको दिगोपना भने साना साना तर नागरिकका दैनिक जीवनसँग सरोकार राख्ने विषयहरुमा निर्भर रहन्छ । हामीसँग श्रोत साधनको सिमितता छ तर नागरिकको आकाँक्षा र सरकार प्रतिको अपेक्षा भने चुलिँदो छ। निरन्तरको सुधारबाट क्षमता र उत्पादकत्वमा अभिवृद्दि गरि दैनिक सेवा प्रवाहमा सुधार गरेमा नागरिकको आकाँक्षा पूरा गर्दै मन जित्न सहज हुन सक्छ र आजको लागि हाम्रो आवश्यकता पनि यहि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काइजेन: सार्वजनिक सेवा प्रवाहमा कत्ति उपयोगी ?" A few seconds ago

सम्बन्धित खवर