कविता "नियती" – Satabdi News

कविता “नियती”

बसन्त खापूङ्ग

यो निलो आकाश माथि तात्तिएको
चर्को सुर्यको तापले भत भत पोलेर
खुईलिपत्र बनाउँदै गर्दा
न बादलले छेकेर शितलता दिन्छ
नत कुहिरोको चिसो
मन्द मन्द हावाको सिरोटो नै चल्छ ।

त्यसैले त आरिङनी
सिहकतप मेनहकतप बस्तीका
राता काला मुसाहरुलाई
ठुला ठुला निफा बासका आँखाहरु
नाली कुजेनको आश्वासनमा
खोल्न लगाउदै
ठाडो गास्दै गास्दै
लामो टुङ बनाएर
दुम्सीलाई पो काणले हान्न लगाउकी ??

केसामी र नाम्सामीको प्रतिक बनेर
बाचिरहेको यो सिम्बल रुखको ढुटा
आक्क हो ! च्याब्रुङ बनेर बजिरहन्छ
बजाउनेहरुले कहिले मरेको
बाख्राको छाला काडेर
त कहिले जोखिममा
गोरुकै छाला तन्काउदै
निधारमा लंकासानीको टिका लगाएर
आकास हेर्दै हेर्दै
बजाईरहन्छन् च्याङ भ्रुङ च्याङ ।

पोरोक्मी यम्फामीले रोपेको अन्नहरु
आफ्नै आँशुको आहालमा उम्रीएको
भाङरे सिस्नु देखेर
पानीको मुल फुटाउन
फाक्सारा तिगेन्जङ बासी
गोब्रे च्याउमा ओत लाग्नेहरु
खोर्सानीको बोटमा झटारो हान्ने
खाम्बोङबा लुङबोङबाहरुलाई
सेरी लुङ मागेर
फालेलुङबाट फक्ताङलुङमा
हानेको पक्लुङले
पानीको मुल फुटाउदा फुटाउदै
ए !
पक्लुङ फुटेर गयो
यम्फामीको मृत्यु पनी
जवानीमै तङअम्बा कुबोप्मा भएर रह्यो
केम्माङगेक्सर।।

कबितामा भएका लिम्बू शब्दहरुका नेपाली अर्थहरु

आरिङनी= लिम्बूहरुले बोल्ने भाष हैट ।          सिहकतप मेनहकतप बस्ती =मुन्धुममा बर्णित राता काला मुसा र दुम्सीहरुको बस्ती ।
नाली कुजेन=फलेका अन्नहरुको पहिलो अधिकार स्वशासन ।
केसामी र नाम्सामी= मुन्धुममा बर्णन भए अनुशार मेल्लङहाङमाले तिर्र्खाएर रुखको टोड्कामा जमेको पानी र ढुङ्गे खोपिल्टामा जमेको पानी पिएर गर्भवती भए पश्चात बाघको जस्तो स्वभाव भएको केसामी र मानब स्वभाव भएको नाम्सामी जुम्ल्याहा छोराहरु हुर्किदै गर्दा केसामीको नाम्सामी माथीको आखी डाहको कारण मारामार गर्न सिमलको रुखमा भेट हुदा नाम्सामीले रुखको टुप्पाबाट बारम्बार गरेको बिषालु बाणको प्रहार रुखको हागाँहरुको सहायताहरुले छल्दै नाम्सामी नजिक पुग्दा नाम्सामीले षडयन्त्र र छलपुर्बक अन्तिम रहेको एउटा बाणले केसामीको अन्त्य गराउछ। आमाले फुलको जोखानामा केसामीको अन्त्य भएको थाहाँ भए पछी युद्दस्थलमा आएर बेदनाले भाव बिव्हल हुदा नाम्सामीले, मृत केसामीको सम्झनाको रुपमा छाला काडी सुकाएर सिम्बलको रुख खोपी च्याब्रुङ बनाएर बाघको जस्तै उसको हुरुङ हुरुङको गुञ्जायस आवाजमा बजाएको भन्ने मिथक रहेको छ ।
आक्क हो ! =अलिक आश्चर्य ,उदेक हुने शब्द ।
लङकासानी टिका =एक प्रकारको गाउँ घरमा फुल्ने फुलमा सेतो खरानी जस्तो निस्कने जो टिका अल्पायु (छोटो आयु)को प्रतिक।
च्याङ भ्रुङ च्याङ= च्याब्रुङको आवाज।
पोरोक्मी यम्भामी = मुन्धुम अनुसार लिम्बुहरुका पितृ, सृष्टी निर्माता उभौली यक्वा पुजा ,नेवाङ्गी चासोक पुजा गर्दा उनको स्तुती गरिन्छ ।
फाक्सारा तिगेन्जङ =येबाहरुको उत्पती स्थल।
खाम्बोङबा लुङबोङबा =ढुङ्गा माटो संगै उत्पन्न भएका लिम्बूहरुका आदिम पुर्खाहरु जुन मान्यताले प्राय लिम्बूहरु परापुर्ब काल देखि माटोमा ढुङ्गाको बाकस बनाएर पुरेर गइरहे, पुरिदा फेदाङबाले यिनीहरु संग माटो किन्नु पर्दछ ।
फक्ताङलुङ= कुम्भकर्ण हिमाल,लिम्बूहरुको देबस्थल बिशेषत तागेरा निङवाभुमाङ देवता रहने भन्ने बिश्वास ।
सेरिलुङ= बज्र जुन लिम्बूहरुका आदिम पुर्खा खाम्बोङबा लुङबोङबा भुमीपुत्रहरु संग भएको जुन प्रहारले हावा, पानी, बादल,इन्द्रेणी लगायतको उत्पती भएको मानिन्छ।
पक्लुङ= छेलो ढुङ्गा जुन यम्फामीले पानीको मुल फुटाउन कुम्भकर्ण हिमाल माथी हानेको छेलो फुटेर जान्छ। देबहरुको ईष्याले जवानि मै मृत्यु पनी हुन्छ त्यसैले लिम्बू जवानहरुलाई छेलो हान्न लगाई छेलो नफुटोस ,जवानी मै मृत्यु नहोस भन्दै अनुष्ठानमा फाक्सारा तिगेन्जङ बासी खाम्बोङबा लुङबोङबाहरु लाई सम्झीने, पुकार्ने गरिन्छ।
!= येबा,साम्बा,फेदाङबाहरुले फलाक्दाको प्रायोगिक शब्द साथै तुम्याङहरुले हाक्पारे गाउदा समेत प्रयोग हुने शब्द।
तङअम्बा कुबोप्मा = जवानी मै मर्नेहरुको मुन्धुम ,यम्फामी कलिलो उमेरमै सृष्टी बनाउदै गर्दा देबहरुले नै डाह गरेर मृत्यु भयो त्यहाँ बाट नै तङअम्बा मुन्धुम उठ्यो ।
केम्माङगेक्सर= तेरिमा टोग्ने भन्या जस्तै भाषा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “नियती”" A few seconds ago

सम्बन्धित खवर