बम्जनलाई पक्राउ गर्न सर्कुलर जारी: पहिले बेपत्ता र हत्या, अहिले बलात्कारको आरोप – Satabdi News

बम्जनलाई पक्राउ गर्न सर्कुलर जारी: पहिले बेपत्ता र हत्या, अहिले बलात्कारको आरोप

२५ माघ, काठमाडौं । लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो । पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । वर्ष दिन बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन ।

मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता भएको भनेर उजुरी परेको थियो । उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन । बरु मकवानपुरका बाइबालाई खोज्ने क्रममा प्रहरीले बम्जन प्रकरण पछाडिको रहस्य छेऊ पुगेको दाबी गर्‍यो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६, बाँडेगाउँको तोड्केमा रहेको आश्रममा छापा मारेर प्रहरीले नुनको पोका बरामद गरेपछि यो दाबी गरिएको थियो ।

त्यसवेला मकवानपुरका एसपी मुकुन्द मरासिनीले आश्रममा केही  शंकास्पद वस्तु  भेटिएको दाबी गरेका थिए ।

पीडित परिवारले वाइबाको हत्यापछि शव सडाउन नुन प्रयोग भएको दाबी गरेको थियो । त्यही चार फिट गहिरो खाल्डो खन्दा नुनको पोका भेटिएपछि यो आशंका गरिएको थियो । यद्यपि, शवको अवशेष भेटिएन ।

प्रहरीले अनुसन्धान जारी नै राख्यो तर, बम्जनको बाधी श्रवण धर्म संघमा आवद्ध पूर्वराज्यमन्त्री मणि लामासहितका व्यक्तिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतलाई भेटेपछि प्रहरी अनुसन्धान सेलाएको थियो ।

एकातिर बलियो सबुद नहुनु र अर्कातिर विवादमा पनि पर्न सक्ने डर भएपछि प्रहरी पछि हटेको थियो । त्यसअघि ३० भदौ २०७६ मा रौतहटकी एक किशोरीले बम्जनले आफूमाथि बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

तर, दबावका कारण उनले उजरी दिन सकिनन् र बम्जन जोगिएका थिए ।

जब किशोरी जाहेरी दिन राजी भइन्…

पीडित भनिएकी किशोरीले जबरजस्ती करणीको कसुरमा उजुरी फेरि दिएपछि अहिले बम्जन प्रकरण फेरि चर्चामा आएको छ । विभिन्न मनोपरामर्शदाताको समन्वयपछि किटानी जोहरी दिन तयार किशोरीले बिहीबारै जाहेरी दिएको स्रोत बताउँछ ।

सर्लाहीका प्रहरी प्रमुख विश्वमणि पोखरेल पनि उजुरी प्राप्त भएर कानूनी प्रक्रिया थालिएको बताउँछन् । कानूनी परामर्शपछि बम्जनविरुद्ध कारबाही हुनसक्ने स्थिति भेटिएपछि जाहेरी दिएर प्रक्रिया अघि बढेको स्रोत बताउँछ ।

मुलुकी फौजदारी संहिता, २०७६ ले जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्षे हदम्याद दिएको छ । तर, पीडित किशोरी घटना भएका बेला १५ वर्षकी थिइन् ।

बालबालिका सम्बन्धी ऐनले नाबालकको हकमा १८ वर्षपछि एक वर्षभित्र उजुरी गर्न सकिने व्यवस्था गरेको खुलेपछि पीडितको उजुरी दर्ता भएको थियो । एक अनुसन्धान अधिकृत भन्छन्, ‘बालबालिका सम्बन्धी ऐनले नाबालिका वा नाबालकलाई उजुरी गर्नुपर्छ भन्ने थाहा हुँदैन भन्ने मान्छ र उजुरी पुगेपछि एक वर्षभित्र उजुरी गर्न सक्ने ठाउँ दिएको छ ।’

त्यही आधारमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उजुरी दर्ता गर्‍यो । र, जिल्ला अदालतमा पक्राउका लागि अनुमति मागेको थियो । ‘हामीले बम्जनलाई पक्राउ गर्न अनुमति पाइसकेका छौं’, सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) पोखरेल भन्छन्, ‘त्यही आधारमा विभिन्न ठाउँमा खोजी जारी छ ।’

स्रोतका अनुसार प्रहरीले सिन्धुपाल्चोक, लमजुङ, सर्लाही, मकवानपुर लगायतका क्षेत्रका रेहका आश्रममा पनि निगरानी बढाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि प्रकरणमा अनुसन्धान जारी रहेको बताएको छ भने प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाकै प्रहरी कार्यालयलाई बम्जनको खोजी गर्न सर्कुलर जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बम्जनलाई पक्राउ गर्न सर्कुलर जारी: पहिले बेपत्त..." A few seconds ago

सम्बन्धित खवर