डोरबहादुर बिष्टको "भाग्यबाद र विकाश" पुस्तकमाथि सह प्रा.डा. बालकृष्ण माबुहाङको टिप्पणी – Satabdi News

डोरबहादुर बिष्टको “भाग्यबाद र विकाश” पुस्तकमाथि सह प्रा.डा. बालकृष्ण माबुहाङको टिप्पणी

बिगत २५ बर्ष अगाडी नेपालको प्रथम मानबशास्त्री प्रा. डा. डोर बहादुर बिष्टद्दारा लिखित “फेटालिज्म एन्ड डेभलपमेन्ट” पुुुस्तकलाई लेेेखक बसन्त थापाले नेपाली अनुबादमा पुुुस्तक बजारमा आएको छ । उक्त पुस्तक माथि त्रिभुवन बिश्वबिद्धालयका सह प्राध्यापक तथा नेपाल आदिवासी जनजाती महासंघको पुर्ब महासचिब बालकृष्ण माबुहाङले बिष्टको किताबमाथि टिप्पणी गर्नु भएको छ ।

बसन्त  थापाले करिब २५ वर्षअघि ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ पुस्तक अनुवाद गर्न लेखक डोरबहादुर विष्टसित कुरो गर्दा विष्टले अनुवाद मात्र होइन, दुईजना मिलेर अर्को किताब लेख्ने जवाफ दिएका थिए । केही दिनपछि जुम्ला गएका विष्ट फर्केपछि पुस्तकको अनुवाद गरुँला भनेर पर्खेर बसेका वसन्त पर्खेको, पर्खै भए । तर, विष्ट कहिले फर्किएनन् । उनको ९४औँ जन्म दिनको मौकामा विष्टको परिवारको जमर्कोमा वसन्त थापाद्वारा अनूदित कृति, ‘भाग्यवाद र विकास, आधुनिकीकरण हेतु नेपालको जमर्को’ डा. विहारीकृष्ण श्रेष्ठले अनावरण गरे ।
अनुवादक वसन्त थापाले मन्तव्यमा भने, ‘नेपालको अविकासको कारक विष्टको ठम्याइमा ‘बाहुनवाद’ हो ।’ अनावरणका क्रममा डा. विहारीकृष्ण श्रेष्ठले भने, ‘नेपाली समाजमा असमानता र तहगत विभेदको जुन संरचना छ, त्यो विकासको बाधक हो भन्ने जुन डोरबहादुर विष्टको विचार छ, त्यो अहिले पनि सान्दर्भिक छ । अहिले पनि गरिबीको तथ्यांक हेर्यो भने नेवार र बाहुन केवल १० प्रतिशतको हाराहारीमा गरिब छन्, जनजाति २८ प्रतिशत र दलित ४२ प्रतिशत गरिब छन् ।’

आजभन्दा झन्डै ३ दशकअघि ‘फेटालिज्म एन्ड डेभलपमेन्ट,’ सार्वजनिक हुँदा सलमान रुस्दीको ‘सटानिक भर्सेज’ र तसलीमा नसरिनको ‘लज्जा’जत्तिकै चर्चा थियो । तसलिमा र सलमानविरुद्ध इस्लामिक कट्टरपन्थीहरूले ‘फताहा’ नै जारी गरे ‘..समाजलाई नै भड्काउन लागेको भन्दै खतरनाक धम्कीहरू उहाँले खेप्नु पर्यो,’ डोरबहादुरको सन्दर्भमा छोरा केशरबहादुर विष्टको भनाइ छ । सलमान र तसलीमा छँदै छन्, तर दुःखको कुरो डोरबहादुर विष्ट गएको २५ वर्षदेखि बेपत्ता छन्, विनाकसैको ‘फताहा’ !
यो कृतिको अङ्ग्रेजी मूल कपी ३० वर्षसम्म विनाअनुवाद हजारौँ स्वदेशी तथा विदेशी पाठकमाझ चर्चामा छाइरह्यो । अङ्ग्रेजी भाषामा पहुँच नहुनेको लागि जुन अभाव थियो, त्यो अब पूरा भएको छ । परिचयबाहेक आठ भागमा विभक्त पुस्तकमा नेपालमा जात प्रथा, परिवार संरचना र बाल्यकालको सामाजिकीकरण, मूल्य प्रणाली र व्यक्तित्वका तत्वहरू, राजनीति र सरकार, शिक्षा, विदेशी सहायता र विकास, र निष्कर्ष छन् । यहाँ विष्टको मुख्य अवधारणाहरूमाथि चर्चा गर्ने प्रयास गरिएको छ ।

नेपालको अविकासको कारण ‘बाहुनवाद’ हो, पुस्तकको केन्द्रीय विषयवस्तु यही हो । बाहुनवाद के हो ? भन्ने सन्दर्भमा विष्टको तर्क छ, ‘बाहुनवाद शब्द काठमाडौं र कर्णाली ब्याँसीमा मध्ययुगमा आएका ब्राह्मणहरूले सुरु गरेको वर्ण व्यवस्थाको सिद्धान्त र तदजनित सांस्कृतिक ढाँचामा समष्टिगत लक्षणहरू हुन् । …तर यसबाट नेपाली समाजमा आज पाइने समग्र बाहुनहरूलाई इंगित गर्न खोजिएको होइन (पृ.३)।’समयक्रमसँगै यो विचारको फैलावट मुलुकभरि भयोे, जसका कारण नेपालको जनजातीय संस्कृति र सोचमा व्यापक प्रभाव पर्यो । रैथाने जनजाति तथा स्थानीय मूल्य जो सामूहिक प्रचलनका थिए तिनमा अन्तर्निहित सकारात्मक मूल्य प्रणाली समाजको मूलधारबाट बाहिरिँदै छन् । विष्टको बुझाइमा आयातीत संस्कृतिको चपेटामा मौलिक संस्कृतिहरू परेपछि विकास कसको ? भन्ने सवाल नै अलमलमा पर्यो । नेपालको आदिवासी जनजाति समुदाय यहाँको माटोलाई आवाद गर्ने समुदाय भनेर चिनिन्छ, उसलाई माइनस गरेर चाहेको नेपालको ‘विकास’ परिधीय वा सतहीजस्तो मात्र हुन्छ ।

नेपालको विकासको कुरा गर्दा अमेरिकाको केन्टकी विश्वविद्यालयका प्राध्यापक जोन मेट्जको भनाइ उद्धृत गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘दाताहरूले अर्बाैँ डलर किन नदिऊन्, नेपालको विकासको आकांक्षा पूरा हुनेवाला छैन । यहाँको भौगोलिक अवस्थिति एउटा बाधक हो, तर अविकसित रहनुको मुख्य जरो सामाजिक हो ।’ नेपालको सामाजिक धरातलीय यथार्थ विविधतापूर्ण र विशिष्ट प्रकारको छ । तिनलाई न साट्न सकिन्छ, न मास्न । भनेपछि विकास कसको ? बहुसंख्यक आदिवासी जनजाति मुलुकमा उपेक्षित र अपहेलित छन् । ‘मलाई थाहा छ मैले आफ्नै समाजको आलोचनात्मक परीक्षण गर्ने एकदमै दुष्कर मार्ग अपनाएको छु (पृ.८),’ विष्टले नेपालको सामाजिक समस्याको चिरफार अविकासका कारण पहिल्याउन जोखिमपूर्ण कार्य थालेका हुन ।
बाहिरबाट आएका भन्दा, वर्तमान सन्दर्भमा, को बाहिरबाट आएको र को यहाँको भनेर संवेदनशील प्रश्न होला, तर त्यो गिजोल्टिएको समस्या विगतमा खास गरी गुप्तकालमा नेपाल भित्रिएको वैष्णव मतको जुन सानो समूहमा आएका ब्राह्मणहरूले जात प्रथा अवलम्बन गरे, पछि नेपालीले जात प्रथा थाहा पाए (पृ.२०), त्यसको प्रभाव हो । त्यो वेला आएका बाहुनले ल्याएका संस्कृतिको वर्चस्वले अहिले न उनीहरूको न कसैको विकास सम्भव भयो ।

बाहुनहरू सत्ता र शक्तिमा छन्, धनी भए, तर मुलुक अहिले पनि संकटमा छ । सबैको लागि कस्तो विकासको आधारशीला आवश्यक छ ? आज आएर बहस गर्नुपर्ने भयो । आजभन्दा ३० वर्षपहिले, त्यसभन्दा ३० वर्षअघिको अनुभव र अध्ययनका आधारमा ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ समस्याको चिरफारसहित विष्टले प्रकाशनमा ल्याए । त्यसले ‘जात प्रथा,’ ‘भाग्यवाद,’ ‘चाकडी,’ ‘आफ्नो मान्छे’ आज सैयौँ गुणा बढेर गयो । थप आज आएर ‘आफ्नो पार्टी’, ‘गुट’, ‘आफ्नो नेता’ थपिए । राज्य एक प्रकारले ‘क्याप्चर’को अवस्था छ । मुलुक ओरालो लागेको सर्वत्र अनुभव गरिएको छ । यो अनुदित कृतिमाथि समीक्षा गर्दा विगत करिब ६ दशकको विवेचना छर्लङ्ग हुन्छ । एउटा जिउँदोजाग्दो मुलुकका लागि ६ दशक कति हो ? मान्छेको जीवनमा प्राप्तिको संस्कृति भनेको नै कडा परिश्रम हो । परिश्रमबाट लाभ हासिल हुने कुरामा जब विश्वास गरिन्न, र दैवी शक्तिमा भर परिन्छ । आफ्नो मान्छे, पार्टी, शक्ति, खोजिन्छ अनि के हुन्छ परिणाम ? विष्टको तर्क छ, ‘जीवन र परिस्थितिमाथि मानिसको व्यक्तिगत नियन्त्रण बिलकुलै रहँदैन । सबै कुरा दैवी वा कुनै शक्तिशाली बाह्य शक्तिद्वारा नै निर्धारित हुन्छ । भाग्यवादमाथिको यस्तो विश्वासले मिहिनेत गरिखाने संस्कार र केही हासिल गर्ने उत्प्रेरणाको भावनालाई नष्ट पारिदियो (पृ. ४) ।’ वैयक्तिक रूपमा प्राप्तिका लागि मानिसले कडा परिश्रम गरिरहेकै हुन्छ, तर श्रमले त्यो हुने नभई दैवी शक्तिले, डनवादले हुन्छ भन्ने अवस्था सिर्जना भयो ।

परिश्रमले उपलब्धि प्राप्त गर्न ज्ञान, विज्ञान, सीप, र प्रविधिको प्रयोगले सहज हुन्छ । त्यसका लागि शिक्षाको माध्यम मात्र एउटा विकल्प हो । शिक्षाको माध्यमबाट प्राप्त ज्ञान र सीप कार्यक्षेत्रमा प्रयोग गरी कर्मशील भई भौतिक, अभौतिक लाभ प्राप्त गर्ने हो । त्यसैले शिक्षित हुनु ठूलो उपलब्धि मानिन्छ । तर, भाग्यवादी सोचले शिक्षालाई नै साध्यका रूपमा हेर्नु कति अव्यावहारिक कुरा हो ? विष्ट भन्छन्, ‘शिक्षित हुनु भनेको श्रमशक्तिबाट अलग्गिनु हो । यस्तो वातावरणमा सही अर्थमा उत्पादनशील व्यावसायिक श्रमशक्ति कहिल्यै विकसित हुन सक्दैन र पेसागत कार्यहरू तालिमविहीन व्यक्तिहरूले गर्नुपर्ने हुन्छ । (पृ.६)।’ नेपाली विद्यार्थी अध्ययनका लागि विदेश गएर उच्च डिग्री लिएर फर्किने धेरै छन् । र, उनीहरू ती देशका संस्कृतिबाट प्रभावित हुन्छन् । आधुनिक विश्वमा सफल हुनलाई केही मूल्य र मनोविज्ञान सिक्छन् । स्वदेश फर्केपछि उनीहरूमध्ये धेरै जिम्मेवारीपूर्ण पद पाउँछन् । तर, उनीहरूले आफूसाथ ल्याएका नयाँ मूल्यहरू जब भाग्यवादसँग टक्कर लिन पुग्छन्, भाग्यवादी संस्कृतिसित पराजित हुन्छन् । त्यसपछि कोहीचाहिँ पुरानै भाग्यवाद प्रणालीतिरै फर्कन्छन् त कोहीचाहिँ, केही परिवर्तनका लागि गर्नुपर्ने कामको विशद परिमाणबाट हच्किन्छन् र आफू एक्लैले परिवर्तन ल्याउन सकिन्न भनेर निष्क्रियताको बाटो अँगाल्छन् (पृ.१३६)। विष्टको यो विश्लेषणले उच्च शिक्षा र नेपालको हालतलाई चित्रित गर्दछ । राणाकालका प्रयत्नहरू पारिवारिक हितका लागि थिए । तर, सन् १९५० पछि नेपालको ढोका संसारका लागि खुल्यो । नेपाली व्यक्तिगत प्रयासमा वा राज्य र उसका द्विपक्षीय वा बहुपक्षीय मित्रराष्ट्रहरूको प्रायोजनमा विश्वका उच्चस्तरीय विश्वविद्यालयमा शिक्षा लिने मौका पाए ।

नेपाल फर्केका त्यस्ता शिक्षित व्यक्ति र वर्गले के गरे ? बाहुन जातका जो शिक्षित भएर आए तात्विक परिवर्तनका लागि उनीहरूको जातीय दृष्टिको बाधक बन्यो । गैरबाहुन, उदाहरणका लागि जनजाति त्यस्तो शिक्षामा अध्ययन–अध्यापनको अवसर नै बनेन । उनीहरूलाई इतिहासदेखि नै विदेशी सेनामा राज्यले निर्यात गरेकाले केवल अनुशासित बन्नेबाहेक कुनै योगदान दिने स्थानमा पुग्नै सकेनन् । तिनको पछिल्लो पुस्ता विदेशी उच्चशिक्षा लिएर योग्य बनेका छन्, तर उनीहरू र राज्यबीचमा कत्रो दूरी छ, सायदै उनीहरू राज्यको दैनिक कामकाजमा आकर्षित हुन सक्छन् । काठमाडौं उपत्यकामा उद्भव भएको शब्द नेपा(वार) अन्ततः नेपाल भयो । जतिसुकै बहादुरहरूले लडेर जोगाएको देश भने तापनि आजका दिनसम्म नेपाली अरू देशसित दान दातव्य मागेर, थापेर खाइरहेको अवस्था छ । अर्कोतिर विदेशमा आफ्नो रगत, पसिना, श्रम, ज्यान सुम्पिरहेको अवस्था छ । देशका नागरिक सेना भएर सीमा र समाजको सुरक्षार्थ खटेका हुन्छन् ।

विष्टको भनाइ छ– ‘स्वाधीनताप्रेमी लडाकुका रूपमा ख्याति कमाएका नेपालीले आफूमध्येबाट कुनै नेता जन्माउन सकेनन् र भारतबाट भागी आउने राजकुलका व्यक्तिलाई पर्खेर बस्नुपर्यो ।’उनीहरूको भरणपोषण जिम्मेवार सरकारले प्रबन्ध मिलाउँछ । विडम्बना, नेपाल हिजोको सुगौली सन्धिताका स्थापनाकालभन्दा अघिदेखि नै आफ्नो छोरा अरूको मुलुकको खातिर सिपाही आपूर्ति गरिरहेको छ । नेपाल सार्वभौम शक्तिसम्पन्न देश भएर पनि आफ्नो भविष्यको अनिश्चिततामा रुमलिएर भौतारी हिँडेको एउटा परिवार, जसको कोही सदस्य विदेशी सेनामा भर्ती हुन्छन्, श्रम गर्न बिदेसिन्छ, छोरी नाटकीय ढंगले विदेशी वेश्यालयमा बेचिन्छन् । यो राज्य र देशलाई न सरोकार छ, न मतलब छ । पहिलो विश्व युद्धमा नेपाली युवाहरू ५० हजारभन्दा धेरैले बेलायती साम्राज्यका लागि बलिदानी दिए । विश्व साम्राज्यको नायक बेलायतले नेपालसित सन् १९२३ मा दुई स्वतन्त्र मुलुकहरूबीच सम्पन्न द्विपक्षीय मित्रताको सन्धिले यो कुरा दर्साउँछ । किन नेपालको पहिचान प्रस्ट छैन ? निश्चय भाग्यवादी सोच र दृष्टिकोणको ढुलमुले अवस्थाको परिणति हो । नेपाल स्वतन्त्र राष्ट्रको हैसियतमा रहला कि नरहला ! विष्टको भनाइ, ‘स्वाधीनताप्रेमी लडाकुका रूपमा ख्याति कमाएका नेपालीले आफूमध्येबाट कुनै नेता जन्माउन सकेनन् र भारतबाट भागी आउने राज कुलका व्यक्तिलाई पर्खेर बस्नुपर्यो (पृ.३७)।’ उच्च जातका व्यक्ति परिवार, समाज निश्चय नै जन्मले नेपाली भए पनि सांस्कृतिक हिसाबले बढी भारतीय बने । त्यसो भएपछि उनले निर्माण गर्ने राष्ट्रियता र विकासमा पन्यालोपन पाउनु अस्वाभाविक भएन । डोरबहादुर विष्टले राजा ठकुरी वंशका भएकाले ‘भाग्यवादी’ सोच र चिन्तनभन्दा पृथक् स्वाधीन राज्य निर्माताको तत्व खोजेका छन् । उनको तर्क छ, ‘राजा शब्दबाट राज्य बनेको हो । त्यसैले राज्य, सरकार, र राजा एउटै वस्तु हुन् । ती दुवै अविभाज्य छन् (पृ.१०८)।’ मानवशास्त्रका प्राध्यापक विष्टले राज्यको परिभाषा कसरी राजामा सीमित गरे ? उनको तर्क छ, ‘राजालाई आफ्ना छोराछोरीको रक्षा गर्ने पितासरह मान्दछन् (पृ. १०८)।’ ठीक हो कि नेपाली समाजमा पितालाई छोराछोरीले भगवान्सरह मान्ने कुरा । जनजाति समाजमा झनै सबैभन्दा जेठो, पाको व्यक्तिलाई मान्ने चलन नभएको होइन, तर ती त राज्य नभई समुदाय, जाति, जनजाति, थर, गोत्र, वंश हुन् नि ! तिनमा ‘राजा’ हुनु, पिता हुनु स्वाभाविक हो, अभिभावकत्व खोज्नु वा हुनु, अत्यन्त स्वाभाविक हो । तर, राज्य भन्नेबित्तिकै अलि भिन्न नागरिकप्रधान विचारहरू आउँछन् ।

पश्चिमी प्रजातन्त्रमा पछि व्याख्या पुनः व्याख्या गर्दा जातिहरूको बसोवासको अवस्थितिलाई उपराज्य (सब स्टेट)को संज्ञा दिएर संघीयताले व्यवस्था गरेको छ । स्विट्जरल्यान्डको सयौँ वर्षको प्रयत्नमा त्यहाँका क्यान्टोन (प्रान्त), सबक्यान्टोनहरू जर्मन, फ्रेन्च, इटालिएन, रामोस जातिको परम्परागत बसोवासलाई स्विस फेडेरेसन (स्विस महासङ्घ)अन्तर्गत व्यवस्थापन गरिएको छ । अपितु, त्यहाँ राजाहरूले प्रतिनिधित्व नगरी बालिग मताधिकारको माध्यमबाट निर्वाचित जनप्रतिनिधिले नै उपराज्यहरूको नेतृत्व सम्हालेका छन् ।
अर्को कुरा, विष्टले नेपालमा वर्णव्यवस्था हुनुपर्नेजति कट्टर नभएको चर्चा गरेका छन् । के कारणले त ? उनी भन्छन्, ‘कारण, कडाइसाथ लागू गर्नलाई चाहिने संख्यात्मक बाहुल्यता उनीहरूको छैन (पृ.५१)।’ विष्टले पहिचान गरेका समस्याहरू संक्षेपीकरण गर्दा नेपालको मौलिक पहिचान भनेको नेपाल राज्य बन्दा र त्यसपछि विकसित मानवीय चाहना र भावनालाई आत्मसात् गरेर राज्यलाई परिभाषित गर्नुपर्यो ।डोरबहादुरले राज्यको क्रिमी स्थानमा बसेर पञ्चायतको ३० वर्षमा गरेको अनुभव, जुन पञ्चायतको अन्त्यताका ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ पुस्तक लेखेर नेपालको इतिहास, सामाजिक तथा राजनीति परिपाटी, शिक्षामाथि विहंगम विश्लेषणसहित नेपालको अविकासको जुन उजागर गरेका थिए त्यसबाट शिक्षा प्राप्त गरेर अविकासको कारणलाई निरुत्साही तुल्याउँदै अगाडि बढ्नुको साटो पछाडि जाने काम भइरहेको छ । जुन कुरा अर्का मानवशास्त्री प्रयागराज शर्माका अनुसार ‘भेदभावमा परेका वर्ग र पश्चिमी विद्वतजनले बाहुनहरू ‘उत्पीडक’ हुन् र भाग्यवादी विचारका प्रवर्तक हुन्’ भनेर बारम्बार देखाइनुले उनीहरू साम्प्रदायिक बन्ने छाँट देखिन्छ । अब प्रश्न केमा टुङ्गियो भने बाहुन साम्प्रदायिक बनेर उसको, मुलुकको र सर्वत्र जाति, जनजातिको भलो हुन्छ कि हुन्न ? यो विषयमा बहस जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डोरबहादुर बिष्टको “भाग्यबाद र विकाश”..." A few seconds ago

सम्बन्धित खवर