"राजनितीमा युवा" – Satabdi News

“राजनितीमा युवा”

रोशन अधिकारी,
   सुन्दरहरैचा

युवा अवस्था जोस,जाँगर र उर्जाले ओतप्रोत अवस्था हो। नेपालको कुल जनसंख्यामा एक तिहाई भन्दा बढी युवा वर्गको जमात रहेको छ। युवाको संख्या नेपालमा हालको समयमा यति छ कि एकजना बृद्ध बराबर पाँच जना युवा रहेका छन भन्ने तथ्य एक सर्वेक्षणले केही वर्ष अघि देखाएको थियो। यो अवस्था  नेपालमा ३० वर्ष सम्म रहने छ, अर्थात नेपाललाई उर्जावान जनशक्ती अबको ३० वर्ष सम्म प्राप्त हुनेछ भने तत् पश्चात् यो वर्ग बृद्धवस्थामा प्रवेश गर्नेछ र ठिक उल्टो पाँच बृद्ध बराबर एक युवा हुने सम्भावना त्यस सर्वेक्षण ले आँकलन गरेको थियो। मैले यहाँ यस तथ्यलाई व्याख्या गर्नुको मुख्य कारण भनेको; नेपालको विकास र समृद्धि को युग(मुलतः मुलुक संघीयतामा प्रवेश गरेसङै) र त्यसलाई परिपुर्ति गर्न आवश्यक मानव संसाधनको यस्तो सु-अवशर मुलुकले प्राप्त गर्नु संयोग को कुरा हो। युवा बर्ग को बृहत् सहभागिता बाटै हरेक मुलुक बिकसित र समृद्ध बनेका छन् । युवा बर्ग लाई पन्छाएर कुनै पनि मुलुकले विकास र समृद्धि को सपना देख्नु त्यो अकल्पनीय एवं असम्भव हुनेछ ।
दैनिक औषत पन्ध्रसय युवा बाध्यताले रोजगारीको शिलशिलामा अन्तरास्ट्रिय बिमानस्थलमा लामबद्ध हुनुले उर्जावान जनशक्तिको नेपालको बिकासमा शून्य सहभागीता रहेको तितो यथार्थलाई नकार्न सकिन्न। कुनै पनि मुलुक चरम बिकासको उत्कर्षमा पुग्नु त्यस देसलाई प्राप्त श्रम,साधन,पूँजी र प्रविधीबिच उचित अन्तरघुलन र व्यवस्थापन गर्नु हो, जस्को मुख्य जिम्मेवार राज्य वा सरकार रहेको हुन्छ। राज्य वा सरकारले हाल जनशक्तिको उपलब्धता र मुलुकको कार्यभार बिच उचित तालमेल गराउन असक्षम रहेको कुरा प्रष्ट देखिन्छ।
आज नत राज्यको नेतृत्व तहमा युवाको उपस्थिति बाक्लो छ नत स्वदेशी भुमिमै युवाको शसक्त परिचालन। नेपालको भद्दा र जर्जर राजनितीले समयसापेक्ष प्रभावकारी उपलब्धी हासिल गर्न नसक्नु दुखद पक्ष हो। भनिन्छ “अचानो को पीर खुकुरी ले जान्दैन” ठिक त्यस्तै उच्च तहका नेतृत्वमा पचास नाघेका ब्याक्तिको वर्चस्व कायम छ जसले युवाको वास्तविक आवश्यकता र अन्योल भविस्य प्रती गैर जिम्मेवारपन देखाएको पाईन्छ। भ्रष्ट,भद्दा र थकित राजनितिक संगठन बाट चलिरहेको देस मा सेवामुखी राजनितिक संस्कार बिकास गरि मुलुकको समृद्धिकरण का निम्ति युवाहरु नेतृत्व प्रतिस्थापनको रुपमा प्रस्तुत हुन पर्ने बेला आएको छ।
नेपालि जनमानसमा राजनिती भन्ने बितिकै “फोहोरी खेल” प्रतिबिम्बित हुन पुग्दछ, बिद्यमान नेपालको राजनितीक संस्कार र राज्यको बागडोर सम्हाल्ने प्रत्येक शासकको ब्यवहारिक पक्ष र तिनले दिने बिकासको न्यून प्रतिफल नै राजनिति प्रतिको गलत दृस्ठिकोण वा बुझाई को मुख्य कारक हो। ब्यवस्था परिवर्तन को खातिर जन्म भएका तर सत्ता र शक्तिको रापले नैतिकताको घेराबाहिर स्खलित राजनितिक दलले वास्तविक,प्रभावकारी एवं अपेक्षित बिकास गर्न नसक्दा आज मुलुक भ्रस्टता को दुस्चक्रमा फसेको छ।
नेपाली राजनिती फोहोरी भ्रस्ट र जर्जर भैरहदा युवाको भुमिका वा जिम्मेवारी कुन अवस्थामा छ त? के हामी फोहोर मन पराउदैनौ भने त्यसलाई सफा गर्ने हिम्मत किन गर्दैनौं ? डिलमा बसेर रमिता हेरेर सफा चाहिन्छ भनेर आसावादी बन्नु मात्र युवाको भुमिका होत ? अवश्य हैन, सफा गर्न त हामिले त्यहा पस्न पर्छ र फोहोर वस्तुलाई मिल्काउने हिम्मत गर्नै पर्दछ। त्यसका निम्ति बैचारिक,आर्थिक/सामाजिक पक्षको गहिरो चिन्तन,मनन,खोज एवं अध्ययन गरि युवाले राजनितिक परिपक्कतामा निखारता ल्याउन पर्दछ। भलै राजनितिक संगठनले केन्द्र,प्रदेश र स्थानिय तहमा ४० वर्ष कम उमेरका युवा बर्गको स्थान सुरक्षित गर्न पर्ने थियो त्यो हुन सकेन । युवा अवस्था विद्यार्थी राजनिती मै ब्यतित गर्नुपर्ने, मुस्किलले केन्द्रिय तहमा पुगेका युवाले पनि अपरिपक्कताको चर्को आलोचना खेप्नुपर्ने अवस्था छ। एवम् रितले नेतृत्व तहमा थकित जीवन गुजारिरहेका ब्याक्तिहरुकै वर्चस्व कायम रहेको पाईन्छ। अब युवा वर्गले संगठन निर्माण,राजनितिक-बैचारिक सक्षमता लाई तिखार्दै थकित ब्याक्तिहरु लाई प्रतिस्पर्धात्मक चुनौती दिन हिम्मत गर्नै पर्दछ।
नेपालको युगान्तकारी लोकतान्त्रिक एवं प्रजातान्त्रिक संघर्षका पात्रहरुलाई सरसर्ती हेर्ने हो भने १९९० को दशकमा प्रजा परिषद स्थापना गरि राणाशासनको बिरुद्ध र लोकतन्त्रको पक्षमा वकालत गर्ने सहिद गंगालाल श्रेष्ठ हुन या प्रजान्तन्त्रको स्थापना गर्ने बिपि कोईराला दुबै ब्याक्तीले आफ्नो उर्जाशिल समय र चेतनाको माध्यमद्वारा युवावस्था मै समाजलाई सामन्तबाद बाट उन्मुक्त गर्न अग्रणी नेतृत्व सम्हाले कै हुन । आज मुलुकले लोकतान्त्रिक ब्यवस्था प्राप्त गरे सङ्गै, बिकास र समृद्धि को युगलाई नेतृत्व गर्ने समयमा राजनिती युवाबिहिन हुनु शुभ-संकेत हैन।
आज विश्व, २१औं शताब्दिमा प्रवेश गरे सँगै ज्ञान,बिज्ञान एवं डिजिटल प्रविधिको तिव्र बिकासले विश्वमा नै अर्थ-राजनिती लाई पनि थप चुनौती दिएको छ। नवीन खोज,अध्ययन अनुसन्धान एवं प्रयोगले विश्वकै पुराना राज्य ब्यवस्था,उदारवाद,नव-उदारवाद,साम्यवाद जस्ता राजनितिक चिन्तन एवं दर्शनलाई समेत प्रभाव पारेको छ। जसको फलस्वरूप निजित्वको पैरवी गर्ने नव-उदारवाद र राज्यबाट नियन्त्रण रहने साम्यवादी राजनितिक धारहरु बैचारिक संकटमा फसेका छन र सिङ्गो विश्व नै पछिल्लो ज्ञान बिज्ञान र प्रविधिको जगमा नवीन राजनितिक बिचारधाराको खोजमा लागेको छ। हामी युवा वर्गले विश्व राजनितिक उपचलनको प्रभावबाट सजग एवं परिस्कृत हुँदै नेपाललाई अनुकुल सहि र नवीन राजनितीक बिचारधाराको पहिचान र छनौट गर्न उद्द्त हुनै पर्दछ यद्यपि विश्वमै असफल सिद्ध हुँदै गएका पुराना बिचारधाराको प्रयोग नेपालका पुराना राजनितिक ब्रान्डले गर्नेछन अत: नेपालले  बदलिदो बिश्वसङ सन्तुलन कायम गर्न सक्दैन। त्यसैले परिस्कृत बिचारसहितको उर्जावान,विद्वान र क्षमतावान युवाहरु नेतृत्व तहमा आउनु अपरिहार्य बनेको छ।
जर्जर अवस्थामा रहेको नेपालको सामाजिक,साँस्कृतिक,आर्थिक बिकासको गतिलाई तिव्र बिकास र समृद्धिकरण गर्न मुलुकलाई युवाको खाचो छ। शारीरिक उर्जा र निहित चेतना मार्फत समाजलाई सहि मार्गमा निर्देशित गर्ने कम्पासको रुपमा जिम्मेवारीबोध गरि युवा राजनितीमा आउन पर्दछ। साधन,पुँजी र प्रविधिलाई शसक्त चलायमान बनाई कुल उत्पादनमा ब्यापक वृद्धि,पुजि निर्माण,तिब्र आर्थिक वृद्धिदर हासिल उर्जाशिल मानव संसाधन बाटै सम्भव रहन्छ। नेपालले संयोगले प्राप्त गरेको यो स्वर्णिम कालखण्डको सहि सदुपयोगका निम्ति, नीति निर्माण देखि बिकास निर्माण सम्मका सबै तहमा युवाको व्यापक सहभागिता अपरिहार्य छ। पछिल्लो समय युवाबिहिन राजनिती र बिदेश पलायन युवाबाट रित्तिएको मुलुकको आर्थिक-सामाजिक समृद्धिकरणका निम्ति राजनितिमा नेतृत्व सहितको युवाको सहभागिता अति नै आवश्यक छ। जहाँ समृद्ध नेपालको प्रतीक्षा आम नेपालिले गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर